मैदानमा अचेत हुनुभएका छिरिङको अवस्था सामान्य

मच्छिन्द्रद्वारा संकटा पराजित, एनआरटीको पहिलो जित

हिमालय टाइम्स
Read Time = 5 mins

काठमाडौं । दशरथ रंगशालामा आइतबार साबिक विजेता मच्छिन्द्र क्लब र संकटा क्लबबीचको खेल भइरहेको थियो । निर्धारित समयको खेल सकिएर थपिएको समयमा पुग्दा मच्छिन्द्रका खेलाडीहरू छिरिङ गुरुङ र पुजन उपरकोटी एक आपसमा ठोक्किन पुग्नुभयो । बललाई हेडिङ गर्दै अघि बढ्नुभएका छिरिङ दौडिँदा अगाडि रहनुभएका पुजनको छातीमा ठोक्किन पुग्नुभएको थियो । उक्त ठोक्काइबाट मैदानमा बज्रँदा उहाँको टाउकोको पछाडि चोट लागेको थियो । जसकारण उहाँ मैदानमै अचेत हुनुभयो ।

लडेलगत्तै नजिकै रहेका संकटा क्लबका प्रशिक्षक सल्यान खड्गीले छिरिङको मुख खोलेर श्वासप्रश्वास रोकिन नदिन प्रयास गर्नुभयो । लगत्तै दगुरेर टिम फिजियो सुरज भुसालसहित एन्फाको मेडिकल टोलीले उहाँको नजिक पुग्दा रंगशालामा सन्नाटा छाएको थियो । तुरुन्तै मेडिकल टिमले छिरिङलाई होसमा ल्याउन सिपिआर (कार्डियो पल्मोनरी रिससिटेसन) दियो ।

सिपिआरले काम गर्‍यो । अचेत भएको झण्डै १ मिनेट अचेतपछि छिरिङ होसमा आउनुभयो । लगत्तै उहाँलाई एम्बुलेन्समा राखेर रंगशाला नजिकै रहेको ब्लु क्रस अस्पताल पुर्‍याइएको थियो । उहाँलाई होस आएपछि दर्शकले ताली बजाउँदै हौसला बढाएका थिए । अस्पताल पुगेपछि चिकित्सकले गरेको प्रारम्भिक परीक्षणमा उहाँको अवस्था सामान्य देखिएको छ । क्लबका व्यवस्थापक अनिल श्रेष्ठले अस्पतालमै राखेर छिरिङको थप परीक्षण हुने तर अवस्था सामान्य रहेको जानकारी दिनुभयो ।

उक्त खेलमा मच्छिन्द्रले संकटालाई दुई-एक गोलअन्तरले पराजित गरेको थियो । यो लिगमा मच्छिन्द्रको दोस्रो जित हो । किशोर केसीलाई प्रशिक्षक नियुक्त गरेकै दिन मच्छिन्द्रको जितमा फरवार्ड विमल घर्तीमगर र ओलावाले आफिजले गोल गर्नुभयो । संकटाका लागि मनिष डाँगीले बराबरी गोल फर्काउनुभएको थियो ।

खेलको १९औँ मिनेटमा विमलले मच्छिन्द्रलाई अग्रता दिलाउनुभयो । मिडफिल्डबाट आएको बललाई अघि बढाउँदै उहाँले गोलरक्षकलाई बिट गरेर गोल गर्नुभएको थियो । मच्छिन्द्रको खुसी धेरै बेर टिकेन । संकटाले त्यसको दुई मिनेटमा नै बराबरी गोल फर्कायो । मनिष डाँगीले पेनाल्टी क्षेत्रबाहिरबाट गरेको प्रहार गोलमा परिणत भएको थियो ।

दोस्रो हाफको एक मिनेट नबित्दै मच्छिन्द्रले पुनः अग्रता बनायो । निसेन सुब्बाले दिएको लो क्रसलाई आफिजले पोष्टको दिशा दिनुभएको थियो । उहाँको पहिलो प्रहारलाई विपक्षी गोलरक्षकले पञ्च गरे पनि रिबाउण्डमा भने आफिज गोल गर्न सफल हुनुभयो । उक्त गोल नै खेलको निर्णायक बन्यो ।

यस जितसँगै मच्छिन्द्र सात खेलमा नौ अंकसाथ सातौँ स्थानमा उक्लिएको छ । संकटाको समान नौ अंक भए पनि आठौँ स्थानमा छ । यस्तै, ए डिभिजन लिगको अर्को खेलमा न्युरोड टिम एनआरटीले पहिलो जित निकाल्ने क्रममा हिमालयन शेर्पालाई दुई-एक गोल अन्तरले हरायो ।

खेलको १४औँ मिनेटमा खमिर गिल्सनले गोल गर्दै शेर्पालाई सुरुवाती अग्रता दिलाउनुभएको थियो । त्यसपछि एनआरटीले खेलमा पुनरागमन गर्‍यो । खेलको ६७औँ मिनेटमा रोहन खड्कीले गोल गर्दै एनआरटीलाई १–१ गोलको बराबरीमा ल्याउनुभयो । त्यसपछि खेलको ८९औँ मिनेटमा जेनिस प्रजापतीले गोल गर्दै एनआरटीलाई दुई-एक को जित दिलाउनुभयो । जितसँगै एनआरटीले सात खेलमा ६ अंक जोडेको छ । हिमालयनले सात खेलमा सात अंक जोडेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?