भारतमा मात्र बाघको संख्या तीन हजारभन्दा बढी

Read Time = 4 mins

नयाँदिल्ली । भारतमा बाघको संख्या तीन हजारभन्दा बढी पुगेको अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ (आइयुसीएन)ले जनाएको छ । बाघको संख्या बढ्नुलाई भारतले लोपोन्मुख प्रजातिको संरक्षणको प्रयासमा सरकार सफल भएको बताएको छ ।

बिरालो प्रजातिहरूमध्ये सबैभन्दा ठूलो बाघका लागि कुनै समय मध्य, पूर्वी र दक्षिणी एसिया महत्वपूर्ण क्षेत्र मानिन्थ्यो । आइयुसीएनका अनुसार विगत १०० वर्षमा बाघले आफ्नो ऐतिहासिक दायराको ९३ प्रतिशतभन्दा बढी हिस्सा गुमाइसकेको छ र अहिले १३ देशमा सिमित संख्यामा छरिएरमात्र बाघको अस्तित्व जोगिएको छ ।

भारतीय गणनानुसार देशभर तीन हजार १६७ वटा बाघ रहेका छन् भने यस पहिलेको गणनामा यो संख्या दुई हजार ९६७ थियो । विश्वभर प्रत्येक चार वर्षमा क्यामेरा ट्रयाप र कम्प्युटरको प्रयोग गरेर प्रत्येक प्राणीको पहिचान गर्न सर्वेक्षण गरिन्छ । अघिल्लो चार वर्षमा ३० प्रतिशत भन्दा बढी वृद्धिदर रहेकोमा यो अवधिमा यो दर घटेर सात प्रतिशत भन्दा कममा झरेको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नयाँ संख्यालाई ‘गर्वको क्षण’ भन्नुभएको छ ।

‘हाम्रो परिवार विस्तार भइरहेको छ’, उहाँले दक्षिणी शहर मैसूरुमा आयोजित एक समारोहमा भन्नुभयो । ‘यो भारतका लागि मात्र नभई विश्वकै लागि गर्वको विषय हो ।’ वन फँडानी, अवैध शिकार र बासस्थानमाथिको मानव अतिक्रमणका कारण एसियाभरि बाघको संख्या नष्ट भएको छ तर मोदीले भन्नुभयो, ‘जनताको सहभागिता र देशको संरक्षणको संस्कृति का कारण भारतले बाघको संख्या बढाउन भारत सफल भएको छ ।’ अहिले विश्वमा बाघको संख्याको ७५ प्रतिशत हिस्सा भारतमै रहेको र ‘विश्वकै सबैभन्दा ठूलो बाघ रेन्ज भएको देश’ रहेको उहाँले बताउनुभयो ।

सन् १९०० मा एक लाखभन्दा बढी बाघहरू यस ग्रहमा घुमिरहेको अनुमान गरिएको थियो । तर सन् २०१० मा यो संख्या तीन हजार दुई सयमा झरेको थियो । सन् २०१० मा भारत र बाघको संख्या भएका अन्य १२ देशले सन् २०२२ सम्ममा पाटे बाघको संख्या दोब्बर बनाउने सम्झौतामा हस्ताक्षर गरेका थिए । सन् १९४७ मा बेलायतबाट स्वतन्त्र हुँदा भारतमा बाघको संख्या करिब ४० हजार रहेको अनुमान गरिएको छ । त्यसपछिका दशकहरूमा यो संख्या घटेर सन् २००२ मा तीन हजार सात सय पुगेको थियो । चार वर्षपछि यो संख्या एक हजार ४११ मा झरेको थियो ।

विश्व वन्यजन्तु कोष-भारत (डब्ल्यूडब्ल्यूएफ-इण्डिया) तथा वासस्थान कार्यक्रमका निर्देशक दीपांकर घोषले एएफपीसँग भन्नुभयो, ‘एकातर्फ बाघको संख्यामा पछिल्लो वृद्धि उत्साहजनक छ । अर्कोतर्फ यसले हामीलाई यो पनि बताउँछ कि अब हामी प्रत्येकले क्षयभएको बासस्थानको पुनस्र्थापना गर्न, करिडोरमार्फत बाघको सुरक्षित आवागमन सुनिश्चित गर्न र सहअस्तित्वलाई बढावा दिन अझ कडा परिश्रम गर्न आवश्यक छ ।’ रासस/एएफपी ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?