‘चलचित्र निर्माण गर्दा राज्य नै विरोधमा उत्रियो’

Read Time = 7 mins

चलचित्र निर्माता संघका अध्यक्ष नवल खड्काले देशभक्त चलचित्र निर्माण गर्दा राज्य नै विरोधमा उत्रिएको आरोप लगाउनुभएको छ । मंगलबार काठमाडौंमा चलचित्र काँडेतारबारे अन्तक्र्रिया कार्यक्रममा बोल्दै उहाँले चलचित्र काँडेतार प्रदर्शन गर्न नदिन स्वयं राज्यसत्ता नै लागेको जिकिर गर्नुभएको हो ।

उहाँले सेन्सर बोर्डले केही संवाद र दृश्य काट्न निर्देशन दिएको भन्दै कुनै संवाद र दृश्य नकाटी प्रदर्शन गर्न पाउनुपर्ने माग आफ्नो रहेको बताउनुभयो । उहाँले देशभक्त चलचित्रलाई राज्यसत्ता नै लागेर खेदेको बताउनुभयो । उहाँले देशभक्त चलचित्र प्रदर्शन गर्न नदिने र चलचित्रमा त्यस्ता अपाच्य दृश्य भए जेल सजानय भोग्न आफू तयार रहेको सुनाउनुभयो । अध्यक्ष खड्काले देशभक्त चलचित्रबारे बोल्न ठूला र नयाँ पार्टीका नेताहरू नै हिच्किचाएको गुनासो गर्नुभयो ।

‘मैले देशभक्तिको विषयमा बनाएको ‘काँडेतार’ पैसा दिन्छुभन्दा पनि स्टारले खेल्न मानेनन्’, उहाँले भन्नुभयो ‘विदेशमा भए देश भक्तिपूर्ण फिल्म स्टारले सित्तैमा खेल्थे ।’ फिल्म निर्माणको समय कलाकार पाउन गाह्रो भएको गुनासो गर्नुभएका नवलले स्क्रिप्टमा नेपाल प्रहरीलेसमेत दुःख दिएको बताउनुभयो ।

कार्यक्रममा पूर्वउपप्रधान तथा गृहमन्त्री डा.भीम रावलले चलचित्र ‘काँडेतार’ले उठाएको विषयवस्तु देशको हितका खातिर भएकाले चलचित्र प्रदर्शनमा रोक्न लगाउन नहुने बताउनुभयो । देशभक्तिपूर्ण कला, साहित्य तथा चलचित्र जे भए पनि राज्यले सबैका अगाडि राख्ने अवसर दिनुपर्ने उहाँको धारणा थियो ।

‘काँडेतारका नायक तथा निर्माता नवल खड्काको एउटा भनाइले प्रत्येक देशभक्त नेपालीको आँखाबाट आँसु बग्छ । नवलजीले भन्नु भयो, मैले देशका लागि चलचित्र बनाएको हो । यदि चलचित्र देशको हितमा छैन भने मलाई भन र मारिदेऊ’, रावलले भन्नुभयो, ‘देशको सीमा सुरक्षाका लागि चलचित्र भनेको सांकेतिक कुरोमात्र हो । चलचित्रले सिमाना रक्षा गर्ने होइन ।’
रावलले अहिलेको समयमा कुनै पनि देशमा दुई शक्ति हुन्छ, एउटा शक्ति सेना, प्रहरी, बन्दुकलगायत र अर्को नरम शक्ति साहित्य, कला, गीत, चलचित्र हुने बताउनुभयो । उहाँले नरम शक्तिले देश चिनाउनेसमेत धारणा राख्नुभयो । ‘देशको पानी खाएका कलाकर्मीले देशको सीमा सुरक्षा हुनपर्छ भनेर आवाज उठाउन निर्माण गरेको चलचित्र रोकिनु भनेको नरम शक्ति समाप्त पारेर विदेशीको चाकडी गर्नु हो’, रावलले थप्नुभयो ।

चलचित्रले सिमामा काँडेतार लगाउनुपर्छ भन्ने जिम्मेवार निकायलाई आँखा देखाएको रावलको भनाइ थियो । ‘विदेशमा बन्ने देशभक्ति पूर्ण चलचित्रको राज्यले संरक्षण गर्छ । नेपालमा यी यसरी रोकिन्छ’, रावलले अगाडि थप्नुभयो ‘फिल्म काँडेतारविना काँटछाँट प्रदर्शन हुनुपर्छ ।’

त्यस्तै राप्रपाका सांसद ज्ञानेन्द्र शाहीले चलचित्र ‘काँडेतार’ रिलिजका लागि राज्यले वातावरण बनाउनुपर्ने बताउनुभयो । ‘हरेक नागरिकले आफूले निर्माण गरेको चलचित्र प्रदर्शन गर्न पाउनु उसको पूर्ण अधिकार हो । देशमा सूचनाको हक छ’, शाहीले भन्नुभयो, ‘चलचित्र गीत संगीतमा रोक लाग्नु भनेको विकासमा रोक लाग्नु हो ।’

शाहीले राष्ट्रियता र राष्ट्रलाई बलियो बनाउन चलचित्रको महत्वपूर्ण भूमिका हुने धारणा राख्नुभयो । ‘फिल्ममा नेताहरूलाई ब्यंग्य गरिएको छ रे । त्यसकारण काँडेतार रोकियो भन्दा आश्चर्य लाग्यो । किनभने प्रजातन्त्रमा आलोचना भएन भने त्यो प्रजातन्त्र होइन’, शाहीले अगाडि भन्नुभयो ‘देशको भलो चिताइएको फिल्म काँडेतार जसरी पनि चल्न पाउनुपर्छ ।’

सामाजिक अभियन्ता प्राडा. सुरेन्द्र केसीले पनि चलचित्र काँडेतार सार्वजनिक प्रदर्शनमा आउन पाउनुपर्नेमा जोड दिनुभयो । सामना फिल्मस् प्रालिको निर्माण रहेको यो चलचित्रले खुला सीमाका कारण सीमाक्षेत्रमा भइरहेका अपराध, नागरिकमाथिको अत्याचारविरुद्ध नेपाली जनताको प्रतिरोधलगायतको विषय कथावस्तुका रूपमा उठाएको छ । माकिको राई र अञ्जु केसी निर्माता रहेको चलचित्रको कार्यकारी निर्माता गायिका सत्यकला राई हुनुहुन्छ । चलचित्रको सहनिर्मातामा रोमियन लिम्बू, विमला कट्टेल, डा.अमित विश्वास, राजेन्द्र भगत, पन्नालाल सिक्दार, दिनेशकुमार राय, नादिया खड्का र सनया खड्का रहनुभएको छ ।

चलचित्रमा नवल खडका, गौरव पहारी, सुरविना कार्की, रेबिका गुरुङ, प्रशान्त यादव, मुरलिधर, प्रेम सुब्बा, सञ्जय खतिवडा, पुष्प श्रेष्ठ, रोमियन लिम्बू, केशव रायामाझी, राजेन्द्र भगत, पर्शुराम चौधरी, पन्नालाल सिक्दार, महेश गिरी, खेम नेपाली, राम विश्वास र बालकलाकार नादिया खड्का र सनया खड्कालगायतको अभिनय छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?