कविता : नाङ्गो देशका भोका जनता

हिमालय टाइम्स
Read Time = 5 mins

✍️ अच्युतराज दाहाल

निदाएको झैँ अभिनय
ब्युझाउन गाह्रो छ
देश ठप्प छ
केबल समय अघि-अघि
कहिले यो
धर्तीलाई गहिरो निद्राबाट ब्युँझाएर
ब्युँझन्छ माटाको चुलो
अदृश्य खुड्किलाबाट ओर्लँदै आउँछ
बहुआयामिक भोक
धेरै अनुहार देखाउँदै
राणा शासनअघि प्रजातन्त्रको भोक
पञ्चायत बहुदलीय व्यवस्थाको भोक
१२ वर्षे युद्धअघि
संविधानसभा र गणतन्त्रको भोक
संवैधानिक गणतन्त्रपछि
आर्थिक समृद्धिको भोक जाग्नुपर्ने
तर झनै अचेल
गाँस, बास र कपासको भोक झांगियो
भोक बस्ने आपट्टे जङ्गल बन्यो
हजारौं-लाखौं कोमल र खस्रा हातहरूले
फरुवा चलाए
पसिना चुहाए
बाली उमारे
अनि
एक गाँस जाउलाका लागि
भोकभोकै सुते
गणतन्त्रको कथा सुन्दै
मिल र कारखानाहरू उभिए
अनगिन्ती,
बादल फाट्यो आकाशबाट,
जसले कपडा बनायो
भोलिदेखि
उही नांगो रहृयो
मुर्दा ढाक्ने कात्राको लागि हाहाकार भयो
हो त !
रूखका बोक्रा र जनावरका छालाले
लाज ढाक्ने मानिस
विकासको चरम चुलीमा पुग्यो
आविष्कार गर्‍यो अत्याधुनिक कपडा
अनि सभ्यताको उत्कृष्टता देखाउँदै
फेरि कपडा फ्याँक्यो
फेरि नाङ्गियो
एकातिर संस्कृतिको भोक जन्मायो
अर्कातिर नारीलाई विज्ञापनको नाङ्गो दुनियाँमा
ठेलिदियो नयाँ भोकले
अब लाजले लज्जित भएर
कहाँ नाक लुकाओस् !
घरै घर बनिए
घरमाथि घर
धेरै पहाड ढले, नाङ्गिए
तर,
भोक घटेन
झन् तीव्र हुँदै गयो
आकाश छोयो मानसिक भोकले
हुनेखाने सीप सिकेका
जापान, कोरिया, युरोप अमेरिका छिरे
बलियाबाङ्गा युवा जति
खाडी पसे,
खाडी जाने त संस्कार नै बन्न थाल्यो
तर अझै भोकभोकै छ पेट ...
युगदेखि टाढा थियौँ हामी
अघि बढ्यौँ
बढिरहृयौँ
अघि बढ्ने भोकले हामीलाई
उभ्याइदियो वैश्वीकरणको त्यो पहाडमा
जहाँबाट भोकका
रासै रास देखिन्छन् ।
धर्मको भोक जाग्यो
कट्टरता जन्मायो
बालीनालीका ठाउँमा
बम र बन्दुकहरू फलाउन थाल्यो
कुल देउतालाई साक्षी राखेर
अरूलाई झटारो हान्यो
काँचको घरभित्रबाट
आतंकवादको वर्षा सुरु भयो
हेरिएन
को दोषी
को निर्दोष ?
आयो आधुनिकताको भोक
सबै हद नाघेर
संवेदनशीलताको अन्त्य नै गरिदियो
मनोरञ्जनको
सूचनाको
ग्लेमरको
फेसनको
मोबाइलको
तकनिकको
हर वस्तुको भोक-
निजी भोक,
सामाजिक भोक,
क्षेत्रीय भोक,
जातीय भोक,
वैश्विक भोक ।
हो त, हामी वैश्विक भयौं
नेपालमा नुहाएर
अमेरिकामा केश सुकाउने
वैश्वीकरणको यो भोकले
मान्छेको विचारलाई विस्तारै निल्न थाल्यो
संवेदनशीलताको अन्त्यले
यो भोकलाई झन् बढायो
आज हामी यति धेरै भोकाएका छौं कि
यो नेपाली कथनलाई पनि बिर्सिन लागेछौं :
‘बाँच्नका लागि खाने, खानका लागि बाँच्ने’
यो भोक समय समयमा आइरहन्छ
आफूलाई तृप्त पार्नका लागि
कतिको बालापन, इज्जत र स्वाभिमान छिन्छ
अशुद्ध राजनीतिको भोकले भाइ भाइ लडाउँछ
आफ्नालाई शत्रु देख्छ
मित्रलाई अपमान गर्छ
भोक चाहे जेको पनि नहोस् किन
मृत्युुभन्दा पहिले शान्त हुँदैन
चल्मलाइ रहन्छ
हाम्रा अघि ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?