निर्वाचन जित्ने गरी तयारीमा लाग्नुपर्छः महामन्त्री शर्मा

हिमालय टाइम्स
Read Time = 2 mins

दमौली । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आगामी वैशाख १० गते हुने उपनिर्वाचनमा जित्ने गरी तयारीमा लाग्नुपर्ने बताउनुभएको छ । नेपाली कांग्रेस तनहुँ पार्टी कार्यालयमा आज आयोजित छलफलमा महामन्त्री शर्माले तनहुँ क्षेत्र नं १ मा पार्टीका तर्फबाट उम्मेदवार रहनुभएका केन्द्रीय सदस्य गोविन्द भट्टराईलाई विजयी गराउने हिसाबले लाग्न सम्पूर्ण कार्यकर्ता एकढिक्का भएर लाग्न आग्रह गर्नुभयो ।

पार्टीमा हुनसक्ने असन्तुष्टिलाई थाती राखेर एकढिक्का भएर लागे विजय सम्भव रहेको महामन्त्री शर्माको भनाइ थियो । महामन्त्री शर्माले आर्थिक विषयमा समेत ज्ञान भएको नेतृत्व संसद्लाई आवश्यक रहेको भन्दै भट्टराईको जित अनिवार्य भएको दाबी गर्नुभयो ।

पार्टीका केन्द्रीय सदस्य शङ्कर भण्डारीले वामलोकतान्त्रिक गठबन्धनका उम्मेदवारलाई विजयी गराउन गठबन्धनका दल एकजुट रहेको बताउनुभयो । उम्मेदवार भट्टराईको राजनीतिमा धेरै लामो योगदान, त्याग भएको तर अवसर नपाएको नेता भएकाले उपनिर्वाचनमा विजय गराएर न्याय गर्नुपर्ने भण्डारीले बताउनुभयो ।

सो अवसरमा केन्द्रीय सदस्य ध्रुव वाग्ले, पार्टी सभापति जीतप्रकाश आले, पूर्वजिल्ला सभापति रघुनाथ पौडेललगायतले गत निर्वाचनमा तनहुँ क्षेत्र नं १ मा कांग्रेसले विजय हासिल गरेकाले उक्त विजयलाई कायम राख्नुपर्नेमा जोड दिनुभयो । रासस

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?