बेलढुंगा चढ्ने पर्यटक बढे : हाइकिङका लागि उत्कृष्ट गन्तव्य

ध्रुवसागर शर्मा म्याग्दी, संवाददाता
Read Time = 10 mins

म्याग्दी । चारैतिर घना जंगल । जंगलको विचभागमा चेप्टो बेल आकृतिको विशाल चट्टान । चट्टानको शिरसम्म पुग्नका लागि ढुङ्गा विछ्याइएको २ सय ६० मिटर लामो पदमार्ग । उत्तरतर्फ चाँदी झै टल्कने सेता हिमाल । चैत–वैशाखमा राताम्यै फुलेका लालीगुराँस । नागबेली परेको म्याग्दी नदी । जंगलको एकान्तमा चिटिक्क परेको स्वर्गाश्रम । धवलागिरि क्षेत्रका दर्जर्नौ ग्रामीण वस्ती । बेलढुंगाको शिरमा चढेपछि आँखै अगाडी देखिने दृश्य हो यो ।

म्याग्दीको बेनी नगरपालिका ३ भकिम्ली र बागलुङको काँठेखोला गाउँपालिका ३ ओखलेको शिरमा छ बेलढुंगा । समुद्री सतहदेखि दुई हजार ६सय १४ मिटर उचाइमा रहेको बेलढुंगामा वसन्त ऋतुको सुरुवातसँगै आन्तरिक पर्यटकहरुको भीड लागेको छ ।

गत वर्ष करिव ७ हजार जना आन्तरिक पर्यटक बेलढुंगामा पुगेकोमा यस वर्षको चैत २६ गतेसम्म १२ हजार वढी आन्तरिक पर्यटकहरु आएका स्थानीय गणेश श्रीषले बताउनुभयो ।

बेलढुंगामा कति पर्यटक आए भन्ने तथ्यांक राख्ने आधिकारिक निकाय भने यहाँ छैन । स्थानीयले गाउँको होमस्टेमा वास वस्ने र गाउँका होटल तथा पसलहरुमा चिया नास्ता गर्नेहरुको संख्याको आधारमा कुन वर्ष कति पर्यटकहरु आए भन्ने संख्या अनुमान गर्नुपरेको उहाँको भनाइ छ ।

पदमार्ग र साइकल लेन बनेपछि हाइकिङका लागि बेलढुंगा उत्कृष्ट गन्तव्य वनेको स्थानीय रत्न जिसीले बताउनुभयो । टाढाटाढाबाट वास वस्ने गरी आएका पर्यटकहरुका लागि नजिककै ओखले गाउँमा सामुदायिक घरबास (होमस्टे) बनेपछि खाना र बासको समस्या नहुँदा हाइकिङका लागि दैनिक एक सयको हाराहारीमा आन्तरिक पर्यटकहरु आउने गरेका छन् ।

बेलढुंगाबाट अन्नपूर्ण र धौलागिरि रेञ्जका १२ ओटा हिमश्रृङ्खला, म्याग्दी नदी, कालीगण्डकी सहित म्याग्दी र बागलुङ जिल्लाका खोला तथा झरनाको नागबेली दृश्य, साबिकको धौलागिरि अञ्चलका चारवटै जिल्लाका तीन दर्जन बढि गाउँहरु, वनजङ्गल, जंगली जनावर र पंक्षीका साथै सूर्योदय र सूर्यास्तको रमणीय दृश्य देख्न सकिने बेनी नगरपालिका ३ का वडाअध्यक्ष पदम पुनले बताउनुभयो ।

बेलढुंगामा पर्यटकीय पूर्वाधार निर्माणका लागि बेनी नगरपालिका वडा नं ३ र बागलुङको काँठेखोला गाउँपालिका ३ ओखलेको गरी करिव ४० लाख बढि खर्च भएको वडाअध्यक्ष पुनले जानकारी दिनुभयो । त्यसैगरी सडक निर्माणका लागि प्रदेश सरकारले लगानी गरेको उहाँले बताउनुभयो ।

अहिले गुलजार बनेको बेलढुंगा एक दशक अघिसम्म गुमनाम थियो । सडकको म्याग्दी र बागलुङ दुवैतिरबाट सकड मार्गको पहुँच,पदमार्ग निर्माण,साइकल लेन,होमस्टे,पार्किङ लगाएतका पूर्वाधारहरु बनेपछि यहाँ अहिले दैनिक दुई सय वढी आन्तरिक पर्यटकहरु आउने गरेका वडाअध्यक्ष पुनले बताउनुभयो ।

बेलढुंगामा आउने पर्यटकहरुको संख्या यति नै भयो भनेर आधिकारिक रुपमा भन्न सकिने अवस्था नभए पनि यातायात र पदमार्गमार्फत यहाँ आएका पर्यटकहरुलाई हेरेर पर्यटक वढेका वा घटेका अनुमान लगाउने गरिएको उहाँले बताउनुभयो ।

अध्यक्ष पुनका अनुसार विगतका वर्षहरुको तुलनामा वर्ष २०७९ मा बेलढुंगामा दिनहुँ यातायातका साधनहरुको भीड लाग्ने गरेको, म्याग्दीको भकिम्ली र बागलुंगको काँठेखोला हुँदै बेलढुंगामा सवारी साधनहरु बेल ढुंगामा विगतका वर्षहरुमा भन्दा बढी गएकाले पर्यटकहरुको संख्या बढेको अनुमान गरिएको हो । अध्यक्ष पुनले निकट समयमा नै यहाँ आएका पर्यटकहरुको आधिकारिक तथ्यांक राख्न एक जना कर्मचारीको व्यवस्था गर्न लागिएको जानकारी दिनुभयो ।

बेलढुङ्मा पछिल्लो समय आन्तरिक पर्यटकहरुको आकर्षण बढ्दै जान थालेपछि बेनी नगरपालिका–३ भकिम्ली र बागलुङ जिल्लाको काँठेखोला गाउँपालिका ३ ओखलेका विच विकासका पूर्वाधारहरु निर्माण गर्न होडबाजी नै चलेको स्थानीय गणेश शीषले जानकारी दिनुभयो ।

उहाँका अनुसार बाह्रै महिना बेलढुंगा चढ्ने पर्यटकको भीड उस्तै हुन थालेको छ । सडक सहज नहुँदा यो ठाउँ ओझेलमा थियो। सडक सञ्जालले जोडिएपछि धेरैको रोजाइमा पर्न थालेको हो ।

“पहिला घाँस दाउरा गर्ने,भेडा बाख्रा चराउने र निगालो खोज्नेहरु यहाँ आउँथे,हेर्दा हेर्दै शहरबजारबाट घुम्न र रमाउन यहाँ आउन थाले” शीषले भन्नुभयो “गाउँका मान्छेहरु रमाउन शहर झर्छन,शहरका मान्छे गाउँ हुँदै जंगलतिर उक्लन्छन् ।”
हिउँदमा हिउँ खेल्न र गर्मीमा शितलको खोजीगर्दै यहाँ आउनेहरुले चहलपहल बढाएको उहाँको भनाइ छ । यस वर्ष हिउँ परेन । तर सूर्योदय र दृश्यावलोकन गर्नेहरूको कमी भने भएन । बागलुङ र बेनी बजारबाट नजिक रहेको हुँदा पर्यटक सहज रूपमा यहाँ पुग्ने गरेका स्थानीयले बताएका छन् ।

यहाँ वनभोज खान आउनेहरू पनि बढेका छन् । नजिकै प्रसिद्ध धार्मिकस्थल स्वर्गाश्रम छ । यहाँ पूजाआजा गर्न आउने भक्तजन पनि बेलढुंगा चढ्न आउने गरेका छन् । सामाजिक सञ्जालमा यहाँका तस्वीर–भिडियो देखेर घुम्न आएको तोराखेतकी सरस्वती सापकोटाले बताउनुभयो । “यो ठाउँ साँच्चिकै स्वर्गजस्तो रहेछ । हिमाल पनि आँखै अगाडि देखिने, डाँडाकाँडा, वनजंगल, पशुपंक्षी सबै देख्न पाइने । वाइस जनाको टिम आएको रमाइलो भयो ” उहाँले भन्नुभयो ।

बेलढुंगा प्राकृतिक सौन्दर्यावलोकनका लागि मात्रै होइन आध्यात्मिक चिन्तनका लागि पनि उपयुक्त स्थान भएको बेलढुंगा घुम्न आउनुभएका बेनीका दुर्गाराम सुवेदीले बताउनुभयो ।

त्यसका साथै यहाँबाट धौलागिरी क्षेत्रका सम्पूर्ण तीर्थस्थलहरु,बाघ,भालु,चितुवा लगाएतका वन्यजन्तु,डाँफे,मुनाल,बनकुखुरो लगाएतका पंक्षी र चैत वैशाखमा राताम्यै फूलेका लालिगुराँसले यहाँ पुग्ने जोसुकैको मनलाई आकर्षित गर्नसक्ने भएकोले यसको प्रचारप्रसारमा अझै जोड दिनुपर्ने धौलागिरि पर्यटन परिषद् म्याग्दीका अध्यक्ष अमर बानियाँले बताउनुभयो ।

“नाम सुनेको थिएँ,तर यति आनन्द आउने ठाउँ होला भनेर कल्पना पनि गरेको थिएन”, पहिलोपटक बागलुङको पर्वतको फलेवासबाट बेलढुंगामा घुम्न आउनुभएका सुमन रेग्मीले भन्नुभयो “यहाँबाट हिमाल,पहाड,गाउँवस्ती,बनजंगल, नदी झरना, बजार, वनस्पति, वन्यजन्तु र सूर्योदय तथा सूर्यास्तको दृश्य एकैठाउँबाट देख्न सकिने रहेछ ।”

बेलढुंगाको शिरसम्म पदमार्ग

दुईवर्ष अघिसम्म बेलढुंगाको फेदमा रहेको वेसी चौतारीदेखि बेलढुंगाको शिरमा पुग्न निकै जोखिम थियो। अक्करे भीरमा बुट्यान र लहरामा झुण्डिदै बेलढुंगाको फेददेखि शिरसम्म पुग्न निकै दुःख हुन्थ्यो। तर अहिले सुविधायुक्त सिंढी (पदमार्ग) बनेपछि निकै सहज भएको बेलढुंगामा हरेक वर्ष पुग्ने गर्नुभएका नेपाल रेडक्रस सोसाइटी म्याग्दीका उपकोषाध्यक्ष शिव बानियाँले बताउनुभयो ।

म्याग्दीको सीमानातर्फ स्वर्गाश्रमदेखि बेसी चौतारीसम्म वेनी नगरपालिका–३ को करिब ४ लाख र त्यहाँदेखि बेलढुंगासम्म दुवै वडाको २÷२ लाख रुपैयाँको गरी करिब ८ लाखको लागतमा पदमार्ग निर्माण गरिएको छ । ढुंगा बिच्छ्याएर आकर्षक तरिकाले निर्माण गरिएको पदमार्ग हुँदै स्वर्गाश्रमबाट करिब एक घण्टाको उकालो छिचोलेपछि बेलढुंगा पुग्न सकिन्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?