फागुन तेस्रो साता दोलखा महोत्सव

Read Time = 3 mins

नवराज शिवाकोटी/हिटा
दोलखा । फागुन १९ देखि २७ गतेसम्म नौदिने दोलखा महोत्सव हुने भएको छ । आयोजक संस्था दोलखा चेम्बर अफ कमर्शले शनिबार पत्रकार सम्मेलन आयोजना गरी महोत्सवबारेमा जानकारी गराएको हो कोरोनाका कारण सुषुप्त बनेको दोलखाको आर्थिक अवस्था चलायमान बनाउन सहयोग पुर्‍याउने उद्देश्यका साथ दोलखा महोत्सव २०७९ को आयोजना गर्न लागिएको दोलखा चेम्बर अफ कमर्शका अध्यक्ष विष्णु श्रेष्ठले बताउनुभयो । महोत्सवमा एक सय स्टल रहने बताइएको छ ।

महोत्सवमा जिल्लाका विभिन्न जातजातिका सांस्कृतिक झाँकी प्रदर्शन गरिने, पञ्चेबाजा संरक्षणका लागि पञ्चेबाजा बजाउने समूहबीच प्रतियोगिता आयोजना गरिने, खैंजडी भजन तथा स्थानीय तथा राष्ट्रिय कलाकारको सांगीतिक प्रस्तुतिलगायतका कार्यक्रम हुने आयोजकले जनाएको छ । सोही अवसरमा आर्थिक बहस, नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान(नाष्ट), विज्ञान तथा रोबोटिक एसोसिएसनको सहयोगमा रोबोट प्रदर्शन, कम्प्युटर एसोसिएसनको सहयोगमा निःशुल्क मर्मत शिविर तथा साइबर सचेतना कार्यक्रम सञ्चालन हुने बताइएको छ ।

साथै स्ट्रिट फुड फेस्टिबल, माउन्टेन फ्लाइटमार्फत् दोलखाका पर्यटकीय स्थल अवलोकन तथा माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको सेयर अभौतिकीकरण शिविरलगायतका कार्यक्रम पनि रहेका छन् । महोत्सव सञ्चालनका लागि दोलखा चेम्बरका अध्यक्ष विष्णु श्रेष्ठको संयोजकत्वमा दुई सय ५१ सदस्यीय मूल आयोजक समिति गठन गरिएको छ भने महोत्सवको प्रचारप्रसार, आर्थिक, मञ्चमेला व्यवस्थापन तथा मनोरञ्जन व्यवस्थापन उपसमिति गठन गरिएको छ ।

जिल्ला समन्वय समति दोलखाका संयोक बर्जुराम घतानीको संयोजकत्वमा महोत्सव संरक्षक समिति गठन गरिएको तथा भीमेश्वर नगरपालिकाका प्रमुख ईश्वरनारायण मानन्धरको संयोजकत्वमा महोत्सव संयोजन समिति गठन गरिएको आयोजकले जनाएको छ । वरिष्ठ कलाकार मदनदास श्रेष्ठको संयोजकत्वमा एक सय एक सदस्यीय सल्लाहकार समिति गठन गरिएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?