निक्षेपको ब्याजदर एकल अंकमा

Read Time = 5 mins

काठमाडौं । वाणिज्य बैंकहरूले वैशाख १ गतेदेखि लागू हुने गरी निक्षेपको ब्याजदर घटाउने भएका छन् । नेपाल बैंकर्स संघको बुधबार बसेको बैठकले निक्षेपको ब्याज १.०१ प्रतिशतले घटाउने निर्णय गरेको हो । ब्याजदर घटाउने निर्णयसँगै वैशाखदेखि मुद्दती निक्षेपको ब्याजदर एकल अंकमा झरेको छ । यसअघि कायम निक्षेपको ब्याज १.०१ प्रतिशतले घटाउने निर्णय भएको हो । ब्याज घटेसँगै व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर ९.९९ प्रतिशत कायम भएको छ । यसअघि बैंकहरूले व्यक्तिगत मुद्दती निक्षेपमा ११ प्रतिशत ब्याज दिँदै आएका थिए ।

त्यस्तै, संस्थागत निक्षेपकर्ताको ब्याजदर ७.९९ प्रतिशत र बचतको ब्याज ५.४ देखि ७.४ प्रतिशत कायम हुनेछ । बैठकले कल डिपोजिटको ब्याजदर २.७ प्रतिशतमा झार्ने निर्णय गरेको छ । यसअघि निक्षेप साधारण बचतमा न्यूनतम छदेखि अधिकतम आठ प्रतिशतसम्म ब्याज दिइरहेका थिए । निक्षेपको ब्याजदर घटेसँगै पुरानो ऋणको ब्याजदरसमेत घट्दै जाने बताइएको छ । ब्याजदर घटाउने निर्णयको नेपाल उद्योग वाणिज्य महासंघले स्वागत गरेको छ ।

ब्याजदर घटाउने निर्णयसँगै वैशाखदेखि मुद्दती निक्षेपको ब्याजदर एकल अंकमा झरेको छ । बैंकर्स संघले यसअघि कायम निक्षेपको ब्याज १.०१ प्रतिशतले घटाउने निर्णय गरेको हो ।

निक्षेपको ब्याजदर घटाउने निर्णयको प्रभाव सेयर बजारमा पनि परेको छ । बुधबार नेप्से ९२.२२ अंकले बढेर १९६३.५५ बिन्दुमा पुगेको छ । यस दिन दुई सय ६७ कम्पनीका एक अर्ब ९७ करोडभन्दा बढीको सेयर कारोबार भएको छ । नेपाल राष्ट्र बैंकले मुलुकको अर्थतन्त्र सुधारोन्मुख रहेको बताएको भोलिपल्टै बैंकर्स संघले निक्षेपको ब्याजदर घटाउने निर्णय गरेको प्रभाव सेयर बजारमा देखिएको बताइएको छ ।

नेप्सेका अनुसार बुधबार १७ कम्पनीको सेयरमूल्यमा उच्च वृद्धि भएको छ भने पाँच कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेको छ । १२ कम्पनीको सेयरमूल्य नौ प्रतिशतभन्दा बढीले बढेर सर्किट लेभलमा पुगेको छ । डिबेञ्चर कम्पनीहरूको सेयर भने उच्च अंकले घटेको छ । कारोबारका आधारमा सबैभन्दा बढी शिवम् सिमेन्टको ११ करोड ७१ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।

बैंक पहुँचबाहिर एक स्थानीय तहमात्रै
अधिकांश स्थानीय तहमा वाणिज्य बैंकका सेवा विस्तार भएका छन् । अब एक स्थानीय तहमा मात्रै बैंक शाखा पुग्न बाँकी छ । नेपाल राष्ट्र बैंकका अनुसार कुल सात सय ५३ स्थानीय तहमध्ये २०७९ फागुनसम्म सात सय ५२ तहमा वाणिज्य बैंकका शाखा विस्तार भएका छन् ।

२०७८ फागुनसम्म सात सय ५० स्थानीय तहमा वाणिज्य बैंकका शाखा विस्तार भएका थिए । केन्द्रीय बैंकबाट इजाजतप्राप्त बैंक तथा वित्तीय संस्थाको संख्या २०७९ फागुन मसान्तमा एक सय २० रहेको छ । जसमध्ये २१ वाणिज्य बैंक, १७ विकास बैंक, १७ वित्त कम्पनी, ६४ लघुवित्त वित्तीय संस्था र एक पूर्वाधार विकास बैंक रहेका छन् । बैंक तथा वित्तीय संस्थाहरूको शाखा संख्या २०७९ असारसम्म ११ हजार पाँच सय २८ रहेकोमा २०७९ फागुनसम्म ११ हजार छ सय २९ पुगेको छ ।

त्यस्तै, बैंक तथा वित्तीय संस्था गाभ्ने/गाभिने तथा प्राप्तिसम्बन्धी प्रक्रियापछि २०७९ फागुनसम्म कुल दुई सय ५७ बैंक तथा वित्तीय संस्थाहरू मर्जर/प्राप्ति प्रक्रियामा सामेल भएका छन् । जसमध्ये एक सय ८४ संस्थाको इजाजत खारेज हुन गई ७३ संस्था कायम भएका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?