काठमाडौँ । सगरमाथा आरोहणका लागि बाटो निर्माण गर्न आवश्यक सामग्री पुर्याउने क्रममा हिमपहिरोमा परी बेपत्ता भएका तीन जनाको खोजी तथा उद्धार कार्य जारी रहेको पर्यटन विभागले जनाएको छ ।
विभागका महानिर्देशक होमप्रसाद लुइटेलका अनुसार हेलिकप्टर र स्थलगत मार्गबाट बेपत्ताको तीव्ररूपमा खोजतलास तथा उद्धार कार्य भइरहेको छ । “हिम पहिरोमा पुरिएकाको खोज तथा उद्धार कार्य निकै कठिन हुन्छ, अहिलेसम्म थप विवरण आएको छैन, विभागले सरोकारवाला निकायसँग समन्वय गरी खोजी गरिरहेको छ”, उहाँले भन्नुभयो ।
चालु वसन्त ऋतुमा सगरमाथा आरोहणका लागि बाटो निर्माण गर्न आवश्यक सामग्री पुर्याउने क्रममा शनिबार सगरमाथाको आधार शिविरदेखि माथि क्याम्प-१ को बीचमा आइसफल क्षेत्रको दाम भन्ने स्थानमा हिउँको ढिस्कोले पुरिएर दाछिरी शेर्पा, पेम्वा तेन्जिङ शेर्पा र लाक्पा रीता शेर्पा बेपत्ता भएका छन् ।
खुम्बु पासाल्हामु गाउँपालिका-५ निवासी तीनैजना इमाजिन नेपाल ट्रेक एण्ड एक्सपिडिसन प्रालिका तर्फबाट खटिएका थिए । स्थानीय प्रशासन, सगरमाथा प्रदूषण नियन्त्रण समिति, हिमालयन उद्धार सङ्घ, इमाजिन एक्सिपिडिसन कम्पनी र पर्वतारोहण सञ्चालक सङ्घ नेपालसँगको सहकार्यमा खोजी तथा उद्धार भइरहेको विभागले विज्ञप्तिमार्फत जनाएको छ ।
पर्यटन विभागका अनुसार अहिले वसन्त ऋतुमा सगरमाथा आरोहणका लागि बाटो बनाउने काम भइरहेको छ । सगरमाथा प्रदूषण नियन्त्रण समिति (एसपीसीसी)का अनुसार अनुभवी आइसफल डाक्टर (हिमालमा बाटो बनाउने मानिस)ले सगरमाथाको दोस्रो शिविर (क्याम्प-टु) सम्मको बाटो बनाइसकेका छन् ।
सगरमाथाको दोस्रो शिविरभन्दा माथिल्लो भागमा रोप फिक्सिङको जिम्मा इमाजिन ट्रेक नेपालले पाएको छ । विभागका अनुसार हालसम्म सगरमाथा आरोहणका लागि २० आरोही समूहका ३१ महिला र एक सय ६६ पुरुष गरी कूल एक सय ९७ आरोहीले आरोहण अनुमति लिएका छन् । आरोही धमाधम आइरहेकाले यो वर्षको वसन्त आरोहण उत्साहजनक हुने अनुमान गरिएको विभागका निर्देशक लुइटेलले बताउनुभयो । रासस
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच