महासंघ अध्यक्षमा ढकाल र वरिष्ठ उपाध्यक्षमा श्रेष्ठ

लेखनाथ पोखरेल
Read Time = 5 mins

काठमाडौं । निकै चासोका साथ हेरिएको नेपालको निजी क्षेत्रको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा अञ्जन श्रेष्ठ सर्वसम्मत निर्वाचित हुनुभएको छ । पहिलो चरणबाट दोस्रो चरणका लागि प्रतिस्पर्धी बन्नुभएका उमेशलाल श्रेष्ठले अञ्जनलाई वरिष्ठ उपाध्यक्ष बनाउन सहमति जनाएपछि उहाँ सर्वसम्मत चयन हुनुभएको हो । पहिलो चरणको निर्वाचनमा अञ्जन, उमेश र रामचन्द्र संघाईबीच कडा प्रतिस्पर्धा चलेको थियो भने अञ्जन पहिलो र उमेश दोस्रो हुनुभएको थियो । पहिलो चरणको निर्वाचनमा अञ्जन ३७.९९ र दोस्रो उमेशलालले ३१.५१ प्रतिशत मत पाउनुभएको थियो भने रामचन्द्रले ३०.४६ प्रतिशत मत पाउनुभएको थियो । महासंघको विधानअनुसार ५० प्रतिशत बढी मत ल्याउने उम्मेदवार मात्रै विजयी हुने व्यवस्था रहेकोले अञ्जन र उमेशबीच पुनः चुनाव गर्नुपर्ने अवस्था सिर्जना भएको हो ।

विधानअनुसार स्वतः अध्यक्षमा चयन हुनुभएका चन्द्रप्रसाद ढकालको कार्यकाल सकिएपछि अञ्जन श्रेष्ठ स्वतः अध्यक्ष बन्नुहुने छ । तीव्र राजनीतिक दबाबबीच महासंघमा नयाँ नेतृत्व चयन भएको छ । महासंघ नेतृत्वका लागि खासगरी तीन प्रमुख राजनीतिक दलको स्वार्थ जोडिएको थियो । वरिष्ठ उपाध्यक्षमा नेपाली कांग्रेस देउवा समूहको जोडबल रामचन्द्रलाई थियो भने गगन थापा समूहको जोड अञ्जन र एमालेको उमेशलाललाई थियो । माओवादीको भने उपाध्यक्षका प्रतिस्पर्धी अरुणराज सुमार्गीलाई रहेको थियो ।

एसोसिएटतर्फ उपाध्यक्षमा रामचन्द्र प्यानलकी ज्योत्सना श्रेष्ठ, जिल्ला नगर उपाध्यक्षमा रामचन्द्र प्यालनकै सुरकृष्ण वैद्य र वस्तुगत उपाध्यक्षमा उमेशलाल श्रेष्ठ प्यानलका हेमराज ढकाल विजयी भएका छन् । त्यस्तै, सदस्यमा डा. रामशरण थपलिया, नरेशलाल श्रेष्ठ, मोहनप्रसाद श्रेष्ठ, मनोज पौडेल, लिलेन्द्रप्रसाद प्रधान, प्रयास कार्की, आनन्दकुमार बगरिया, हरिबहादुर कार्की, अमरेशन चन्द बैदार, अम्बिकाप्रसाद पौडेल, शिवप्रसाद घिमिरे, ताराबहादुर कार्की, सुनिल नारायण श्रेष्ठ, अरनिको राजभण्डारी, नवीन रिजाल निर्वाचित हुनुभएको छ । त्यसैगरी, सुशील थापा, डा. सुबोधकुमार गुप्ता, कल्पना गैरे, शैलेन्द्र गुरागाईं, रविन पुरी, उमेश डालमिया, राजेशकुमार अग्रवाल, नानीराज घिमिरे, उज्ज्वलप्रसाद कसजु, हेमन्त गोल्छा, भक्तबहादुर हमाल, वेदबहादुर श्रेष्ठ, देशबन्धु बस्नेत, शोभा ज्ञवाली, अब्दुल बाहित मन्सुरी, अविनाश बोहोरा, मनोज अधिकारी, मञ्जुकुमार श्रेष्ठ (कोजु) रहनुभएको छ ।

त्यस्तै, गोपाल खनाल, कमला श्रेष्ठ, किशोरकुमार आचार्य, उज्ज्वलकुमार श्रेष्ठ, पशुपतिदेव पाण्डे, केशवप्रसाद भण्डारी, प्रवलजंग पाण्डे, राजकुमार कार्की, कृष्ण कटुवाल, जुना माथेमा, पुष्पराज कुँवर, शक्तिकुमार बेगानी, अनिलकृष्ण श्रेष्ठ, सन्दीपकुमार अग्रवाल, गोकुल श्रेष्ठ, ऋषि अग्रवाल, निरक केसी, मुकुन्दप्रसाद तिमल्सिनालगायत रहेको महासंघले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?