स्रष्टा जगत् ‘प्रेक्षित’ अनि ‘समय र जीवन’ निबन्ध सङ्ग्रह !

डा. नारायण चालिसे
Read Time = 18 mins

जगत् उपाध्याय ‘प्रेक्षित’ का नामले साहित्यमा परिचित स्रष्टाको औपचारिक नाम जगत्प्रसाद उपाध्याय हो । पेशाले उनी विश्वविद्यालयका प्राध्यापक हुन् तर उनको व्यक्तित्वका धेरै आयामहरू छन् । उनी कुशल प्रशासक, सङ्गठक अनि वैचारिक अभियन्ता पनि हुन् । नेपाली साहित्यका विभिन्न विधामा कलम चलाएका ‘प्रेक्षित’ का कविता, खण्डकाव्य, निबन्ध, समालोचना, हाइकु र सम्पादित ग्रन्थहरू गरी दर्जन जति कृति प्रकाशमा आइसकेका छन् । सुन्दर छन्दकविका रूपमा ख्याति प्राप्त उनको हालै नवीनतम निबन्ध कृति ‘समय र जीवन’ बजारमा आएको छ । चौधवटा निबन्धहरू समेटिएको यस सङ्ग्रहका निबन्धहरू वैचारिक दृष्टिले उच्च मूल्यका रहेका छन् ।

निबन्ध आफूलाई शब्दमा प्रकट गर्ने कला हो । स्रष्टासँग अगाडि उभिएर संवाद गर्ने र विचारको खुराक पस्किने भरपर्दो माध्यम लाग्छ निबन्ध लेखन । लेखकको वैचारिक प्रतिबिम्ब पनि हो निबन्ध । साह्रै औपचारिक र साह्रै अनौपचारिक दुवै शैलीमा निबन्धमा स्रष्टाले संवाद गरिरहेको हुन्छ । समयमाथि लेख्ने स्रष्टा नै मौलिक स्रष्टा हो । जीवन र जगत्माथि कलम चलाउने स्रष्टाले नै वास्तविक समय र जीवन लेख्न सक्छ । हामी उभिएको धर्ती र यसमा हाम्रो उपस्थितिको प्राज्ञिक अनुहार निबन्धले देखाउँछ । उहिल्यैदेखि अहिलेसम्म मैले पनि भर गरेको कुरा समय हो र गुनासो गरेको विषय पनि समय नै हो ।

कहिले असाध्यै सुन्दर भएर उपस्थित हुने समय कहिले असाध्यै कुरूप भएर आइदिन्छ । हाम्रा कर्म र मर्मको पनि साक्षी समय नै हो । हाम्रा हरेक पाइलामा समयको लालमोहर लागेको हुन्छ । अरूसँग लुकीछिपी गर्न सकिएला समयसँग सकिँदैन । समय त्यो विश्वासिलो मित्र हो जो हरेक असजिलाहरूमा हाम्रो साथमा हुन्छ । र समय नै त्यस्तो शत्रु हो जो हाम्रो कमजोरीलाई समाएर हामीलाई खिज्याउँछ पनि । तर जेजस्तो परिस्थितिमा पनि हामी समयलाई साथ लिएरै हिँड्ने गर्छौं । हामी के हौँ ? भनेर प्रमाणित गर्ने र हामी के होइनौँ ? भनेर समाजका सामु स्पष्टीकरण बुझाउने माध्यम पनि समय नै हो ।

कवितार जगत्ले बेलाबेलामा लेखेका वैचारिक निबन्धहरूको सँगालो ‘समय र जीवन’ आज मेरो हातमा छ । उनले बुझेको समय ककसको समय भयो त ? भनेर यहाँभित्र हेर्न सकिन्छ । वास्तवमा उनी हिँडेको, भोगेको, देखेको र उनले लेखेको समय हामी धेरैको समय नै हो ।

जीवनलाई प्राज्ञिक वा बौद्धिक बनाउन चाहनेले समयलाई शब्दमा सजाउँछ । जसलाई आफू हुनुको बोध छ उसले समयलाई सिँगार्न शब्दकै सहायता लिन्छ । त्यसो त आत्मरागको बिष वमन गर्ने माध्यम पनि शब्दलाई नै बनाएर शब्दको अपमान गर्नेहरू हाम्रा समाजमा अझ बढी छन् तापनि इमानको खेती गर्नेहरूले नै शब्दको सम्मान गरेको लाग्छ ।

स्रष्टा जगत् ‘पे्रक्षित’ लाई मैले धेरै वर्षदेखि चिनेको छु । हामी क्याम्पस तहदेखिका सहपाठी मित्र हौँ । उनी हाम्रो समयका अग्रणी, जुझारू, क्षमतावान् र प्रतिभासम्पन्न स्रष्टा हुन् । उनी हिजैदेखि पहिला हुँदै आएर आज पनि हरेक क्षेत्रमा पहिलो भइरहेकै छन् । मैले चिन्नु त्यति ठूलो कुरा हुँदै होइन समाजले नै उनलाई राम्ररी चिनेको छ । प्रगतिवादी साहित्य स्रष्टाका रूपमा उनी सुपरिचित छन् । माक्र्सवादका पनि अध्येता उनी पौरस्त्य दर्शनका आधिकारिक विद्वान् हुन् । हाम्रा पौरस्त्य दर्शनहरू अध्यात्मवाद र भौतिकवादको जगमा अडिएका छन् । माक्र्सवाद र अध्यात्मवादलाई साथै लिएर हिँड्न त्यति सजिलो छैन ।

स्रष्टा जगत् अध्यात्मवाद, भौतिकवाद र माक्र्सवादलाई समन्वय गरेर हिँडाउन प्रयत्नरत व्यक्ति हुन् । हामी भौतिकवादी हुन र अध्यात्मवादी हुन पनि हाम्रा दर्शनले हामीलाई छुट दिएका छन् । खासमा दर्शनले दृष्टि दिने काम गर्ने हुनाले दर्शनको विद्यार्थी हुन अध्यात्मवादी वा भौतिकवादी भइरहन पनि पर्दैन । एकैजना व्यक्ति धेरै विषय र विधातिर छरिएर पनि सबैतिर अब्बल रहन सकेको दृष्टान्तमा जगत् पर्छन् । आफ्नो उपस्थितिलाई आत्मश्विासका साथ सबैका सामु ढुक्क उभिएर आजसम्म उनले आफूलाई प्रमाणित गर्दै आएका छन् । सबै मानिस सबै ठाउँ पुग्ने कुरा पनि होइन तर जति ठाउँ पुगिएको छ त्यहाँ चम्किलो भएर उभिन सक्नु उभिनु हो । जगत्ले त्यसरी उभिने क्षमता राखेका छन् भन्ने लाग्छ ।

उनले बेलाबेलामा लेखेका वैचारिक निबन्धहरूको सँगालो ‘समय र जीवन’ (२०७९) आज मेरो हातमा छ । जगत्ले बुझेको समय ककसको समय भयो त ? भनेर यहाँभित्र हेर्न सकिन्छ । वास्तवमा उनी हिँडेको, भोगेको, देखेको र उनले लेखेको समय हामी धेरैको समय नै हो । तर, सबैको आ-आफ्नै ज्ञानको दायरा हुन्छ अनि बुझाइका आफ्ना रूपहरू हुन्छन् तीमध्ये जगत्ले देखेको र भोगेको समय यहाँ प्रकट गरिएको छ । जगत्को आफ्नो ज्ञान, अनुभव र अभिव्यक्तिको सामथ्र्यले यी निबन्धहरू अद्वितीय बनेका छन् । जगत्ले समयलाई जसरी आफ्नो पारेका छन् र उनको हिस्साको समयलाई आफ्ना शब्दमा उतार्दा उनले अवलम्बन गरेको शैली र त्यहाँ निर्मित विचारको पिरामिड साँच्चै लोभलाग्दो छ ।

शब्दमा अहङ्कार नघोलिकन विचारको अडान राख्न जगत्का निबन्धहरूले सिकाएका छन् । आफ्नो दृष्टि र दर्शनलाई सार्वजनिक गर्न जगत्ले यस सङ्ग्रहमा चौधवटा शीर्षक चयन गरेका छन् । निबन्धको पहिलो शीर्षक समय र जीवन रहेको छ । सद्भावको संस्कृति, सम्बन्धहीन सम्बन्धहरू, आफू त सोझो मान्छे, शिक्षा र जीवन, कृतज्ञता, को चोर ? को साधु ?, किन मक्किदै छन् आस्थाहरू, सुनका गहना, जीवनको मोल, कोरोनासँग पौँठेजोरी, ‘म’ वाद : जिन्दावाद, अभाव, भाव नफुरेपछि भन्ने शीर्षकमा समेटिएका यी निबन्धहरू सरल छन् र त्यत्तिकै गहन छन् ।

सजिलो तरिकाले विषयलाई छिचोलेर गम्भीर कुराहरू व्यक्त गर्ने सामथ्र्य स्रष्टा जगत्मा प्रचुर मात्रामा रहेको छ । विषयको प्रस्तुति गर्न रोजिएको शैली अत्यन्त स्वाभाविक छ । टेबुल गफकै शैलीमा यी कुराहरू आएका छन् । विषयको गहिराइमा पुगेर मन्थन गर्ने वस्तुको छानबिन गर्ने अद्भूत कला यी निबन्धहरूमा पाइन्छ । यी निबन्धहरूमा समयका बिम्बहरू फरक फरक सन्दर्भसँग जोडिएर आएका छन् । अत्यन्त सरल शैलीमा सहज किसिमले कुराहरूलाई प्रकट गरिएको छ । अभिधा, व्यङ्ग्योक्ति र अन्योक्तिका माध्यमले विषयको व्यवस्थापन गरिएको छ । र, कतै मनोविनोदको शैलीमा आफ्ना विचारप्रकट गरिएको छ ।

अनुभूति र यथार्थहरूलाई प्रकट गरिएका यी निबन्धहरूमा सामान्य र विशिष्ट शब्दसंयोजन रहेको छ । यी निबन्धहरूमा गतिशील चेतनाको प्रचुर प्रयोग पाइन्छ । मान्छेका स्वभाव, प्रवृत्ति, व्यवहार र कर्मलाई नजिकैबाट नियालेर आफ्नो ज्ञान र अनुभवको कसीमा नापजाँच गरी ती कुराहरूलाई बाहिर ल्याइएको छ । निबन्धमा कतै वस्तुपरकता र कतै आत्मपरकता विद्यमान रहेको पाइन्छ । कहीँ न कहीँ निबन्धकारको ज्ञान, अनुभव भोगाइ जोडिनाले यी निबन्धहरू आत्मपरक बढी लाग्छन् । सामान्य विषयलाई पनि विषय प्रस्तुतिको विशेष कलाले रोचक पार्ने क्षमता निबन्धकार जगत्मा देखापर्छ ।

पहिलो निबन्ध निबन्धकारको जीवदृष्टिको प्रतिबिम्ब बनेर आएको छ । समय शब्दका अनेक अर्थहरू, काल, समय र जीवनको सम्बन्ध ती शब्दमाथि बुझाइका अनेक रूपहरू र समयको शाश्वततामा आफूलाई समाहित गर्दाका अवस्थाहरू र जीवन भोगाइका तीता अनुभूतिहरूलाई यो निबन्धमा मिहिन किसिमले हेरिएको छ । त्यसै गरी मानिसमा हुनैपर्ने सद्भावको संस्कृतिका बदला समाज र जीवनमा देखापरेका असद्वृत्तिहरू र संस्कृतिका नाममा विकसित हुँदै आएका विकृतिहरू समेतमा दृष्टि पु¥याइएको सद्भावको संस्कृति निबन्ध निबन्धकारको सामाजिक परिवर्तनप्रतिको आस्था, आदर्शप्रतिको विश्वास र मानव चेतनासँग जोडिएर आएको छ ।

सम्बन्धहीन सम्बन्ध निबन्धमा मानवीय सम्बन्धका अनेक रूपहरूको विवेचना गरी सम्बन्धका कृत्रिम अवस्थाहरूप्रति असहमति प्रकट गरिएको छ । आफू त सोझो भन्ने थेगो प्रयोग गरेर बाङ्गो व्यवहार गर्ने समाजमा सोझो र बाङ्गोको पहिचान के कुराले गर्ने ? जसले आफूलाई सोझो ठानेको छ वास्तवमा त्यही व्यक्ति र प्रवृत्तिका प्रति सन्देह गर्नुपर्ने अवस्था आएको कुरा घतलाग्दो पाराले व्यक्त गरिएको छ । शिक्षा र जीवन निबन्धमा जीवन र शिक्षाका बीचको साइनो के हो ? भन्ने कुरालाई देखाएर जीवनमा शिक्षाको महत्वमाथि प्रकाश पारिएको छ । कृतज्ञता निबन्धमा मानिसले मानिसप्रति प्रकट गरिने कृतज्ञता भाव र कृतज्ञ र कृतघ्नका बीचको अन्तरलाई सुझाइएको छ ।
को चोर ? को साधु ? शीर्षकको निबन्धमा र चोरका प्रकारहरूको घतलाग्दो वर्गीकरण गरेर जसलाई साधुजस्तो ठानिएको छ उही नै प्रवृत्तिगत रूपमा चोरमा दरिन पुगेको यथार्थलाई उजागर गरिएको छ । किन मक्किँदै छन् आस्थाहरू भन्ने निबन्धमा हामीले आफ्ना आदर्श, मूल्यर मान्यताहरूलाई बिर्सेर अन्यथा व्यवहार र कर्म गर्दै जानाले आस्था पनि मक्किँदै जान थालेको गम्भीर यथार्थलाई देखाइएको छ । सुनका गहना शीर्षकको निबन्धमा पुँजीवादी समाजमा व्याप्त गहनाप्रतिको मोह र यसले निम्त्याएका विकृतिहरूलाई देखाइएको छ । त्यसैगरी जीवनको मोल शीर्षकको निबन्धमा जीवन ख्यालख्यालमा पाइएको र ख्यालख्यालमै बिताउने कुरा नभएर यसका मूल्य र मान्यताहरूलाई अङ्गीकार गरेर अगि बढ्नु वास्तवमा जीवन पाउनु हो भन्ने कुरालाई गहन किसिमले व्यक्त गरिएको छ ।

अनुभूति र यथार्थहरूलाई प्रकट गरिएका यी निबन्धहरूमा सामान्य र विशिष्ट शब्दसंयोजन रहेको छ । यी निबन्धहरूमा गतिशील चेतनाको प्रचुर प्रयोग पाइन्छ । मान्छेका स्वभाव, प्रवृत्ति, व्यवहार र कर्मलाई नजिकैबाट नियालेर आफ्नो ज्ञान र अनुभवको कसीमा नापजाँच गरी ती कुराहरूलाई बाहिर ल्याइएको छ ।

कोरोनासँग पौँठेजोरी शीर्षकको निबन्धमा विश्वव्यापी रूपमा अकस्मात् प्रकट भएको कोरोना भाइरसले संसारलाई पारेको प्रभाव, हाम्रो भौतिक उन्नतिले पनि समाधान गर्न नसकेको सत्य र त्यसको कठोर पञ्जामा आफू र आफ्नो परिवार पनि परेको तीतो यथार्थलाई विवेचना गरिएको छ । ‘म’ वाद : जिन्दावाद, मनोविनोदको शैलीमा समाजको यथार्थप्रति कटाक्ष गरिएको निबन्ध हो । ‘म’ वाद : सर्वत्र हावी भएको बेला मपाइँत्व देखाउँदा नै आजको समाजमा फिट भइने कुरा गरिएको छ । अभाव निबन्ध दार्शनिक यथार्थ समेटिएको निबन्ध हो । जहाँ अभाव हुन्छ त्यहाँ स्वतः अर्को वस्तुको भाव हुन्छ अनि एउटा कुराको अभाव भएको ठाउँमा अर्को वस्तुको भाव रहेको हुन्छ भन्ने दार्शनिक चिन्तनलाई विवेचना गरिएको छ ।

र, भाव नफुरेपछि शीर्षकको निबन्धमा लेख्नको निम्ति भावको स्फुरण हुनुपर्छ भन्ने मान्यता र भावविनाको अभिव्यक्तिमा सामथ्र्य हुँदैन भन्ने यथार्थका साथै भाव त फुरेन तर त्यही समयमा त्यसभन्दा सुन्दर विचारको स्फुरण भयो भन्ने कुरा राम्ररी प्रकट भएको छ । केही नहुनु अर्को त्यसभन्दा महत्वको वस्तु जन्मिनु पनि हो रहेछ । जबर्जस्ती भाव फुराउने नाममा समय खेर फाल्नुभन्दा त्यही समयमा प्रकट भएका विचारलाई सम्मान गर्नु झन् राम्रो कुरा हरेछ भन्ने विचार यहाँ ध्वनित भएको छ ।

निबन्धमा हरेक वाक्यमा निर्बन्ध विचारहरू समेटिएका हुन्छन् । प्रत्येक वाक्य विचार, दर्शन र दृष्टिले पूर्ण हुन्छन् । अनुच्छेद वा प्रकरणले मोटामोटी सारसन्देश दिने भए पनि खासमा निबन्धशक्तिको मापन निबन्ध पढेरमात्रै अनुभव गर्न सकिन्छ । स्रष्टा जगत्का निबन्धहरूको सामथ्र्य मापन गर्न मसिनो गरी यी निबन्धहरू पढ्नैपर्ने हुन्छ । छन्दमा राम्रो दख्खल भएका वैचारिक कवि जगत् ‘प्रेक्षित’ को यो पछिल्लो निबन्धकृतिले पनि उनको स्रष्टा व्यक्तित्वलाई अझै उज्जर बनाएको छ । आत्मानुभूतिको प्रकटीकरणका सन्दर्भमा कतिपय ठाउँमा उनी अलि बढी आक्रामक र आग्रही पनि भएका छन् । केही खरा अभिव्यक्तिले निबन्धहरू ललितमात्रै नबनेर खरा वैचारिक जस्ता पनि बनेका छन् । सारमा नेपाली निबन्ध विधाले आशालाग्दो प्रतिभा र एउटा सुन्दर कृति पाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?