ऋचा मेमोरियल टी-२० क्रिकेटको उपाधि त्रिभुवन आर्मीलाई

हिमालय टाइम्स
Read Time = 4 mins

विराटनगर । प्रथम ऋचा मेमोरियल टी-२० क्रिकेट प्रतियोगिताको उपाधि विभागीय टिम त्रिभुवन आर्मीले जितेको छ । विराटनगर जुट मिलको खेलमैदानमा आइतबार सम्पन्न भएको फाइनलमा घरेलु टिम एनबिएससीलाई छ विकेटले हराउँदै आर्मीले उपाधि जितेको हो । उपाधिसँगै आर्मीले एक लाख ५० हजार रुपैयाँका साथै आकर्षक ट्रफी पाएको छ । उपविजेता भएको एनबिएससीले ७५ हजार रुपैयाँमा चित्त बुझायो ।

१११ रनको विजयी लक्ष्य पछ्याएको आर्मीले ११ दशमलब तीन बलमा चार विकेटको क्षतिमा पूरा गर्‍यो । आर्मीको जितमा सन्दीप रजालीले विस्फोटक ब्याटिङ गर्नुभयो । उहाँले २० बलमा तीन छक्का र पाँच चौका हिर्काउँदै ४६ रनको योगदान दिनुभयो । उहाँ खेलको म्यान अफ द म्याच पनि घोषित हुनुभयो ।

यस्तै, वासिर अहमदले १८ बलमा दुई चौका हिर्काउँदै १८ रन पारी खेल्दा सुमित श्रेष्ठले आठ बलमा अविजित १३ रन बनाउनुभयो । बलिङमा एनबिएसीका एमडी इजार, प्रशान्त कुमार, रवि शर्मा र मयंक कुमारले समान एक-एक विकेट लिनुभयो ।

यसअघि टस हारेर ब्याटिङ गरेको एनबिएससीले १७ दशमलब दुई बलमा सबै विकेट गुमाई ११० रनमा सीमित भयो । एनबिएससीका कुमार रजनिशले ३३ बलमा दुई छक्का र सात चौका हिर्काउँदै ५० रनको अर्धशतकीय इनिङ खेल्नुभयो । अनुभव श्रीवास्तले १४ बलमा ११ रन बनाउँदा एनबिएससीका अरू ब्याटरले दोहोरो अंक छोएनन् । एमडीले अविजित आठ रनको योगदान दिनुभयो ।

आर्मीका विक्रम शोबको घातक बलिङसामु एनबिएससीका खेलाडी क्रिजमा टिक्न सकेनन् । आर्मीका विक्रमले चार ओभरमा २२ रन खर्चेर तीन विकेट लिनुभयो । हरि चौहान र सुमित श्रेष्ठले समान दुई-दुई विकेट लिनुभयो ।

प्रतियोगिताको बेस्ट ब्याटर एमबी ग्रुप डडेल्धुराका दिपक बोहरा घोषित हुनुभयो । उहाँले खेल अवधिभरिमा ११५ रन बनाउनुभएको थियो । यस्तै, प्लेयर अफ सिरिज दिल्ली युनाइटेडका साकेत केडिया हुनुभयो । उहाँले १०५ रन र चार विकेट लिनुभयो । उहाँले ५० हजार मूल्य बराबरको क्रिकेट किट पाउनुभयो । बेस्ट बलरमा आर्मीका जितेन्द्र मुखिया घोषित हुनुभयो ।

नेपाल क्रिकेट संघका अध्यक्ष चतुरबहादुर चन्द, वरिष्ठ सल्लाहकार नरेश श्रेष्ठ, नेपाल खेलकुद महासंघका केन्द्रीय सचिव विप्लव घोष, सुनसरी जिल्ला क्रिकेट संघका अध्यक्ष सिपी पौडेललगायतले पुरस्कार वितरण गर्नुभएको थियो ।

विराटनगर जुट मिलको खेलमैदानमा चैत २७ देखि वैशाख ३ गतेसम्म भएको प्रतियोगितामा मुलुकका तीन विभागीय टोली त्रिभुवन आर्मी, नेपाल प्रहरी र एपिएफसहित एनबिएससी विराटनगर, राहुल ११, सुदूरपश्चिम क्रिकेट क्लब, भारतको नरपथगञ्ज र दिल्ली युनाइटेड गरी आठ टिमको सहभागिता रहेको पूर्वाञ्चल क्रिकेट एकेडेमीका अध्यक्ष नरेश श्रेष्ठले जानकारी दिनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?