६ लेन सडकले गिज्याएको बुटवल बजार: काम जहाँको त्यहीँ, व्यापारी विस्थापित हुँदा बजार सुनसान

चन्द्रकान्त खनाल रुपन्देही, संवाददाता
Read Time = 9 mins

बुटवल । बुटवल बजार क्षेत्रको सडक ६ वर्षदेखि लथालिंग छ । ‘फोर लेन’ को सडकलाई १७ चैत २०७३ मा ‘सिक्स लेन’ विस्तार गर्ने गरी ठेक्का सम्झौता भएको थियो । जुन ६ वर्ष पूरा भइसकेको छ । तर, निर्माणको कामले गति नलिँदा सडक अहिले पनि ६ वर्ष अगाडिकै अवस्थामा छ । सडक चौडा हुनेबाहेक अरू काम नहुँदा बुटवल बजार भने कुरूप बनेको छ । बुटवल बेलहिया ६ लेन सडकअन्तर्गत बुटवल चौराहादेखि गोलपार्कसम्मको साढे तीन किलोमिटर सडक वर्षामा हिलो र हिउँदमा धुलो हुँदा यात्रु र स्थानीयले सास्ती भोग्नु परेको छ ।

पूर्वपश्चिम राजमार्गमा पर्ने सिद्धार्थ राजमार्ग अन्तर्गतको यो मुख्य सडक हुँदै दैनिक हजारौँ मालबाहक, यात्रुबाहक र निजी सवारीसाधन ओहोरदोहोर गर्छन् । त्यही सडक बीचका खाल्डाखुल्डी र किनारमा थुपारिएका निर्माण सामग्रीले दुर्घटनाको जोखिम दिनहुँ बढाइरहेको छ । अर्कोतर्फ धुलाम्मे÷हिलाम्मे हुँदा व्यापार व्यवसायमा ठूलो प्रभाव परेको छ । बुटवलको ‘मुटु’ मुख्य बजार क्षेत्रको साढे तीन किलोमिटर सडक भत्काएर ठेकेदारले जहाँको त्यहीँ छाड्दा ठूला व्यापारी पलायन भएका हुन् । नेपालको सडक निर्माणको कामको गति र प्रकृति कस्तो छ भनेर थाहा पाउन बुटवलको निर्माणाधीन सडकलाई नियाले पुग्छ ।

धुलोले नागरिकको स्वास्थ्यमा असर परेको छ भने, व्यवसाय शून्यजस्तै रहेको बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष उज्ज्वल कसजू बताउनुहुन्छ । ‘सधैँ गुलजार रहने बुटवल बजारलाई सडक विस्तारको लागि डोजर चलाएपछि सुनसान मात्र बनाएको छैन, धेरै व्यवसायी विस्थापित भएका छन्’ अध्यक्ष कसजूले भन्नुभयो । सडक डिभिजन कार्यालय, बुटवलका अनुसार सडक निर्माणको काम वि.स.२०७६ असोजमा सकिनुपर्ने हो । यो सडक स्थानीय निर्वाचनका बेला भोट माग्ने र घटाउने अस्त्र बनेको थियो । सडकमा गिट्टी बिच्छाएर दुर्दशा देखाइएको छ । बुटवल उपमहानगरका प्रमुख खेलराज पाण्डे र उपप्रमुख सावित्रादेवी अर्यालले सडकमा आएर छिटो काम सक्न निर्देशन दिँदै हिँडे पनि सडक अहिलेसम्म उस्तै छ । डिभिजन कार्यालयका अनुसार अहिलेसम्म सडकको भौतिक प्रगति ३० प्रतिशतसमेत हुन सकेको छैन ।

सडक निर्माणका नाममा बाटो ‘वान-वे’ बनाउँदा दुर्घटनासमेत बढाएको छ । निर्माण सुरुवाती चरणमा अदालती मुद्दा मामिलाले सडक निर्माणमा अवरोध सृजना ग¥यो । बुटवलका व्यवसायीहरूले सडकमा परेको संरचना भत्काउन अटेर गरी अदालतमा पुगे । लाखौँ चन्दा उठाएर मुद्दा मामिलामा जुटे पनि उनीहरूको पक्षमा फैसला भएन । अन्ततः अतिक्रमित क्षेत्रमा बनेका घरहरू डोजर चलाएर भत्काइयो भने केही घरधनी आफैँले भत्काए । अदालतको अन्तिम फैसलापछि सडक निर्माण थालनी भयो । तर, राजनीतिक दाउपेचले सडक निर्माण रोक्ने र अघि नबढाउने कार्य भए । सडक निर्माणमाथि भएको अराजनीतिक खेलले बुटवल शहर नै कुरूप बन्दै गएको छ । निर्माण कम्पनी द कञ्जनजंगा–विरुवा जेभीले पछिल्लोपटक म्याद थपको मौका पाउँदै आगामी असारसम्म निर्माण सक्ने जनाएको छ । तर, सडक निर्माण कार्य सकिने अवस्था भने, काम गराइको अवस्थाले देखिँदैन । सडक डिभिजन कार्यालय बुटवलले केही समयअघि किन ठेक्का नतोड्ने ? भन्ने सार्वजनिक सूचनासमेत जारी गरेको थियो ।

त्यसयता फेरि म्याद थप भई असारसम्मको मौका निर्माण कम्पनीले पाएको छ । सडक डिभिजन बुटवलका प्रमुख इञ्जिनियर होमबहादुर एमसीले सडक निर्माणका लागि कम्पनीसँग लिखित प्रतिबद्धता गराइएको बताउनुभयो । ‘निर्माण कार्यलाई तीव्रता दिने हो भने, तोकिएको समयमा सक्ने स्थिति छ’ एसीले भन्नुभयोे, ‘असारसम्म निर्माणको काम नसके कानुनी प्रक्रियामा हामी जान्छौँ ।’ सार्वजनिक खरिद ऐनअनुसार सडक विभागले धरौटी जफत गरेर ठेक्का रद्द गर्न सक्नेछ । यद्यपि, ठेक्का रद्द गर्दा सरकारको लागत झन् बढ्ने भएकाले निर्माणलाई नै अघि बढाउने रणनीति डिभिजन कार्यालयहरूले अपनाउने गरेका छन् ।

बुटवलको राजमार्ग चौराहादेखि गोलपार्कसम्मको सडक निर्माणका लागि कम्पनीले ५३ करोड ९७ लाख ९९ हजार रुपैयाँमा ठेक्का लिएको थियो । कम्पनीले हालसम्म १३ करोड बढी रकम भुक्तानी लिइसकेको प्रमुख एमसीले बताउनुभयो । हालसम्मको काम गरेका भुक्तानी समयमा पाउन नसक्दा कामले गति लिन नसकेको निर्माण कम्पनीको भनाइ छ । कम्पनीले पछिल्लो कामको भुक्तानी बेलहिया बुटवल खण्डको र राजमार्ग, चौराहा-गोलपार्कको गरी करिब ६ करोड बढी बाँकी रहेको डिभिजन प्रमुख एमसीले बताउनुभयो ।

केही कानुनी प्रक्रियाका कारण भुक्तानी ढिलो भएको तर, केही दिनमै भुक्तानी हुने प्रक्रियामा रहेको उहाँले बताउनुभयो । सडक विस्तारका लागि घर भत्काउन थालेपछि बुटवलको मुख्य व्यावसायिक केन्द्र ट्राफिक चोकमा ‘फेन्सी’ पसल गर्दै आउनुभएका वासुदेव बस्याल पसल बन्द गरेर विस्थापित हुनुभयो । बुटवलकै अर्को महत्वपूर्ण व्यापारिक केन्द्र राजमार्ग चौराहामा व्यापार गर्ने सुजन श्रेष्ठ सडककै कारण अप्ठ्यारोमा हुनुहुन्छ । उहाँले पनि व्यवसायीलाई बैंकको चर्को ब्याजदर, चर्को घर भाडा र सडक विस्तारको कामले व्यवसायमा अवरोधजस्ता कारणले कैयन व्यवसायी विस्थापित भएको र यो अवस्थामा बढ्दै गएको बताउनुभयो ।

ठेक्का सम्झौता भएदेखि सुरुमा सडक किनारामा बनेका घर र जग्गाधनी आफूहरूले क्षतिपूर्ति पाउनुपर्ने मागसहित कानुनी उपचारको खोजीमा जाँदा लामो समयसम्म सडक विस्तारको काम रोकिएको थियो तर निर्माण कम्पनीले त्यसबेला पनि कानुनी विवादको बहानमा विवाद नभएको क्षेत्रमा समेत काम अगाडि बढाएको थिएन । बुटवल मात्र होइन, यस कम्पनीले बेलहिया-बुटवल व्यापारिक मार्ग विस्तार आयोजनाअन्तर्गत तीनवटा ठेक्का लिएकोमा तीनवटै काम पूरा नगरेको सडक कार्यालयले जनाएको छ । यही कारण आर्थिक वर्ष २०६८/६९ मा सुरु भएको सडक अलपत्र छ । बरु नसकिँदै सडक विभिन्न ठाउँमा भासिन र भत्किन थालेको छ । लुम्बिनी प्रदेशको अस्थायी मुकाम रहेको बुटवलको बजार क्षेत्रकै सडकको यस्तो दुर्गतिले प्रदेशमा विकास निर्माणलाई गिज्याइरहेको बुटवलवासीको गुनासो छ । बुटवल-बेलहिया व्यापारिक मार्ग विस्तार आयोजनाले समयमा निर्माण नसक्दा यस्तो समस्या भएको सरोकारवाला बताउँछन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?