द्वन्द्वपीडित परिवारका सदस्यको मागः हाम्रा श्रीमान किन मारियो, जान्न पाउनुपर्छ

हिमालय टाइम्स
Read Time = 4 mins

काठमाडौं । द्वन्द्वपीडित संघर्ष समितिले संसदमा पेस भएको संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयक संशोधन गर्न माग गर्दै बिरोध प्रदर्शन गरेको छ ।

संघर्ष समितिले मंगलवार काठमाडौंको नयाँ बानेश्वरमा बिरोध प्रदर्शन गरेको हो । समितिले आफूहरुले शान्तिपूर्ण रुपमा २७ दिनसम्म आन्दोलन गर्दा पनि कुनै सम्बोधन नभएको भन्दै बाध्य भएर बिरोध गर्नुपरेको बताए । आन्दोलनका क्रममा सञ्चारकर्मीहरुसँग कुरा गर्दै द्वन्द्व पीडित परिवार सदस्य शोभा बिसीले टिआरसीसँग सम्बन्धित विधेयक पीडकलाई उन्मुक्ति दिने किसिमको रहेकाले संशोधनको माग गर्न आन्दोलन गरेको बताउनु भयो ।

उहाँले शान्तिपूर्ण रुपमा आन्दोलन गर्दा समेत राज्यले बल प्रयोग गरेको बताउनु भयो । उहाँले आन्दोलनमा उत्रिएका द्वन्द्व पीडितमध्ये ८ जनालाई प्रहरीले बल प्रयोग गरेर नियन्त्रणमा लिएको बताउनु भयो । उहाँले द्वन्द्वकालमा आफ्ना श्रीमान किन मारेको ? भन्दै सरकासँग प्रश्न गर्नुभयो । उहाँले श्रीमान मारिको कारण आफूहरुले जान्न पाउनुपर्ने भन्दै पीडकलाई उन्मुक्ति दिने किसिमको विधेयक ल्याए आफूहरुको बिरोध जारी रहने चेतावनी दिनुभयो । उहाँले विधेयक संशोधन गर्न समिति बनाएर छलफल गरोस् भन्ने पीडितहरुको माग रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘हामी २७ दिन भयो टिआरसी सम्बन्धी विधेयक जुन सरकारले अहिले ल्याएको छ, हामीले शान्तिपूर्ण ध्यानाकर्षण गराउँदा पनि राज्यले बल प्रयोग गरेको छ । हामी माओवादी पीडित परिवारहरु हो । सुरक्षाकर्मी परिवार र सिभिल परिवार पनि हुनुहुन्छ । प्रहरीले अहिले मात्रै ८ जना साथीहरुलाई भित्र लगिसकेको छ । हाम्रो संयोजक रिता कार्कीसहितलाई नियन्त्रणमा लिएको छ । २७ दिनसम्म पनि सरकारले हाम्रो कुरा नसुनिसकेपछि विधेयकमा पीडकलाई उन्मुक्ति दिने कुरा छ । हाम्रा श्रीमान किन मारियो, हामीले जान्न पाउनुपर्छ, त्यस्तो खालको विधेयक ल्याइन्छ भने त्यसको घोर बिरोध गर्दछौँ । राज्यले उहाँहरुलाई अर्को आरोप लगाएर भित्र राख्ने काम गर्नसक्छ, त्यस्तो भए हाम्रो अर्को बिरोध शुरु हुन्छ । यो विधेयक संशोधन गर्न समिति बनाएर छलफल गरोस् भन्ने हाम्रो माग हो ।’

प्रदर्शनमा उत्रिएकाहरुले पीडकलाई उन्मुक्ति दिन ल्याइएको विधेयक संशोधन गर्, सरकार मेरो पति खोई ? लुटिएको सम्पती फिर्ता गर्, पीडितलाई परिपूरणको ग्यारेन्टी गर्, द्वन्द्वका पीडितलाई कतिन्जेल ढाँट्छौ ? घाईते, अपाङ्ग र अशक्त पारिएकाहरुको उपचारको ग्यारेन्टी गर् लगायतका प्लेकार्ड बोकेर बिरोध प्रदर्शन गरेका थिए ।

केही समय यता द्वन्द्वपीडित सुरक्षाकर्मी परिवार संस्था लगायत द्वन्द्वपीडित परिवारका सदस्यहरुले टिआरसीसँग सम्बन्धित विधेयकको बिरोध गर्दै आएका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?