डिआइजीमा बढुवा सिफारिस खनालविरुद्ध दुई जनाको लोकसेवामा उजुरी

यज्ञराज पाण्डे
Read Time = 4 mins

काठमाडौं । नेपाल प्रहरी नायव महानिरीक्षक (डिआइजी)को रिक्त संख्या १३ मा बढुवा सिफारिसविरुद्ध उजुरी परेको छ । बढुवाका लागि दाबेदार रहनुभएका दुई एसएसपीले आफूहरूको नाम नसमेटिएको भन्दै लोकसेवा आयोगमा मंगलबार उजुरी दिनुभएको हो । प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)द्वय चक्रबहादुर सिंह र अनुराग द्विवेदीले डिआइजीमा बढुवा भएकाहरूको सिफारिसविरुद्ध लोकसेवा आयोगमा उजुरी गर्नुभएको हो । आफूभन्दा पछिल्लो ब्याचका एसएसपी विकासराज खनाललाई समेत डिआइजी बढुवा सिफारिस गरिएपछि उहाँहरू प्रहरी प्रधान कार्यालयको निर्णयविरुद्ध लोकसेवामा पुग्नुभएको हो ।

यो उजुरीसँगै यदि सरकारले बुधबारसम्म यो सिफारिसमा बढुवा निर्णय नगरेमा खनाल ५५ वर्षे उमेर हदका कारण एसएसपीबाटै बुधबारदेखि अवकाशमा जाने सम्भावना बढेको छ । यो उजुरीबारे लोकसेवा आयोगले बुधबार नै नटुंग्याए एसएसपीको ५५ वर्षे उमेर हदका कारण खनाल अवकाशमा जानुहुनेछ । अर्कातिर सरकारले आज (बुधबार) सम्ममा बढुवाको निर्णय गरेमा उहाँ बढुवा भएर जागिर अवधि पनि लम्बिनेछ । त्यसो हुन सकेमा उहाँ डिआइजीका रूपमा कार्यरत रहन पाउनुहुनेछ ।

बढुवा समितिको चैत २९ गते बसेको बैठकको सिफारिसअनुसार गृह मन्त्रालयले सूची प्रकाशित गरेको थियो । प्रहरी नियमावली, २०७१ (संशोधनसहित) को नियम २७ को उपनियम (४) अनुसार मन्त्रालयले बढुवा सिफारिस सूची प्रकाशित गरेको थियो । बढुवाका लागि सिफारिस भएका एसएसपीहरूमा कुवेर कडायत, केदार ढकाल, विष्णुबहादुर केसी, भरतबहादुर बोहरा, रवीन्द्र केसी, राजेशनाथ बास्तोला, चन्द्र कुवेर खापुङ, जनक भट्टराई, लालमणि आचार्य हुनुहुन्छ । यस्तै, सुरेन्द्रप्रसाद मैनाली, अर्जुन चन्द ठकुरी, यज्ञ विनोद पोखरेल र विकासराज खनालको नाम पनि सिफारिस भएको थियो । सिफारिस सूचीमा कडायतको नाम पहिलो नम्बरमा रहँदा दाबेदार मानिनुभएका द्विवेदी र सिंहको नाम भने समेटिएको थिएन ।

सरकारले यसअघि गत चैत १९ गते २०५१ सालमा प्रहरी निरीक्षकमा भर्ना भएका र त्यही विज्ञापनका वैकल्पिकहरूलाई डिआइजी बढुवामा सिफारिस गरेको थियो । अर्कातिर बढुवा समितिले २०७७ वैशाखमा एसएसपी भएका १० जना डिआइजीका लागि सिफारिस हुँदा पछिल्लो ब्याचबाट तीनजना परेका थिए । त्यसपछि २०७७ पुसमा ११ एसपीबाट एसएसपीमा बढुवा भएका थिए । उहाँहरू मध्येबाट अर्जुन चन्द ठकुरी र सुरेन्द्रप्रसाद मैनाली डिआइजी बढुवाका लागि सिफारिस हुनुभएको थियो ।

उजुरी हाल्ने एसएसपी सिंह ठकुरी र मैनालीसँगै एसएसपीमा बढुवा हुनुभएको थियो । द्विवेदी भने खनालकै ब्याची हुनुहुन्छ । उहाँ खनालसँगै २०७८ कात्तिकमा एसएसपी हुनुभएको थियो । त्यसबेला खनाल एक नम्बरमा र द्विवेदी दुई नम्बरमा रहँदै एसएसपी बन्नुभएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?