घरभाडामा सकेसम्म अधिकतम छुट दिन घरधनीलाई संगठनको आग्रह

Read Time = 5 mins

रुपन्देही । चेम्बर अफ कमर्स, रुपन्देही (उद्योग व्यापार संगठन, रुपन्देही) घरभाडामा सकेसम्म अधिकतम छुट दिन घरधनीलाई आग्रह गरेको छ । उद्योगी व्यवसायीको प्रतिष्ठानलाई जीवित राख्नको लागि सक्दो सहयोग गर्ने संगठनले धरधनीहरुलाई आग्रह गरेको हो ।

संगठनले एक विज्ञप्ती जारी गर्दै उद्योग व्यापार व्यवसाय नै नरहेको खण्डमा आइरहेको घरभाडा पनि बन्द हुने र थप आर्थिक मन्दीहुने भएकाले अहिलेको परिस्थितिलाई मध्यनजर गरी घरभाडामा सकेसम्म अधिकतम छुट दिइ सहयोग गर्न आग्रह गरेको छ ।

समग्र देशको आर्थिक अवस्था अत्यन्त भयावह भएको हुँदा उद्योग, व्यापार, व्यवसाय क्रमिक रुपमा विस्थापित हुँदै गइरहेको अवस्थामा उनीहरुलाई स्थापित गरी बजार चलायमान गर्नको लागि बैंक तथा वित्तीय संस्थाहरुले किस्ता रकमलाई २ वर्ष पछाडि लिने गरी कर्जाको व्याज क्रमिक रुपमा लिदै जान व्यवस्था गर्नको लागि संगठनले आग्रह गरेको छ ।

संगठनका अध्यक्ष अनिलकुमार ज्ञवालीले उद्योगी व्यवसायीलाई आतंकित बनाइ डर, धम्की देखाएर कर्जा असुल गर्ने कार्य तत्काल बन्द गरी लिलाम प्रक्रियामा गएका सम्पूर्ण कार्यहरु स्थगित गर्न विज्ञप्तीमार्फत् आग्रह गर्नु भएको छ ।

‘विगत केहीवर्षदेखि कोभिड-१९ को प्रकोप आर्थिक मन्दी उत्पादनमा कमी, व्यापार, व्यवसायमा कमीलगायत कारणले व्यापार व्यवसाय, उद्योग तथा कलकारखानाहरु धराशाही हुँदै क्रमिक रुपमा बन्द भइरहेका छन् । बजारमा लगभग ३० प्रतिशत उद्योगी व्यवसायी विस्थापित भइसकेका छन् । व्यवसायी प्रतिष्ठानका घर तथा सटरहरु खाली हुने क्रम तीव्र गतिमा बढिरहेका छन् । बैंकलगायत वित्तीय संस्थाले धेरैका घरजग्गाहरु लिलाम विक्रीको लागि प्रक्रियागत रुपमा अगाडि बढाएका छन्, ’विज्ञप्तीमा उल्लेख छ ।

‘यस्तो भयावह अवस्थालाई मध्यनजर गर्दै उद्योग व्यापार संगठन, रुपन्देहीले देशको संकटको विषयमा गम्भिर भइ जटिल अवस्थामा मुलुकको अर्थतन्त्र सुधार गरी चलायमान गर्न गराउनको लागि सम्बन्धित पक्षलाई ध्यानाकर्षण गराउँदछ । बढ्दो आर्थिक मन्दीबाट आम उपभोक्ता, घरधनी र बैंक तथा वित्तीय संस्थालाई प्रत्यक्ष असर परेको हामी सबै जानकार छौं, ’अध्यक्ष ज्ञवालीले भन्नुभयो ।

बचतकर्ताहरुले जम्मा गरेको बचतको सम्झौता बमोजिमको व्याज र सावा दिनुपर्ने बैंकको बाध्यता तथा घरधनीले बैंकबाट कर्जा लिएर उद्योगी व्यवसायीले निर्माण गरेका विभिन्न उद्योगी व्यवसायीले प्रतिष्ठानहरुको नियमित व्याज र किस्ता तिर्नुपर्ने बाध्यता रहेको अध्यक्ष ज्ञवालीले बताउनु भयो ।

बढ्दो आर्थिक मन्दीबाट व्यापार नभए पनि घरभाडा लिएर व्यवसाय सञ्चालन गरेका उद्योगी व्यवसायीहरु आफ्नो व्यवसाय बन्द गर्ने अवस्था बढ्दै जाँदा बजार विस्थापित हुने क्रम बढ्दो रहेको उहाँको भनाइ छ ।

यो स्थितिलाई मनन गर्दै खस्कदै गइरहेको उद्योग र व्यापारलाई सञ्चालन हुने अवस्थाको सिर्जना गर्नु आजको आवश्यकता रहेको अध्यक्ष ज्ञवालीले बताउनु भयो । बुटबल भैरहवालगायका सहरमा सटर धमाधम खाली भएको छ भने बिभिन्न संग संगठनहरुले बिज्ञप्ती जारी गर्दै भाडा घटाउन आग्रह गरेका छन ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?