यत्रो सयमसम्म सरकारले पूर्णता नपाउनु लज्जाको विषय : महासचिव चन्द

हिमालय टाइम्स
Read Time = 4 mins

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दले देश सरकारबिहीन भएको टिप्पणी गर्नुभएको छ ।
राजनीतिक अस्थिरता, आथिर्क संकट र सञ्चारको दायित्व विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै बुधवार महासचिव चन्दले यस्तो टिप्पणी गर्नुभएको हो ।

उहाँले मंसिरमा भएको चुनावदेखि आजसम्म पनि सरकारले पूर्णता नपाउनु भनेको सरकार नहुनु सरह रहेको जिकिर गर्नुभयो । उहाँले प्रधानमन्त्रीले नै १६ वटासम्म मन्त्रालय हेर्ने स्थिति आउनु लज्जाको विषय भएको बताउनु भयो । उहाँले अहिले पनि सरकारको आयु तोकेरै भन्ने गरिएको भन्दै नयाँ नेताहरु नयाँ दौरा सुरवाल सिलाउन लागेको बताउनु भयो ।

उहाँले अहिलेको परिवेशले नेपालमा राजनीतिक अस्थिरता अझै बढेर जानेकुरा चित्रित गरेको बताउनु भयो । उहाँले देशमा गणतन्त्र आएको १५ वर्ष झगडामा बिताएर अहिले जनता र अन्य कारण देखाएर पन्छिन नमिल्ने बताउनु भयो । महासचिव चन्दले देशमा संकट विद्यमान रहेकाले के हुन्छ भनिहाल्ने अवस्था नरहेको बताउनु भयो ।

उहाँले नेपालमा राजतन्त्र हुँदा समेत आर्थिक मन्दीको अहिलेको अवस्था भोग्नु नपरेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘आज सरल ढंगले हाम्रो छलफल हुने गरेको छ, नेपालको राज्य प्रणाली जहाँनेर गएर अफ्ठ्यारोमा परेको छ, अहिले संकटमा परेको छ । त्यो बारेमा छलफल सहज भएको छ । अहिले हामीलाई मान्छेले भनेबापत आपत्ति जनाउँदैनन् । मंसिरमा चुनाव भएको हो, अहिलेसम्म सरकार बन्न सकेको छैन । मन्त्रालय फालाफाल छन् । कोही के भनेको छ, कोही के भनेको छ, एक हिसावले भन्दा सरकार नै छैन । प्रधानमन्त्रीले १६ वटा मन्त्रालय हेर्ने समय पनि थियो । एक,दुई दिन हो तर लामो समयसम्म भनेको त के हो ? आज भोलि यो सरकार पनि कति महिना ? कति दिन भन्ने चर्चा छ । घोषित नै ढंगले पनि दुई वर्ष भनिरहेका छन् । संकटकै कुरा भन्दा पनि कति बेला के हुन्छ भन्नेजस्तो छ । हतार भएका साथीहरु दौरा सुरुवाल अर्को ढंगले सिलाउनुपर्ने भइसकेको छ, हामी त्यो देख्छौँ । अर्को केही तयारीमा लाग्नुभएको छ । यो नेपालको परिवेशले अस्थिरतालाई देखाउँछ । १५ वर्ष झगडामा बिताएर जनतालाई दोष दिन मिल्छ, राज्य त कुनै न कुनै हिसावले चल्यो नि त । पञ्चायतको भन्दा पनि तल पुगेको छौँ । नेगेटिभ पार्टबाट हेर्दा पञ्चायतमा राजनीतिमा तानाशाही किसिमले निरंकुश भएपनि आर्थिक क्षेत्रले हेर्दा आजको जस्तो दिनमा आइपुगेको त थिएन । अहिले त नेपालको उत्पादनले तीन महिना पनि पुग्दैन । आफ्नो उत्पादन नै छैन, सबै आयात गरेर खानुपर्नेछ ।’

महासचिव चन्दले नेपालको उत्पादनले तीन महिना पनि नधान्ने स्थिति रहेको भन्दै उत्पादनमा जोड नदिनेहरुबाट राज्य सञ्चालन हुनै नसक्ने बताउनु भयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?