युएईको सानदार सुरुवात

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । युनाइटेड अरब इमिरेट्स (युएई) ले एसिसी प्रिमियर कपमा कुवेतलाई १४३ रनले पराजित गरेको छ । नेपालमा जारी प्रतियोगिताको समूह ‘बी’ मा रहेको युएईले दिएको ३७२ रनको विशाल लक्ष्य पछ्याएको कुवेत ३६.३ ओभरमा २२८ रनमा समेटियो ।

कुवेतका लागि नवौँ नम्बरका ब्याटर सैयद मोनिबले ३६ बलमा ५ चौका र ६ छक्कासहित ६८ रनको आक्रामक इनिङ खेले पनि जितका लागि पर्याप्त भएन । यस्तै, परविन्दर कुमारले २६ बलमा १ चौका र ७ छक्कासहित ५३ रनको अर्धशतकीय पारी खेल्नुभयो । त्यसबाहेक सचित शर्मा १०, उस्मानगानी इब्राहिमले १६ रन जोड्नुभयो ।

युएईका जैनुद सिद्दिकले ७ ओभरमा ३२ रन खर्चेर ३ विकेट लिनुभयो । कार्तिक मयाप्पनले ७ ओभरमा ६३ रन खर्चेर ३ विकेट लिनुभयो । सञ्चित शर्मा, आयन खान, जहुर खान र रोहन मुस्तफाले समान एक विकेट लिनुभयो । त्यसअघि टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको युएईले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै ३७१ रन बनाएको थियो ।

युएईको जितमा युवा खेलाडी वृत्य अरविन्दले १४७ बलमा १७ चौका र ९ छक्कासहित १८५ रनको विस्फोटक शतकीय इनिङ खेल्नुभयो । त्यसबाहेक अनुभवी ब्याटर रोहन मुस्तफाले १२५ बलमा १० चौका र ४ छक्कासहित ११८ रन बनाउनुभयो । रोहन मुस्तफा र वित्य अरविन्दले २७५ रनको दोहोरो शतकीय साझेदारी गरेपछि युएईले उक्त स्कोर बनाएको हो । त्यसबाहेक युएईका आसिफ खानले ९ बलमा २ चौका र ३ छक्कासहित ३० रन बनाउनुभयो । कुवेतका प्रविन्दर कुमारले ३ ओभरमा ४५ रन खर्चेर २ तथा शाहरूखले ८ ओभरमा ६० रन खर्चेर २ विकेट लिनुभयो ।

नेपालले मंगलबार मलेसियालाई हराउँदै प्रतियोगिताको सुरुवात गरिसकेको छ । एसिसी प्रिमियर कपको समूह ‘ए’ मा घरेलु टोली नेपालसँगै ओमान, कतार, मलेसिया र साउदी अरब छन् । समूह ‘बी’ मा युएई, हङकङ, कुवेत, सिंगापुर र बहराइन छन् । प्रतियोगिता वैशाख ५ देखि १८ गतेसम्म टियु र मूलपानीमा हुनेछ । प्रतियोगिताको उपाधि जित्ने टोलीले आगामी सेप्टेम्बरमा पाकिस्तानमा हुने एसिया कप खेल्न पाउनेछन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?