अपांग संघद्वारा ध्यानाकर्षणपत्र हस्तान्तरण

Read Time = 4 mins

काठमाडौं । राष्ट्रिय शारीरिक अपांग संघ-नेपालको नेतृत्वमा अपांगता भएका व्यक्तिहरूले भूकम्प प्रविधि राष्ट्रिय समाज-नेपाल (एनसेट) मा ध्यानाकर्षणपत्र हस्तान्तरण गरेको छ । राष्ट्रिय शारीरिक अपांग संघ-नेपालका अध्यक्ष किरण शिल्पकारले भूकम्प प्रविधि राष्ट्रिय समाज-नेपालका कार्यकारी निर्देशक सूर्यनारायण श्रेष्ठलाई एक ध्यानाकर्षणपत्र बुझाउँनु हुँदै भूकम्पमा अपांगता भएका व्यक्तिहरू बढी जोखिममा पर्ने हुनाले अपांगता भएका व्यक्तिहरूको समस्याप्रति संवेदनशील भएर सम्बोधन गर्न अनुरोध गर्नु भएको छ ।

ध्यानाकर्षणपत्रमा उल्लेख गरिएका मुख्य कुरामा अपांगता भएका व्यक्तिहरूको अधिकारसम्बन्धी महासन्धि २००६, अपांगता भएका व्यक्तिहरूको अधिकारसम्बन्धी ऐन–२०७४ तथा नियमावली २०७७, अपांगता भएका व्यक्तिहरूका लागि पहुँचयुक्त भौतिक संरचना तथा सञ्चार सेवा निर्देशिका-२०६९ को कार्यान्वयनका लागि सम्बन्धित निकायमा सिफारिश गर्नुपर्ने, विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनसम्बन्धी ऐन, नियमावली, निर्देशिक तथा रणनीतिहरू कार्यान्वयनमा जोड दिनुपर्ने, विपद् र भूकम्पका विषयमा पूर्वतयारीका चेतनामूलक तथा अन्य तालिममा सहकार्य गर्ने/गराउने रहेको छ ।

साथै भूकम्प प्रविधि राष्ट्रिय समाज-नेपालबाट उत्पादन गरेका सामग्रीहरू अपांगता भएका व्यक्तिलाई केन्द्रित गरी उनीहरूले प्रयोग गर्नसक्ने बनाउँने, अपांगताको सवालमा भूकम्प प्रविधि राष्ट्रिय समाज-नेपालबाट हुने गरेका तालिममा अपांगता भएका व्यक्तिहरूको संस्थागत र व्यक्तिगत सहभागिता गर्ने/गराउने र रोष्टर तयार गर्ने, अपांगता भएका व्यक्तिहरूलाई उनीहरू क्षमतानुसार रोजगारीका लागि पहल गर्ने/गराउनेलगायत छन् ।

ध्यानाकर्षणपत्रमा उल्लेख गरिएका कुराहरू तथा छलफलमा उठेका कुराहरूलाई सम्बोधन गर्दै भूकम्प प्रविधि राष्ट्रिय समाज-नेपालका कार्यकारी निर्देशक सूर्यनारायण श्रेष्ठले यस संस्था स्थापना हुँदादेखि नै अपांगता भएका व्यक्तिहरूको समस्याप्रति संवेदनशील रहेको बताउँनु हुँदै अपांगता सवालमा केही कामहरू गरिरहेको र भविष्यमा अझै बढी संवेदनशील भएर काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । छलफलमा भूकम्प प्रविधि राष्ट्रिय समाज-नेपालका निर्देशक डा.गणेशकुमार जिमी तथा कार्यक्रम संयोजक प्रनव दाहाललगायत अपांगता भएका व्यक्तिहरूको सहभागिता थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?