अख्तियारद्वारा चावहिलका तत्कालीन प्रमुख नापी अधिकृतसहित आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । अख्तियार अनुसन्धान दुरुपयोग आयोगले नापी कार्यालय चावहिलका तत्कालीन प्रमुख नापी अधिकृतसहित आठ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । जग्गाको नक्सा आफूखुसी जोडेको र नक्सामा नभएको क्षेत्रफललाई कानुनविपरीत कित्ताकाट गरेको भन्दै नापी कार्यालय चावहिलका तत्कालीन प्रमुख नापी अधिकृत दुर्गादास महर्जनसहित आठ जनाविरुद्ध अख्तियारले मुद्दा दायर गरेको हो ।

अख्तियारले नापी कार्यालय चावहिलका तत्कालीन प्रमुख नापी अधिकृत दुर्गा दास महर्जन, नापी अधिकृत रवि शंकर पाण्डेय र सर्भेक्षक रामनारायण यादवले मूलपानी १ख कि.नं. ७०८, ७०९, ६६६ र ८१३ को कित्ताकाट गर्ने क्रममा सरकारी कागजातको रूपमा चिनिने नक्सामा अनाधिकृत रूपमा कित्ताहरूको आकारप्रकार परिवर्तन गरी नक्सा सच्याएको आरोप लगाएको छ ।

यो कार्यमा मालपोत चावहिलका तत्कालीन मालपोत अधिकृत विष्णुप्रसाद काफ्ले र नायव सुब्बा उत्तम कुँवर तथा झापाको कमल गाउँपालिका–२ का योगेन्द्र आचार्य, काठमाडौं कागेश्वरी मनोहरा-९ का सीताराम अधिकारी र काठमाडौं महानगरपालिका-९ का नवीन दाहालको पनि संलग्नता रहेको अख्तियारको दाबी छ ।

आचार्य, अधिकारी र दाहालले टायल चेकबाट क्षेत्रफल बढी कायम गरी नक्सा तयार गर्ने कार्यमा नापी कार्यालय, चावहिलका कर्मचारीहरूलाई परिवर्तित नक्सा बमोजिमको क्षेत्रफल कायम गरी गलत लिखत पारित गर्न मतियारको रूपमा सहयोग पुर्‍याएको अख्तियारको आरोप छ ।

उनीहरूलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २२ को प्रतिबन्धात्मक वाक्यांशमा उल्लेख भएबमोजिम मुख्य कसुरदारलाई हुने सजायसरह सजाय हुन मागदाबी लिइएको अख्तियारका प्रवक्ता भोला दाहालले बताउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?