मौन अवधिमा हुने चलखेल रोक्न विशेष संयन्त्रमार्फत सूक्ष्म अनुगमन, आचारसंहिता नमान्नेलाई कब्जामा लिन निर्देशन

अनिल क्षेत्री
Read Time = 11 mins

काठमाडौं । निर्वाचन आयोगले यही वैशाख १० गते (आइतबार) हुने उपनिर्वाचनको आचारसंहिता विपरीतका गतिविधि कडाइका साथ अनुगमन र निगरानी गर्न सरोकारवालालाई निर्देशन दिएको छ । आयोगले शुक्रबार पाँच बुँदे निर्देशन जारी गर्दै आचारसंहिता विपरीतका गतिविधि गर्नेलाई मतदान सम्पन्न नभएसम्म कब्जामा लिई कारबाही गर्नसमेत भनेको छ । यही वैशाख १० गते आइतबार तनहुँ क्षेत्र नं. १, चितवन क्षेत्र नं. २ र बारा क्षेत्र नं. २ मा उपनिर्वाचन हुँदै छ । निर्वाचन आचारसंहिता,२०७९ मा भएको व्यवस्थाबमोजिम मतदान हुने दिनभन्दा ४८ घण्टा अघि अर्थात् बिहीबार राति १२ बजेदेखि मतगणनाको काम सम्पन्न नभएसम्म प्रचारप्रसार गर्न निषेध गरिएको छ । मौन अवधिमा उम्मेदवारको पक्ष वा विपक्षमा कुनै पनि प्रकारको प्रचारप्रसार गर्न, मत माग्न, एसएमएस, फेसबुक, भाइबरजस्ता विद्युतीय माध्यम तथा सामाजिक सञ्जालबाट मत माग्न पाइँदैन ।

सुरक्षा व्यवस्थापन अनुगमन संयन्त्र स्थापना
निर्वाचन आयोगले आइतबार हुने उपनिर्वाचनलाई स्वच्छ, स्वतन्त्र एवं भयरहित वातावरणमा सम्पन्न गर्नका लागि मिलाइएको व्यवस्था प्रभावकारी बनाउन निर्वाचन आयोगमा शुक्रबारदेखि उपनिर्वाचन सुरक्षा व्यवस्थापन अनुगमन संयन्त्र स्थापना गरेको छ । गृह मन्त्रालयका सहसचिव जितेन्द्र बस्नेत संयोजक रहनुभएको उक्त संयन्त्रमा नेपाली सेनाका महासेनानी भेषबहादुर केसी, नेपाल प्रहरीका प्रहरी वरिष्ठ उपरीक्षक सुरेन्द्रबहादुर गुरुङ, सशस्त्र प्रहरी बलका सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक दिगविजय सुवेदी र राष्ट्रिय अनुसन्धान विभागका सहअनुसन्धान निर्देशक भूमिप्रसाद पाठक रहनुभएको छ । संयन्त्रको कार्यारम्भ भएको अवसरमा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले उपनिर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय, पारदर्शी तथा भयमुक्त वातावरणमा सम्पन्न गर्न/गराउन निर्देशन दिनुभयो । उक्त संयन्त्र यही वैशाख ११ गतेसम्म कायम रहनेछ ।

उपनिर्वाचन लक्षित पाँच बुँदे निर्देशन
निर्वाचन आयोगले उपनिर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सम्बन्धित निकायलाई पाँच बुँदे निर्देशन जारी गरेको छ ।

१. नेपाल प्रहरी तथा राष्ट्रिय अनुसन्धान विभागका सम्बन्धित सबै एकाइ, आयोगबाट खटिएका विशेष अनुगमन टोली, जिल्ला आचारसंहिता अनुगमन समितिका पदाधिकारी र अनुगमन अधिकृतले नियमित र सघन अनुगमन गरी निर्वाचनको स्वच्छता, स्वतन्त्रता, निष्पक्षता कायम गर्ने ।

२. उपनिर्वाचन हुने सम्बन्धित जिल्लाका निर्वाचन क्षेत्रका राजनीतिक दल, उम्मेदवार, उम्मेदवारका प्रतिनिधि, मतदाता, निर्वाचनमा खटिएका कर्मचारी, सुरक्षाकर्मी, पर्यवेक्षक, सञ्चारकर्मी तथा निर्वाचनमा संलग्न व्यक्ति, संघ÷संस्था र निकाय बाहेक निर्वाचन कार्यसँग असम्बन्धित बाह्य जिल्ला वा क्षेत्रका व्यक्ति र व्यक्तिहरूको अवाञ्छित आवागमन र अनधिकृत गतिविधिलाई कानुनबमोजिम नियन्त्रण गर्ने ।

३. बुँदा नं. २ मा उल्लेखित अवाञ्छित आवागमन र गतिविधि भई निर्वाचनको स्वच्छता र मर्यादामा प्रतिकूल असर पर्ने अवस्था देखिएमा अनुगमनमा खटिएका टोली र सम्बन्धित सुरक्षा निकायले नियन्त्रणमा लिइ कानूनबमोजिम कारबाही प्रक्रिया अघि बढाउने ।

४. निर्वाचन (कसुर तथा सजाय) ऐन, २०७३ को दफा २१ बमोजिम उम्मेदवार वा निर्वाचन प्रतिनिधि वा अन्य कुनै व्यक्तिले निर्वाचन अवधिभित्र कुनै मतदातालाई निजको मतदानको अधिकार प्रयोग गर्न वा नगर्नको लागि वा मतदानको अधिकार प्रयोग गरे वा नगरेबापत उपहार, पुरस्कार, इनाम, दानदातव्य वा बकसको रूपमा नगद वा जिन्सी दिन वा दिन मञ्जुर गर्न वा सार्वजनिक भोज आयोजना गर्न र मतदाताले पनि त्यस्तो प्रयोजनको लागि त्यस्तो नगद वा जिन्सी लिन वा लिन मञ्जुर गर्न र सार्वजनिक भोजमा सहभागी हुने जस्ता कार्य निर्वाचन कसुर भएकाले त्यस्तो कार्य कहीँ कतै भए गरेको पाइएका कानुनबमोजिम तत्काल कारबाही गर्ने ।

५. निर्वाचन आचारसंहिता, निर्वाचन आयोग तथा जिल्ला सुरक्षा समितिको निर्णय तथा अनुमति विपरीत निर्वाचनका क्रममा राजनीतिक दल वा उम्मेदवार वा निर्वाचन प्रतिनिधि वा अन्य कुनै व्यक्तिले सवारी साधन प्रयोग गरेको पाइएमा त्यस्तो सवारी साधन मतदान सम्पन्न नभएसम्म कब्जामा लिइ आवश्यक कारबाही गर्ने व्यवस्था मिलाउने ।

स्वर्णिम वाग्लेका बाआमाले चढ्दै आएको गाडी तोडफोड
वैशाख १० गते हुने उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार स्वर्णिम वाग्लेका बाआमाले चढ्दै आएको गाडी तोडफोड भएको छ । बिहीबार राति पार्किङ गरेर छाडेको कार बिहान तोडफोड भएको अवस्थामा भेटिएको वाग्लेका भाइ अञ्जित अर्यालले बताउनुभयो । अर्याल उम्मेदवार वाग्लेका ठूलीआमाका छोरा हुनुहुन्छ । अर्यालले चैत २७ गते चितवनदेखि वाग्लेका बाबुआमालाई तनहुँ ल्याउनुभएको थियो । निर्वाचनको समयमा वाग्लेका बाबुआमालाई चुनावी प्रचारमा लिएर हिँड्दै आउनुभएको थियो । होटेल अगाडि पार्किङ गरेर राखिएको बा११च ४२५० नम्बरको कारको तोडफोड भएको हो । कारको सिसा तोडफोड भएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरीका अनुसार कार दिलकुमारी खनालको नाममा छ । खनाल वाग्लेकी आमा हुन् ।

स्वर्णिमको जित प्रक्षेपण गर्ने अनलाइनविरुद्ध कांग्रेस उम्मेदवार भट्टराईको उजुरी
तनहुँ १ मा नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईले निर्वाचन आयोगमा उजुरी दिनुभएको छ । एक अनलाइनले उपचुनावमा मतदातालाई भ्रम पार्ने गरी जनमत सर्भेक्षण सार्वजनिक गरेको भन्दै भट्टराईले सो अनलाइनविरुद्ध उजुरी दिनुभएको हो । उक्त अनलाइनले तनहुँ १ मा रास्वपाका उम्मेदवार स्वर्णिम वाग्लेको जित निश्चित भएको प्रक्षेपण गरेको थियो । मतदातालाई प्रभावमा पार्ने गरी घण्टीबाहक उम्मेदवारको पक्षमा माहोल बनाउन निर्वाचनको चार दिन अगाडि नियोजित षड्यन्त्रका रूपमा समाचार प्रकाशन गरिएको भट्टराईको आरोप छ । भट्टराईले दिएको उजुरीमा भनिएको छ, ‘मत सर्वेक्षण भनी समाचार प्रकाशन गरिएको हुँदा निर्वाचन आचारसंहिता ऐन २०७९ को दफा ३ (ण), ४ को (ज) (ट) (७) (ड। (त) दफा २५ बमोजिम कसुर गरेको हुँदा ऐ.को दफा ४५ बमोजिम उजुरी दिएको र सो उपर सो उपर दफा ४६ र दफा ४९ बमोजिम कारबाही गरी पाऊँ ।’ यसअघि प्रेस काउन्सिल नेपालले उपनिर्वाचनमा निश्चित दल र उम्मेदवारको पक्षपोषण गरेको भन्दै सो अनलाइनलाई २४ घण्टे स्पष्टीकरण सोधिसकेको छ । आचारसंहिता उल्लंघन गर्ने मिडियालाई कारबाही गर्ने काउन्सिलको चेतावनी छ ।

उपनिर्वाचनले त्रिविको वैशाख १० को परीक्षा सर्‍यो
त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले आगामी वैशाख १० गते हुने भनिएको परीक्षा वैशाख १६ गतेका लागि सारेको छ । चितवन-२, तनहुँ-१ र बारा-२ मा वैशाख १० गते उपनिर्वाचन हुँदै छ । वैशाख ४ गतेदेखि स्नातक तह पहिलो वर्षको परीक्षा सुरु भएको छ । १० गते व्यवस्थापन र मानविकी संकायको केही विषयका परीक्षा सञ्चालन गर्ने कार्यतालिका थियो । निर्वाचन आयोग, गृह र शिक्षा मन्त्रालयको आग्रहमा उक्त दिनको परीक्षा वैशाख १६ गते सोही समय र परीक्षा केन्द्रमा सञ्चालन हुने परीक्षा नियन्त्रक पुष्पराज जोशीले जानकारी दिनुभयो । त्रिवि केन्द्रीय परीक्षा सञ्चालक समितिले परीक्षाको मिति सार्ने निर्णय गरेको हो । अन्य दिनको परीक्षा भने पूर्वप्रकाशित रुटिनअनुसार नै हुने कार्यालयले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?