बारा-२, चितवन-२ र तनहुँ-१ मा मतदान सुरु

हिमालय टाइम्स
Read Time = 5 mins

काठमाडौं । प्रतिनिधिसभातर्फ रिक्त रहेको तीन निर्वाचन क्षेत्रमा उपनिर्वाचनका लागि मतदान सुरु भएको छ । बिहान ७ बजेदेखि मतदान सुरु भएको हो । मतदान साँझ ५ बजे सम्म चल्नेछ ।

बारा निर्वाचन क्षेत्र नं २, चितवन निर्वाचन क्षेत्र नं २ र तनहुँ निर्वाचन क्षेत्र नं १ मा प्रतिनिधिसभा सदस्य चयनका लागि मतदान सुरु भएको हो ।

तीनवटै निर्वाचन क्षेत्रमा स्वतन्त्रसहित प्रमुख दलका उम्मेदवारहरू चुनावी मैदानमा छन् ।

एक लाख पाँच हजार मतदाता रहेको बारा-२ मा ३४ जनाले उम्मेदवारी दिए पनि मूलतः जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, एमालेका पुरुषोत्तम पौडेल र जनमत पार्टीका शिवचन्द्र कुशहवा चुनावी मैदानमा हुनुहुन्छ । यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट गत मंसिरमा काठमाडौं–१ बाट चुनावमा पराजित हुनुभएका रमेश खरेल प्रतिस्पर्धामा रहनुभएको छ । गत मंसिरमा निर्वाचित जसपा नेता रामसहायप्रसाद यादव उपराष्ट्रपति बनेपछि बारा-२ मा उपनिर्वाचन गर्नुपर्ने भएको हो ।

यसैगरी, मंसिरमै निर्वाचित रास्वपा सभापति रवि लामिछाने नागरिकता प्रकरणमा सर्वोच्च अदालतबाट दोषी ठहर भई सांसद पद खारेज भएपछि चितवन-२ मा उपचुनाव हुन लागेको हो । एक लाख २४ हजार ६४६ मतदाता रहेको यो निर्वाचन क्षेत्रमा गत मंसिरमा ८३ हजार ९५६ जनाले मतदान गरेका थिए । यहाँबाट लामिछाने ४९ हजार २६४ मतसहित निर्वाचित हुनुभएको थियो । उहाँका प्रतिस्पर्धीहरू कांग्रेसका उमेश श्रेष्ठले १४ हजार ९८३ र एमालेका कृष्णभक्त पोखरेलले १४ हजार ६६७ भोट पाउनुभएको थियो । दोस्रो हुनुभएका श्रेष्ठभन्दा लामिछानेको ३२ हजार २८१ मत बढी थियो ।

पाँच महिनापछि लामिछाने फेरि मैदानमा छन् भने कांग्रेस र एमालेले युवा अनुहारलाई अघि सारेको छ । यसपालि एमालेले जिल्ला अध्यक्ष रामप्रसाद न्यौपाने र कांग्रेसले जिल्लाका पूर्वसभापति जितनारायण श्रेष्ठलाई प्रतिस्पर्धामा उतारेको छ । मुख्य प्रतिस्पर्धा यिनै तीन उम्मेदवारबीच हुने अनुमान गरिएको छ । चितवन–२ भित्र कालिका नगरपालिका, भरतपुर महानगरपालिकाका १० वटा वडा र इच्छाकामना गाउँपालिका पर्छन् ।

तनहुँ-१ को उपनिर्वाचनलाई पनि निकै चासोको रूपमा हेरिएको छ । गत मंसिर ४ मा यस क्षेत्रबाट निर्वाचित रामचन्द्र पौडेल राष्ट्रपति बनेपछि रिक्त रहेको स्थानमा नौ जनाले उम्मेदवारी दिएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका स्वर्णिम वाग्ले, नेपाली कांग्रेसका गोविन्द भट्टराई एमालेका सर्वेन्द्र खनाल उम्मेदवारको रूपमा हुनुहुन्छ ।

तनहुँ-१ लाई खासगरी कांग्रेस नेताहरूले प्रतिष्ठाकै लडाइँ बनाएका छन् । कांग्रेसबाट रास्वपामा गएर उम्मेदवार बन्नुभएका वाग्लेलाई कांग्रेस नेताहरूले प्रमुख प्रतिस्पर्धी मानेका छन् । यसैबीच, सरकारले उपचुनाव हुने तीनवटै निर्वाचन क्षेत्रमा आज सार्वजनिक बिदा दिएको छ । उपनिर्वाचन हुने बारा-२, चितवन-२ र तनहुँ-१ मा गृह मन्त्रालयले सार्वजनिक बिदाको घोषणा गरेको हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?