प्रधानन्यायाधीश श्रेष्ठद्वारा पद तथा गोपनीयताको शपथ

हिमालय टाइम्स
Read Time = 7 mins

काठमाडौं । प्रधानन्यायाधीशमा विश्वम्भरप्रसाद श्रेष्ठले पद तथा गोपनीयताको शपथग्रहण गर्नुभएको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा मंगलबार आयोजित कार्यक्रममा प्रधानन्यायाधीश श्रेष्ठले शपथ लिनुभएको हो । उहाँलाई राष्ट्रपति रामचन्द्र पौडेलले शपथग्रहण गराउनुभएको थियो । शपथ समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, सभामुख देवराज घिमिरे लगायतको उपस्थिति थियो । संवैधानिक परिषद्को सिफारिसमा श्रेष्ठलाई सोमबार राष्ट्रपति पौडेलले सर्वोच्च अदालतको प्रधानन्यायाधीश नियुक्त गर्नुभएको थियो । उहाँलाई संविधानको धारा १२९ को उपधारा २ बमोजिम प्रधानन्यायाधीशमा नियुक्त गरिएको हो ।

सोमबार संसदीय सुनुवाइ समितिले श्रेष्ठलाई प्रधानन्यायाधीश पदका लागि अनुमोदित गरेको थियो । गत साउन १८ गते बसेको संवैधानिक परिषद्को बैठकले प्रधानन्यायाधीशका लागि श्रेष्ठको नाम सिफारिस गरेको थियो । श्रेष्ठ करिब १४ महिना प्रधानन्यायाधीशका रूपमा रहनुहुने छ । २०१६ असोज २० गते जन्मिनुभएका श्रेष्ठ ६५ वर्षे उमेर हदका कारण २०८१ असोज १९ पछि अनिवार्य अवकाशमा जानुहुने छ ।
३१औँ प्रधानन्यायाधीशका रूपमा सर्वोच्च अदालतको बागडोर सम्हाल्न आउनुभएका श्रेष्ठ न्याय सेवाकै कर्मचारीबाट जिल्ला न्यायाधीश हुँदै सर्वोच्च अदालत आइपुग्नुभएको हो । ‘क्याडर जज’ रहनुभएका श्रेष्ठसँग न्याय सेवाको लामो अनुभव रहेको छ ।

डोटी जन्मस्थान भई कैलालीको धनगढीमा स्थायी बसोबास गर्ने श्रेष्ठ पछिल्लो समय कुलेश्वरमा बस्दै आउनुभएको थियो । कानुनमा स्नातक र मानवशास्त्रमा स्नातकोत्तर गर्नुभएका श्रेष्ठ २०३८ चैत २७ गतेदेखि न्याय सेवामा प्रवेश गर्नुभएको हो । कानुन तथा न्याय मन्त्रालयमा शाखा अधिकृतका रूपमा अस्थायी नियुक्ति लिनुभएका श्रेष्ठ २०४१ पुस ११ गतेदेखि शाखा अधिकृतका रूपमा स्थायी हुनुभएको थियो । त्यसलगत्तै क्षेत्रीय अदालतमा नियुक्ति लिएका श्रेष्ठ २०४४ फागुन १४ गते उपरजिष्ट्रार बन्नुभएको थियो ।

२०४५ जेठ ३ गतेबाट श्रेष्ठले न्यायाधीशका रुपमा काम गर्नुभएको थियो । न्यायाधीशका रूपमा उहाँको पहिलो पोष्टिङ दार्चुला जिल्ला अदालतमा भएको थियो । त्यसपछि डडलेधुरा, उदयपुर, मकवानपुर, झापा, बाँके र काठमाडौंमा जिल्ला न्यायाधीशका रूपमा उहाँले काम गर्नुभएको थियो ।

२०६२ चैत १० गतेदेखि श्रेष्ठले तत्कालीन पुनरावेदन अदालतको न्यायाधीशका रूपमा कामकाज सुरु गर्नुभयो । तत्कालीन पुनरावेदन अदालतको न्यायाधीशका रूपमा उहाँको पहिलो पोष्टिङ बागलुङ इजलासमा भएको थियो । त्यसपछि श्रेष्ठले पुनरावेदन अदालत पाटन र पोखरामा न्यायाधीशका रूपमा काम गर्नुभएको थियो । पोखरामै रहँदा २०७० साउन ८ गते श्रेष्ठ पुनरावेदन अदालत पोखराको निमित्त मुख्य न्यायाधीश बन्नुभयो भने २०७१ भदौ १० गतेदेखि पुनरावेदन अदालत हेटौँडाको मुख्य न्यायाधीशका रूपमा काम गर्नुभएको थियो ।
२०७३ साउन १७ गतेदेखि सर्वोच्च अदालतको न्यायाधीशका रूपमा कामकाज गर्नुभएका श्रेष्ठ साउन २० गतेबाट प्रधानन्यायाधीश हरिकृष्ण कार्की उमेरहदका कारण अनिवार्य अवकाशमा गएपछि कामु प्रधानन्यायाधीशका रूपमा उहाँले न्यायपालिकाको जिम्मेवारी सम्हाल्नुभएको थियो ।

प्रधानन्यायाधीश पदका लागि योग्य ११ जना न्यायाधीशको नाम समावेश गरेर न्यायपरिषद् सचिवालयले संवैधानिक परिषद्मा रोष्टर पठाएको थियो । सोही रोष्टरमा उल्लेख भएको न्यायाधीशमध्येबाट संवैधानिक परिषद्ले वरिष्ठतम् न्यायाधीशलाई भावी प्रधानन्यायाधीशका रूपमा सिफारिस गरेको थियो । नरम स्वभावका श्रेष्ठ न्यायपालिकामा गहिराइमा पुगेर मुद्दा बुझ्न सक्ने न्यायाधीशका रूपमा परिचित हुनुहुन्छ ।

‘उच्च र जिल्ला न्यायाधीश नियुक्तिका लागि बुधबारदेखि पहल थाल्छु’
प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले आज (बुधबार) देखि नै उच्च र जिल्ला न्यायाधीश नियुक्तिको प्रक्रिया थाल्ने बताउनुभएको छ । मंगलबार राष्ट्रपतिबाट शपथग्रहण गरेलगत्तै पद बहाली गर्नुभएका श्रेष्ठले रिक्त रहेका जिल्ला तथा उच्च अदालतका न्यायाधीशको नियुक्रि प्रक्रिया थाल्ने बताउनुभएको हो ।

नवनियुक्त प्रधानन्यायाधीश श्रेष्ठले अब आफ्नो ध्यान छिटोछरितो न्याय प्रवाह गर्नतर्फ जाने पनि बताउनुभयो । त्यसका लागि न्यायपालिका बाहेकका अन्य निकाय र सरोकारवालाहरूले पनि त्यतिकै सहयोग र समन्वय हुन जरुरी रहेको उहाँको भनाइ छ । ‘म आशा गर्छु अपिल पनि गर्छु सरोकारवाला निकायले पनि छिटो छरितो न्याय दिने काममा न्यायपालिकालाई सहयोग गर्नुहोस् । आवश्यक्ता पूर्ति गर्दिनुस्’ श्रेष्ठको आग्रह छ ।

उहाँले आफ्नो कार्यकालमा सबैको साथ र सहयोग रहनेमा विश्वास व्यक्त गर्दै न्यायपालिकामा न्यूनतमभन्दा न्यूनतम बजेट नपाउँदा कर्मचारीहरूलाई उत्प्रेरणा दिन र भरथेग गर्न नसकिएको बताउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?