सल्लाघारीमा सवारी दुर्घटना: सांसद बस्नेतको अभिव्यक्तिप्रति आपत्ति

हिमालय टाइम्स
Read Time = 2 mins

भक्तपुर । भक्तपुरको सल्लाघारीमा आइतबार सल्लाको रुख ढली एक स्कुटर र मिनीबसमाथि बज्रेर तीनजनाको मृत्यु भएको घटना सम्वन्धमा एमाले सांसद महेश बस्नेतले संसदमा बोलेको अभिव्यक्तिको विरोध भएको छ ।

घटनामा परी मिनीबसमा सवारमध्ये चाँगुनारायण नगरपालिकाका न्हुछेराम बखाद्यो, भक्तपुर नगरपालिकाका विशेष खर्बुजा र सर्लाहीको हरिवन नगरपालिका ४ का राजकुमार भुजेल गरी तीनजनाको निधन भएको थियो । जसबारे भक्तपुर क्षेत्र नम्बर २ का सांसद बस्नेतले संसदमा दिएको अभिव्यक्तिको विरोध भएको हो ।

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले सांसद बस्नेतले घटनाबारे सत्यतथ्य नबुझी हचुवामा भक्तपुर नगरपालिकाको लापरबाही भनेकोमा आपत्ति जनाउनु भएको हो ।

घटनाको जानकारी पाएलगत्तै प्रमुख प्रजापति घटनास्थल र बिरामीहरू रहेको इवामुरा अस्पताल पुगी मृतक र घाइतेहरूको स्थिति बुझेको नगरपालिकाले जनाएको छ । उहाँले अस्पतालका डाक्टरहरुलाई भेटी सम्भव सबै उपाय अपनाएर घाइतेहरूको उपचार गर्न निर्देशन दिएको नगरपालिकाले जनाएको छ ।

प्रमुख प्रजापतिले प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मा, नेपाली सेनाका कर्णेल सन्तोष कार्कीसमेतसँग तत्काल सम्पर्क गरी उचित व्यवस्थापनबारे परामर्श गरेको जनाइएको छ ।

सरोकारवाला निकायबीच समन्वयपश्चात त्यस्ता घटना दोहोरिन नदिन सल्लाघारीस्थित सडकमा खतरा देखिएका सडक वरपरका रुखहरु प्रकृति प्रतिकूल नहुने गरी हटाउने सहमति भएको नगर प्रमुख प्रजापतिले जानकारी दिनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?