बारामा बुथ कब्जाको प्रयास, मतदान केन्द्रमा पुगेका पत्रकारलाई समेत रोक

हिमालय टाइम्स
Read Time = 2 mins

बारा । बाराको क्षेत्र नम्बर २ मा भईरहेको प्रतिनिधिसभा उपनिर्वाचन अन्तर्गत बाराको महागढीमाई नगरपालिका-२ को ईनरवास्थित मतदान केन्द्रमा पनि बुथ कब्जाको प्रयास गरिएको छ । उक्त मतदान केन्द्रमा पुगेका पत्रकारलाई समेत रोक लगाइएको छ ।

ईरनवास्थित मतदान केन्द्रमा शंकास्पद गतिविधि भइरहेको सूचना पाएर पुगेका पत्रकारहरुलाई मतदान अधिकृत दिवाकर झाले मतदान केन्द्र परिसरभित्र प्रवेशमा रोक लगाउनुभएकाे हाे ।

त्यसलगत्तै मतदान केन्द्र बाहिर रहेका स्थानीय केही व्यक्तिहरुले समेत पत्रकारहरुलाई दुर्व्यवहार गर्न खोजेका छन् । त्यसपछि त्यहाँ रहेका प्रहरीले सन्चारकर्मीहरुलाई उद्धार गरेका छन् ।

यसअघि मात्रै, बाराको देवताल गाउँपालिका-७ स्थित पिपरन जब्दी मतदान केन्द्रबाट जसपाका एक नेता पक्राउ परेका छन् । मतदान गर्ने क्रममा जसपाका नेता एवम् जिल्ला समन्वय समितिका सदस्य रामसागर यादवलाई मतपेटिका सुरक्षामा खटिएका प्रहरीले पक्राउ गरेको हो।

प्रहरीकाअनुसार मत पेटिकामा यादवले स्वस्तिक छाप लगाएको २ वटा मत पत्र खसाउन खोजेपछि प्रहरीले उनलाई गरेको हो । पक्राउ परेका यादवलाई जिप्रका बारामा लगिएको छ।

यादव पक्राउ परेपछि जसपाका स्थानीय नेता कार्यकर्ताले विवाद गरेका छन् । विवाद बढेपछि यो मतदान केन्द्रमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको थप बल मगाइएको छ। अहिले उक्त केन्द्रमा शान्तिपूर्ण मतदान भने जारी छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?