महिला गोल्डकपमा अल इन वानको विजयी सुरुवात

हिमालय टाइम्स
Read Time = 2 mins

बिर्तामोड । अल इन वान क्लब बिर्तामोडको आयोजनामा सुरु भएको प्रथम प्रदेशस्तरीय महिला गोल्डकप प्रतियोगितामा धरान महिला फुटबल क्लब सुनसरीलाई टाइब्रेकरमा पराजित गर्दै आयोजक टिम ‘अल इन वान’ क्लब सेमिफाइनलमा प्रवेश गरेको छ ।

टाइब्रेकरमा आयोजक क्लबका खेलाडी एलेक्स चौधरी, लक्ष्मी श्रेष्ठ, चत्रिका चौधरी र अनिता लम्जेलको प्रहार गोलमा परिणत भएको थियो । टाइब्रेकरमा धरानका लागि सुस्मिता राईले गोल गर्नुभए पनि प्रतीक्षा राई र टेरेशा मगरको प्रहार गोलमा परिणत हुन नसक्दा पराजय भोग्न बाध्य बन्यो ।

त्यसअघि बराबरी भएको खेलमा आयोजक क्लबका लागि कुसुम राईले खेलको २१औँ र प्रतीक्षा मल्ल ठकुरीले २४औँ मिनेटमा एक-एक गोल गर्नुभएको थियो । धरानका लागि प्रतीक्षा राईले नवौँ र समीक्षा मगरले २०औँ मिनेटमा एक-एक गोल गर्नुभएको थियो ।

आयोजक टिमकी गोलरक्षक सुशीला चौधरी खेलको ‘प्लेयर्स अफ दि म्याच’ घोषित हुनुभयो । उहाँले नगद तीन हजार पुरस्कार प्राप्त गर्नुभएको छ । प्रतियोगिताको विजेताले दुई लाख दुई हजार र उपविजेताले एक लाख एक हजार रुपैयाँ पुरस्कार पाउने आयोजक संस्थाका अध्यक्ष कृष्ण योञ्जनले जानकारी दिनुभयो । प्रतियोगितामा झापा जिल्ला फुटबल संघको प्राविधिक सहयोग रहेको छ ।

प्रतियोगिताअन्तर्गत आइतबार मिक्लाजुङ गाउँपालिका मोरङ र महमाई एकता क्लब इलामबीच प्रतिस्पर्धा हुनेछ । प्रतियोगितामा झापा, इलाम, ताप्लेजुङ, सुनसरी, मोरङ, धनकुटा, उदयपुर र सप्तरीका आठ टिमको सहभागिता रहने आयोजकले बताएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?