सेल्टामाथि रियलको सहज जित

Read Time = 3 mins

लण्डन । रियल म्याड्रिडले स्पेनिस ला लिगा फुटबलमा सेल्टा डि भिगामाथि दुई-शून्यको सहज जित हात पारेको छ । रियलको जितमा मार्काे एसेन्सियो र एडर मिलिसाओले एक-एक गोल गर्नुभयो । रियलले खेलको ४२औँ मिनेटमा मार्काे एसेन्सियोको गोलबाट अग्रता लिएको थियो । ४८औँ मिनेटमा एडर मिलिसाओले गोल गर्दै रियलको अग्रता दोब्बर पार्नुभयो । त्यसपछि थप गोल निस्किएन ।

यस जितसँगै दोस्रो स्थानमा रहेको रियलले बार्सिलोनासँगको अंक दूरी आठमा छोट्याएको छ । रियलको ३० खेलबाट ६५ अंक पुगेको छ । एक खेल कम खेलेको बार्सिलोनाको ७३ अंक छ । पराजित सेल्टा ३६ अंक जोडेर १२औँ स्थानमा छ ।

यस्तै, अल्जेरियन फरवार्ड रियाद महारेजको हृयाट्रिक मद्दतमा म्यानचेस्टर सिटीले च्याम्पियनसिप क्लब सेफिल्ड युनाइटेडलाई तीन-शून्यले पराजित गर्दै एफए कपको फाइनलमा स्थान बनाएको छ ।

४३औँ मिनेटमा रियाद महारेजले पेनाल्टीमा गोल गर्दै सिटीलाई अग्रता दिलाउनुभयो । ६१औँ मिनेटमा महारेजले दोस्रो गोल गर्नुभयो भने ६६औँ मिनेटमा ज्याक ग्रेलिसको पासमा गोल गर्दै महारेजले हृयाट्रिक पूरा गर्नुभयो । अब सिटीले उपाधिका लागि ३ जुनमा म्यानचेस्टर युनाइटेड र ब्राइटन होव अल्वियोनबीचको विजेतासँग खेल्नेछ ।

यस्तै, लिभरपुलले इंग्लिस प्रिमियर लिग नटिङहम फरेस्टमाथि तीन-दुईको जित हात पारेको छ । लिभरपुलका लागि डिएगो जोटाले दुई तथा मोहम्मद सलाहले एक गोल गर्नुभयो । नटिङहमका निको विलियम्स र मोर्गान गिब्स हृवाइटले एक-एक गोल फर्काउनुभयो ।

४७औँ मिनेटमा जोटाले गोल गर्दै लिभरपुललाई एक–शून्यको अग्रता दिलाउनुभयो । ५१औँ मिनेटमा निको विलियम्सले गोल गर्दै खेललाई एक-एक गोलको बराबरीमा ल्याउनुभयो । ५५औँ मिनेटमा जोटाले व्यक्तिगत दोस्रो गोल गर्नुभयो । ६७औँ मिनेटमा मोर्गान गिब्सले बराबरी गोल फर्काउनुभएको थियो । त्यसको तीन मिनेटमा नै सलाहले निर्णायक गोल गर्नुभयो ।

यस जितसँगै लिभरपुल ३१ खेलबाट ५० अंक जोडेर सातौँ स्थानमा उक्लिएको छ । पराजित नटिङहम ३२ खेलबाट २७ अंक जोडेर १९औँ स्थानमा छ । एजेन्सी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?