डम्पिङ साइडमा सल्किएको आगोबाट निस्किएको धुवाँले सिङगो बस्ती नै दुर्गन्धित

बाबुराम श्रेष्ठ धादिङ, संवाददाता
Read Time = 3 mins

धादिङ । निलकण्ठ नगरपालिका वडा नम्बर ८ स्थित च्याढुघुम्तीको डम्पिङ साइडमा आगोलागी भएपछि उक्त क्षेत्रमा प्रदुषण फैलिएको छ ।

धुवाँका कारण आसपासका झण्डै एक दर्जन भन्दा बढी वस्ती दुर्गन्धित बनेको छ । सदरमुकाम धादिङबेसीबाट निस्किएको फोहोर फाल्ने डम्पिङ साइडमा जम्मा भएको फोहोरमा आगो सल्किएपछि निस्किएको धुवाँले वती नै ढाकेको छ ।

निलकण्ठ नगरपालिका-८ को ससाह, ज्यामिरेमा निलकण्ठ नगरपालिका-७ सुनौलाबजारको मस्र्याङछाप, डमडाँडा, सिद्दलेक १ को नलाङस्थित कालिदह, नयाँबस्तीमा समेत धुवाँको मुस्लोसहित दुर्गन्ध फैलिएको छ ।

दुर्गन्धसहित मानव वस्तीमा फैलिएको पिरो धुँवाले स्थानीयहरु विरामी पर्न थालेका छन् भने आँखा पोल्ने, वाकवाकी लाग्ने, टाउको दुख्ने, वान्ता हुने जस्ता समस्या देखिन थालेको स्थानीयबासिन्दाहरुको भनाई छ ।

डम्पिङ साइडसँगै जोडिएको धादिङबेसी मलेखु सडकमा सहजै हिड्न नसक्ने ससाह ज्यामिरेका स्थानीय अर्जुन श्रेष्ठले बताउनुभयो । निलकण्ठ नगरपालिकाले दमकलको प्रयोग गरेर आगो निभाएको भनेपनि फोहोरको डंगुरको भित्रसम्म पुगेको आगो अहिले झन बढेकोे छ ।

नगरपालिकाले डम्पिङ साइड व्यवस्थित गर्न नसक्दा दिनानुदिन समस्या बढ्दै गएको प्रभावित क्षेत्रका स्थानीयले बताएका छन् । दुर्गन्धले सास्ती भएको भन्दै नगरपालिकालाई पटकपटक ध्यानार्कषण गराउँदा छिट्टै व्यवस्थापन हुने आश्वासन मात्रै पाउने गरेको स्थानीयको भनाइ छ ।

धुवाँ र दुर्गन्ध बढेपछि स्थानीयहरु गाईबाख्रा चराउन समेत जंगल जान सकेका छैनन् । करिब दुई दशकदेखि नगरपालिकाले च्याडुघुम्तीबाट थोपल खोला किनारमा सदरमुकाम धादिङबेसी बजारक्षेत्रको फोहोर फाल्दै आएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?