सुडानमा ४१३ को मृत्यु, तीन हजार ५११ घाइते : डब्लुएचओ

Read Time = 4 mins

जेनेभा । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले सुडानमा जारी द्वन्द्वमा सोमबार बिहानसम्म ४१३ जनाको मृत्यु भएको जनाएको छ । संयुक्त राष्ट्रसंघीय बाल निकाय (यूनिसेफ)ले युद्धमा बालबालिकाले ठूलो मूल्य चुकाउनुपरेको जनाएको छ । संगठनकी प्रवक्ता मार्गरेट हृयारिसले संयुक्त राष्ट्रसंघको पत्रकार सम्मेलनमा सुडान सरकारको तथ्यांक अनुसार द्वन्द्वमा ४१३ जनाको मृत्यु भएको र तीन हजार ५५१ जना घाइते भएको जानकारी दिनुभयो ।

देशको सेना र अर्धसैनिक र्‍यापिड सपोर्ट फोर्सेज (आरएसएफ) बीच जारी भिडन्तको एक हिस्सा हो । उहाँले अप्रिल १५ यता १० सहित स्वास्थ्य संस्थामा ११ वटा आक्रमण भएको पुष्टि भएको बताउनुभयो ।

‘सुडानको स्वास्थ्य मन्त्रालयका अनुसार काम गर्न छाडेका स्वास्थ्य संस्थाहरूको संख्या २० छ । साथै, स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार बन्द हुने जोखिममा रहेका स्वास्थ्य संस्थाहरूको संख्या १२ छ’, हृयारिसलाई उद्धृत गर्दै अनादोलुले रिपोर्ट गरेको छ । ‘यसको अर्थ हेरचाहको आवश्यकता रहेका व्यक्तिले आवश्यक स्वास्थ्य सेवा पाउन पनि कठिन बनेको छ ।’

पत्रकार सम्मेलनमा युनिसेफका प्रवक्ता जेम्स एल्डरले भन्नुभयो, ‘यो लडाइँले बालबालिकामा विनाशकारी असर पारेको स्पष्ट छ । अहिले हामीसँग कम्तीमा नौजना बालबालिकाको मृत्यु भएको र कम्तीमा ५० जना घाइते भएको समाचार प्राप्त भएको छ ।’ लडाइँ जारी रहँदा पीडित बालबालिकाको संख्या उल्लेख्यरूपमा बढ्ने देखिएको उहाँले बताउनुभयो ।

एल्डरका अनुसार द्वन्द्वका कारण ठूलो संख्यामा मानिसहरू फसेका छन् र उनीहरूसँग विद्युत्को पहुँच छैन । उनीहरूलाई खाना, पानी र औषधिको अभाव छ । उहाँले भन्नुभयो, ‘हाम्रो गम्भीर चिन्ताको विषय भनेको आक्रमणको चपेटामा परेका अस्पतालहरू हुन् ।’
एल्डरका अनुसार सुडानमा बालबालिकामा कुपोषणको दर विश्वमै सबैभन्दा बढी छ । ‘हाम्रो जानकारी अनुसार करिब ५० हजार बालबालिकाका लागि महत्वपूर्ण जीवन रक्षक सहयोग जोखिममा छ । यस लडाईंले सुडानमा निरन्तर चिसो तापक्रममा राख्नुपर्ने खोप तथा औषधिलाई पनि खतरामा पारेको छ’, उहाँले भन्नुभयो । सुडानमा यसका कारण चार करोड अमेरिकी डलरभन्दा बढीको खोप र इन्सुलिनलाई उचित तापक्रममा राख्न कठिन भएको छ ।

गत शनिबार सुडानी सेना र अर्धसैनिक र्‍यापिड सपोर्ट फोर्सेज (आरएसएफ)बीच राजधानी खार्तूम र आसपासका क्षेत्रमा भिडन्त भएको थियो । सन् २०२१ को अक्टोबरमा सेनाले प्रधानमन्त्री अब्दल्ला हम्दोकको संक्रमणकालीन सरकारलाई बर्खास्त गर्नुका साथै आपत्कालीन अवस्थाको घोषणा गरेपछि सुडानमा सन् २०२१ को अक्टोबरदेखि सेनाको नियन्त्रणमा सत्ता चलेको छ । रासस/एएनआई ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?