स्तरोन्नति हुँदै दाङको बिपी मार्ग

विवेक खड्का दाङ, संवाददाता
Read Time = 5 mins

दाङ । दाङको पहाडी विकट बस्ती हाँसीपुर हुँदै प्रदेश राजधानी जोड्ने बिपी मागअन्तर्गत सिमलतारा–मुलाबारी–हाँसीपुर–बाङ्गेसाल सडकको स्तरउन्नतीको कार्य अघि बढेको छ ।

दाङका विभिन्न ठाउँमा सडक निर्माण तथा विस्तारका कामहरू अघि बढ्न नसकेको अवस्थामा सिमलतारा–मुलाबारी–हाँसीपुर–बांङ्गेसाल सडकखण्डअन्तर्गतको १७ किलोमिटर सडक निर्माणको काम भने सन्तोषजनक रूपमा अघि बढेको प्रदेश सडक पूर्वाधर कार्यालय दाङले जनाएको छ । सडक विस्तारसँगै नाला निर्माण, वाल निर्माण, खोलाहरूमा कल्भर्ट तथा कच्वे निर्माणसँगै ग्राभेल गर्ने काम भइरहेको प्रदेश सडक पूर्वाधार कार्यालय दाङका प्राविधिक लीलाधर गिरीले जानकारी दिनुभएको छ ।

सडक निर्माणले जिल्लाको मुलबारी, हाँसीपुरलगायतका बस्तीका स्थानीयलाई सहजतासँगै दाङ उपत्यकालाई देउखुरीको भालुवाङमा रहेको लुम्बिनी प्रदेशको राजधानी जोड्ने वैकल्पिक मार्गका रूपमा समेत लिने गरिन्छ । जसले गर्दा पनि प्रदेश सरकारले उक्त सडकखण्डलाई प्राथमिकतामा राखेर काम गरिरहेको छ । डिपिआरअनुसार सडक निर्माणको काम भइरहेको भन्दै अहिलेसम्म करिब ३० प्रतिशत काम सकिएको कार्यालयका प्राविधिक गिरीले बताउनुभयो ।

‘सडकको डिपिआरअनुसार खोलाहरूमा कल्भर्ट निर्माणदेखि जोखिमपूर्ण ठाउँमा वाल तथा नाला निर्माणलगायतका कामहरू भइरहेको छ’, प्राविधिक गिरीले भन्नुभयो,‘निर्माण व्यवसायीको काम अहिलेसम्म सन्तोषजनक छ । यही गतिमा काम गरे सम्झौता मितिमा काम सकिनेछ ।’ दुई वर्षभित्र १७ किलोमिटर सडकको नालासहित स्तरोन्नति २०७९ असार १४ गते वाइला एण्ड लामा तिरूपाते सिद्धान्त जेभीसँग सम्झौता भएको थियो । सम्झौता अनुसार काम गर्न अझै एक बर्षको अवधि रहेको कार्यालयले जनाएको छ ।

३२ करोड ८९ लाख २९ हजार ६ सय २७ रूपैयाँमा टेण्डर आह्वान भएकोमा निर्माण कम्पनीसँग २७ करोड ७० लाख ६५ हजार ३ सय ४३ रूपैयाँ सम्झौता भएको प्रदेश पूर्वाधार कार्यालय दाङले जनाएको छ । ‘बिपी मार्गअन्तर्गत गोग्लीदेखि सिमलतारासम्मको करिव दश किलोमिटर सडक कालोपत्रे भैसकेको छ’,उहाँले भन्नुभयो,‘बाँकी सडकपनि कालोपत्रे गर्ने योजना भएपनि अहिले ग्राभेल गर्ने गरी स्तरउन्नतीको काम भइरहेको छ ।’ ग्रामीणसँगै खोलाहरूमा कल्भर्ट नहुँदा हिउँदमा गाडी चल्ने गरेपनि वर्षाको समयमा पानीले बाटो बिगार्दा सवारीका साधनहरू नचल्दा स्थानीयलाई हिड्नुपर्ने बाध्यता थियो ।

सडकको विस्तारसँगै खोलाहरूमा कल्भर्ट निर्माण भएपछि ठूलो पानी पर्दा समेत स्थानीयलाई सिमलतारा–मुलाबारी–हाँसीपुर सडकखण्डमा हिडडुल गर्न सहज हुने मुलाबारी निवासी स्थानीय लालबहादु घर्ती मगर बताउनुहुन्छ । ‘पानी नपर्दा गाडी चल्ने गरे पनि पानी परेपछि मानिस हिड्न पनि धौ–धौ हुने बाटो थियो । बाटोकै कारण स्थानीयले धेरै दुःख पाउने गरेका छौ’, स्थानीय घर्तीमगरले भन्नुभयोे,‘सडकको स्तरउन्नतीसँगै खोलाहरूमा कल्भर्ट निर्माण भएपछि अव दु.ख हट्ने विश्वास छ ।’

जंगलको ठाउँमा धेरै खोला तथा नालाहरू हुने र पानी पर्दा खोलाले छेक्ने जोखिम हुदाँ विद्यार्थीहरूलाई पढ्न जान समेत समस्या हुने गरेको भन्दै उहाँले अव स्थानीयसँगै स्कुल पढ्न जाने विद्यार्थीहरूाई समेत सहजता हुने बताउनुभयो । सडक र खोलाहरूमा कल्र्भट भएमा पढन र अन्य कामको लागि सहज हुन्छ’, स्थानीय घर्तीमगरले भन्नुभयो,‘पानीसँगै खोलाहरूमा बाढी आएमा विद्यार्थी स्कुल जान रोकिने बाध्यता छ ।’

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?