अनशनरत किसान घिमिरेको जीवन रक्षाको माग

Read Time = 4 mins

काठमाडौं । नुवाकोटको ककनी गाउँपालिका-२ सिउडेनीका ३२ वर्षीय युवा किसान वैशाख ५ गतेदेखि किसानका समस्या समाधानका लागि छबुँदे माग राख्दै काठमाडौंको भूगोलपार्कमा आमरण अनशन बसिरहनुभएको छ । घिमिरेले ककनीबाट खाली खुट्टा हिँड्दै काठमाडौैं आएर अनशन सुरु गर्नुभएको हो ।

अनशनरत घिमिरेको स्वास्थ्य अवस्था बिग्रिँदै गएको भन्दै अखिल नेपाल किसान महासंघले माग सम्बोधनसँगै उहाँको जीवन रक्षाका लागि सरकारलाई ध्यानाकर्षण गराएको छ । घिमिरेका मागप्रति महासंघले पूर्णरूपमा ऐक्यबद्धतासमेत जाहेर गरेको छ । एउटा व्यवसायी किसान देशको राजधानीमा विगत १० दिनदेखि आमरण अनशन बसेको जानकारी हुँदाहुँदै पनि सरकार बेखबर भएजस्तो गरी उपेक्षा गरिनु आफैंमा लज्जाबोधको विषय भएको महासंघका अध्यक्ष डा. प्रेम दंगालले बताउनुभएको छ । आमजनताका जायज माग सम्बोधन गर्नु सरकारको प्रमुख दायित्व हुँदाहुँदै पनि किसानप्रति सरकारको यस्तो हेपाहा प्रवृत्तिले देशको लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको धज्जी उडेको उहाँको भनाइ छ । अनशनरत किसान घिमिरेको स्वास्थ्य अवस्था दिनप्रतिदिन जटिल बन्दै गइरहेकाले माग यथाशीघ्र सम्बोधन गर्दै उहाँको जीवन रक्षाका लागि महासंघले सरकारको ध्यानाकर्षण गराएको छ ।

त्यसैगरी राष्ट्रिय मानव अधिकार आयोगले पनि अनशनरत घिमिरेको जीवन रक्षा गर्न आग्रह गरेको छ । घिमिरे कृषक परिचयपत्रको व्यवस्था गर्न, न्यूनतम ब्याजदरमा ऋण उपलब्ध गराउन, मल, बीउ, विषादी कृषियन्त्र पूर्णरूपमा अनुदानमा उपलब्ध गराउनलगायत किसानसँग सम्बन्धित विभिन्न मागसहित अनशनमा हुनुहुन्छ । घिमिरेको स्वास्थ्य अवस्थाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै आयोगले जीवन अधिकारको रक्षा गर्न र सार्थक वार्ताको माध्यमबाट तत्काल समस्याको समाधान गर्न सरकारलाई ध्यानाकर्षण गराएको छ ।

आयोगले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘अनशनरत श्रीराम घिमिरेको स्वास्थ्य अवस्थाप्रति संवेदनशील भई जीवन अधिकारको रक्षा गर्न, सार्थक वार्ताको माध्यमबाट तत्काल समस्याको समाधान गर्न, किसानको अधिकारका सम्बन्धमा आयोगबाट विगतमा गरिएका सिफारिस कार्यान्वयन गर्न आयोग नेपाल सरकारलाई आग्रह गर्दछ । साथै आफ्ना माग राख्दा आमरण अनशनजस्तो कठोर बाटो नरोज्नसमेत आयोग अनशनरत पक्षलाई अनुरोध गर्दछ ।’ आयोगले अनशनस्थल पुगेर अनुगमन गर्नुका साथै अनशनरत घिमिरेको स्वास्थ्य अवस्थाबारे जानकारीसमेत लिएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?