रविको स्वर्णिम पुनरोदयको सन्देश

Read Time = 18 mins

✍️ शम्भु कोइराला

नमागिएको सल्लाह :
तनहूँ, चितवन र बारा जिल्लाका तीन क्षेत्रमा सम्पन्न उपचुनावले राष्ट्रिय स्वतन्त्र पार्टीलाई नयाँ शक्तिको रूपमा अनुमोदन गरेको छ । तनहूँमा भारी मतान्तरले प्रसिद्ध अर्थशास्त्री स्वर्णिम वाग्ले विजयी भएर कांग्रेसको पुरानो गढ भत्काएका छन् भने चितवनमा मूलधारका भनिएका पार्टीहरू प्रतिस्पर्धामा नै आउन सकेनन् । रविलेमात्र लगभग सत्तरी प्रतिशत मत हासिल गरेका छन् । निकटतम् प्रतिस्पर्धी कांग्रेसको भन्दा पाँच गुणा बढी मत ल्याएर चितवनलाई आफ्नो सांगठनिक हैसियत भएको भनेर बताउँदै आएको कांग्रेसका नौनाडी गल्ने बनाइदिएका छन् ।

बारामा भने रमेश खरेलले रास्वपाको उपस्थिति जनाएका छन् । बारालाई रास्वपा स्वयंले जित्ने सूचीमा राखेको थिएन । तराईमा जातीयता, मुखियाहरूको अधिनमा चल्ने मतदाताहरू, गरिबी र अशिक्षाको कारण पहाडी क्षेत्रमा जस्तो स्वतन्त्र रूपमा मतदाताले मतदान गर्ने परिस्थिति रहँदैन । तथापि, दश दलको समर्थनमा चुनाव लडेका उपेन्द्र यादवलाई जनमत पार्टीका उम्मेदवारले कडा टक्कर दिएका छन् । हारेर पनि सिके राउतले राजनीति जितेका छन् ।

देउवा–आरजु गिरोहको मनपरीका कारण कांग्रेसमा बस्न नसकिएको कडा प्रतिक्रिया दिएर कांग्रेसले प्रतिष्ठाको विषय बनाएको तनहूँमा करिब पन्ध्र हजारको मतान्तरले विजयी बनेका स्वर्णिमलाई पराजित गर्न देउवा स्वयंले न्वारानदेखिको बल लगाउनुभएको थियो । गठबन्धनका हाई कमाण्ड उपस्थित भएर आश्वासनका पोका बाँड्ने काम गरिएको थियो । देउवाले त आफ्नो स्वभावनुसार कांग्रेसका उम्मेदवार विजयी भएमा मन्त्री बनाइदिने आश्वासनसमेत दिनुभएको थियो । मानिलिऊँ त्यहाँका उम्मेदवार मन्त्री बन्ने बित्तिकै सबै समस्याको समाधान भइहालोस् । तर यो लोभ, पापमा फसाउने देउवाशैली देखेर धेरै मतदाताको आक्रोश बढेको थियो जुन मतदानमा प्रकट भयो ।

तनहूँमा कांग्रेसका उम्मेदवार अब्बल थिए । पहिले अवसर नपाएका, मतदाता माझ भिजेर काम गरेका, विवादमा नपरेका उम्मेदवार हुँदाहुँदै पनि कांग्रेसले आफ्नो मत जोगाउँन सकेन । एमाले जमानत जोगाउनसम्म सफल भयो । स्वर्णिमको पक्षमा मत परम्परागत रूपमा कांग्रेस, एमाले, माओवादीकै मत हो ।

उसो त कांग्रेसका उम्मेदवार अब्बल थिए । पहिले अवसर नपाएका, मतदाता माझ भिजेर काम गरेका, विवादमा नपरेका उम्मेदवार हुँदाहुँदै पनि कांग्रेसले आफ्नो मत जोगाउन सकेन । एमाले जमानत जोगाउनसम्म सफल भयो । स्वर्णिमको पक्षमा गएका मत भनेको परम्परागत रूपमा कांग्रेस, एमाले, माओवादीलाई दिँदै आएको मत हो । सबैजसो पार्टीले आफ्नो परम्परागत मत जोगाउन सकेनन् ।

उसो त चुनावी अभियानकै समयमा आएको सांसद् ढाका र चटके व्यवसायी दुर्गा प्रसाईंबीचको अडियो सम्वाद, रविले फाष्ट ट््याकबाट गृहमन्त्री हुँदा गर्न खोजेको ठेक्का डिलिङले रवि पनि अरू पार्टीका नेताभन्दा छिटै आर्थिक दुश्चक्रमा भासिन सक्ने संकेत गरेको छ । ती दुई घटनाले रविको मन परम्परागत नेताको भन्दा फरक रहेन छ भन्न सक्ने अवस्था बनाइदिएको छ । यी दुई घटनाले रविको मत केही घट्छ कि भन्ने अनुमान गरिएको थियो । तर, मतदाताले रविलाई फसाउन खोजिएको भन्ने अर्थमा बुझेर उनको पक्षमा मत खन्याइदिएका छन् । रविलाई नियतबस लखेट्ने सञ्चारमाध्यमको प्रभाव पनि मतदातामा फिटिक्कै परेको देखिएन ।

यस अवधिमा रविले चारैतिरबाट ठूलो ज्वारभाटाको सामना गरेका थिए । उनलाइ मतदाताले ती सबै अप्ठ्यारोबाट पार लगाइदिए । अहिलेलाई रविको बेडा पार भएको छ । आफ्नै प्रभाव क्षेत्रमा, मूलधारका पार्टीहरू प्रतिस्पर्धामा पनि आउन नसक्नु र रविविरुद्धका तमाम कुप्रचारलाई बेवास्ता गरेर मतदाताले बुथ क्याप्चर गरेर मत खसालेको छनक दिने गरी मतदान गर्नुले के सन्देश दिन्छ ? अहिलेको राष्ट्रिय स्वतन्त्र पार्टीको उपलब्धि, नेता देउवाले भनेको जस्तो सामाजिक सञ्जालको कुप्रचार र पुरानो पार्टीलाई जनताले नपत्याएको अवस्था हो त ? कि देउवा प्रवृत्तिका नेताप्रतिको मतदाताहरूको वैराग्य हो ? मतदाताको मनःस्थिति के हो ? यो उपचुनावले दिएको सन्देश के हो ? भन्ने बारेमा चर्चा गर्नेछौं ।

मतदाताले गाथा होइन परिणाम खोजे :
गएको निर्वाचनमा नयाँ शक्तिको उदय भएसँगै मतदाताले परिणाम खोजेको निश्चित भइसकेको थियो । यो उपनिर्वाचनमा सत्ताघटक दलले सारा शक्ति परिचालन गर्दा पनि निराशाजनक परिणाम आउनुमा मतदाताले नेताको हिजोको त्यागको गाथा होइन परिणाम खोजेको स्पष्ट भएको छ । पुराना नेताहरूले राजनीतिक उपलब्धिका लागि गरेको काम प्रशंसनीय भए तापनि जनताको जीवन स्तर सुधार्ने काममा सफलता प्राप्त गर्न नसकेको कारण जनतामा निराशा छाएको छ । आन्दोलन गर्न सक्ने तर आन्दोलनपछि व्यवस्थापन गर्न नसक्ने प्रवृत्ति पुरानो पुस्तामा देखिएको छ ।

आगामी दिनमा पनि पुरानो पुस्ताबाट जनताको पक्षमा र सुशासनको पक्षमा काम गर्ने सम्भावना अति कम देखिएको छ । नेपाली कांग्रेसका सभापति सत्तामा पुग्ने तानाबाना बुन्न सिपालु भएता पनि उनमा मुलुकलाई अगाडि बढाउने र समृद्धि हासिल गर्ने चिन्तासम्म देखिँदैन । एमाले नेता ओली समृद्धिको गफ हाँक्न सिपालु तर अहंकारको पोकोमात्र भएको पनि जग जाहेर भइसकेको छ । माओवादी नेता वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहालमा गरौं भन्ने हुटहुटी त छ तर गलत निर्णय र अस्थिर स्वभावका कारण उनले जनविश्वास गुमाउँदै गएका छन् । संसदीय अंकगणितमा कमजोर रहेका पुष्पकमल दाहाललाई सरकार टिकाउन नै बढी समय खर्चिनु परेका कारण जनसरोकार र सुशासनका कुरा कमजोर बन्दै गएका छन् ।

अकर्मण्य देउवाको चरम सत्तामोह :
आज ठूला पार्टीप्रतिको वितृष्णाको कारण सामाजिक सञ्जालको प्रचार र पुराना पार्टीप्रतिको अरुचि भनेर कांग्रेस नेता देउवा पानीमाथिको ओभानो हुन खोजेका छन् तर सत्य कुरा के हो भने नेपाली जनता देउवाको उमेर, वक्तृत्व, अनिर्णय र अकर्मण्यताका कारण आमजनता उनीलाई हेर्न पनि चाहँदैनन् भन्ने कुरा त गएको उपचुनावले उनीलगायत भूतपूर्व प्रधानमन्त्रीहरूले चुनाव परिचालन गरेका स्थानमा लज्जास्पद हार व्यहोरेकोबाट स्पष्ट भइसकेको छ । देउवामात्र होइन, मौका परेको समयमा आफ्ना नातागोतालाई अवसर दिन तल्लीन, राष्ट्रिय पार्टी बन्न नसकेको एकीकृत समाजवादीका नेता माधव नेपालको उपस्थिति पनि जनता चिढ्याउन पर्याप्त देखियो ।

जनतालाई सम्झनै मन नलाग्ने र भविष्यप्रति वैराग्य उत्पन्न हुने विषय त यही संसदीय अवधिमा अकर्मण्य देउवा र माधव नेपाल प्रधानमन्त्री बन्ने भन्ने रहेको छ । जो वर्षौंदेखि मुलुकलाई गरिबीको दलदलमा फसाउने कुकर्ममा संलग्न रहे, नतिजा दिन सकेनन् तिनै पात्रहरू पुनः प्रधानमन्त्री बन्ने भन्ने कुराले नेपाली मतदाताको मन कुँडिएको छ तर नेताहरू यो तथ्यलाई महसुस गर्न चाहँदैनन् । कांग्रेसको जहाज डुब्नै लाग्दा पनि कांग्रेसीजनहरू सार्वजनिक स्थानमा शरीर सम्हाल्न पनि नसक्ने र हेर्दै वैराग्य लाग्ने अकर्मण्य नेतालाई विस्थापित गरेर नेतृत्व परिवर्तन गर्न चुँ पनि बोल्न सक्दैनन् ।

उनीहरूले कांग्रेसलाई विसर्जनको दिशामा लाने काममा सघाइरहेका छन् । देउवाले भनेजस्तो सामाजिक सञ्जालको कारण गएको उपचुनावमा पुराना दलले परिणाम निकाल्न नसकेको भन्ने भनाइ झुठको खेती हो भने पुरानो पार्टीप्रति जनताको वितृष्णा देखिएको भन्ने भनाइ जिम्मेवारीबाट पन्छिने कुरामात्र हो । सत्य के हो भने मतदाताले मतपत्र हातमा लिएपछि सम्झने अनुहार भनेको आफ्नो सबैभन्दा ठूलो नेता पार्टी सभापतिको हो । जब त्यो अनुहार सम्झनामा आउँछ, मतदाताको मनमा म यस्तो अकर्मण्यलाई नेता बनाउन अपराध त गरिरहेको छैन भन्ने कुरा स्मृतिमा आउँछ ।

हिजोको दिनमा उसका लागि विकल्प थिएन । कम्युनिष्टलाई भोट दिन सक्दैनथ्यो, राप्रपा प्रतिगमनको मतियारलाई दिने अवस्था थिएन । अब मतदातालाई राष्ट्रिय स्वतन्त्र पार्टी सहज विकल्प भएको छ । त्यसैले देउवाहरूले बुझ्नुपर्ने कुरा के हो भने नेपाली जनता देउवाबाट वाक्क दिक्क भएका छन्, उनीहरू देउवाहरूको मुख पनि हेर्न चाहँदैनन् । यसको ज्वलन्त उदाहरण गएको उपचुनावमा गरिएका चुनावीसभाको जनउपस्थितिलाई लिन सकिन्छ । देउवाहरूले भाडाका गाडी पठाउँदा पनि मतदाता आउन चाहेनन् भने राष्ट्रिय स्वतन्त्र पार्टीको आमसभामा आफैं भाडा तिरेर मतदाताहरू स्वतस्फूर्त रूपमा आए ।

देउवाहरूप्रति मतदाताको उग्र वितृष्णा छ । प्राविधिक रूपमा सत्ता समीकरण मिलाएर देउवाहरूको सत्तारोहणको चाहनाले मतदातालाई झनै आक्रोशित बनाइरहेको छ । यसको उदाहरण, जहाँ-जहाँ चुनाव प्रचारमा देउवाहरू गएका छन्, त्यहाँ जनताले उनका नजिकका उम्मेदवारलाई पराजित गरेका छन् । जहाँ जितेका छन् झिनो मतान्तरले जितेका छन् । त्यसैले, देउवाहरूले जतिसक्यो चाँडो बहिर्गमनको बाटो रोज्यो, नयाँ पुस्ताको लगानीको फाइदा मुलुकले पाउनेछ । देउवाहरूले कांग्रेसलाई समाप्तिको दिशाबाट बचाउने हो भने पुनः प्रधानमन्त्री बन्ने सपनालाई त्यागेर पुस्तान्तरण गर्न र मृतप्राय रहेको पार्टी संगठनलाई पुनर्जीवन दिन आवश्यक छ । नेतृत्व हस्तान्तरण र पुस्तान्तरणको १४ औं अधिवेशनमा सुनौलो अवसर थियो । त्यो अवसर गुम्यो ।

देउवाहरूप्रति मतदाताको उग्र वितृष्णा छ । प्राविधिक रूपमा सत्ता समीकरण मिलाएर देउवाहरूको सत्तारोहणको चाहनाले मतदातालाई झनै आक्रोशित बनाइरहेको छ । यसको उदाहरण, जहाँ-जहाँ चुनाव प्रचारमा देउवाहरू गएका छन्, त्यहाँ जनताले उनका नजिकका उम्मेदवारलाई पराजित गरेका छन् ।

यसैगरी एमालेको चितवनमा भएको अधिवेशन पनि जनअपेक्षा सम्बोधन गर्ने उत्तम अवसर थियो । तर, त्यस अधिवेशनमा ओली अहंकारको मात्र सम्बोधन भयो । ओलीलाई देवत्वकरण गरेर समाप्त भयो । माओवादी केन्द्रको अवस्था पनि यान्त्रिक नेतृत्व चयनमात्र हो । सबै पार्टीहरूमा ती गलत कामबाट हुने क्षति भइसक्यो । अब पार्टीलाई समाप्त नगर्ने हो भने ढिलो नगरी उहाँहरूको बहिर्गमन आवश्यक छ । सच्चिने कि समाप्त हुने ? यो उहाँहरूको इच्छा हो ।

चुनौतीपूर्ण २०८४ :
गएको उपचुनावले स्पस्ट संकेत गरेको छ- प्रजापरिषद् बन्ने कि समाप्त हुने ? यसमा सबै पार्टीका नेताहरूले मन्थन गर्न जरुरी छ । झारा टार्ने, देउवा-मन्थन होइन, सुधारका लागि मन्थन । बाँकी रहेको चार-पाँच वर्षको अवधि प्रधानमन्त्री परिवर्तन नगरी मुलुकलाई स्थायित्व दिएर काम गर्न सकेमा विस्थापित भएको आदर्शको राजनीतिलाई पुनःस्थापन गर्ने र गरेको सन्देश जनतालाई दिन सकेमा पुराना पार्टीहरूको अस्तित्वमा धेरै ठूलो कम्पन नजान सक्छ । पुनः देउवा, माधवहरू प्रधानमन्त्री बनेर उठ्तीपुठ्ती, आफन्त नियुक्ति सुरु भएपछि आगामी चुनावमा देशभरि घण्टी बजेर बुढा नेताहरूलाई थप कान नसुन्ने बनाउने निश्चित छ । बहिरो बनेर ‘इट्स देउवा स्टाइल’ भनेर नाचिरहने कि आजैदेखि गम्भीर बन्ने ?

राष्ट्रिय स्वतन्त्र पार्टीको उदय अरू पार्टीको भन्दा पृथक तवरबाट भएको छ । नेपालमा अस्तित्वमा रहेका सबैजसो पार्टीहरू हिंसाको पृष्ठभूमिबाट आएका छन् । तर, रास्वपाले हिंसाको कत्ति पनि सहारा नलिएर यो उपलब्धि हासिल गरेको छ । नेपाली राजनीतिमा नयाँ प्रयोग पनि भएको छ । हिंसा बेगर पनि मूलधारको राजनीतिमा स्थापित हुन सकिँदोरहेछ भनेर । यो एउटा राम्रो पक्ष हो । रास्वपाका नेताहरू सत्ता, सुन्दरी र द्रव्यको पछाडि लिप्त भएर लागेनन् र पुराना नेताहरूले आफ्नो पुरानो बानी सुधारेनन् भने ‘रवि प्रधानमन्त्री र स्वर्णिम अर्थमन्त्री, यसैमा छ देशको समृद्धि’ भन्ने किसिमको नारा मेची महाकालीसम्म घन्कनेछ ।

त्यसमा जनताको आँधीबेहरी आयो भने मतदातालाई यान्त्रिक मानेर गरिने देउवाहरूको समीकरण निरीह हुनेछ । रवि स्वर्णिम पुनरोदयको सन्देशलाई बुझियोस् । अन्यथा, तपाईंहरूका लागि विक्रम सम्वत् २०८४ चुनौतीपूर्ण हुनेछ । यो भनाइलाई भविष्यवाणी नभनियोस् । समयले बिदा दिएका नेताज्यू ¤ सच्चिने कि सक्किने, प्रजापरिषद् बन्ने कि बीपी, मनमोहनको गाथालाई जोगाइराख्ने ? निर्णय तपाईहरूको । राम रामसम्म भन्न सकिन्छ, काँध थाप्न सकिँदैन ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?