प्रदेश सरकारहरुको नेतृत्वमा आलोपालो गर्नुपर्छः अध्यक्ष नेपाल

फाईल तस्बिर

हिमालय टाइम्स
Read Time = 5 mins

धनुषा । नेकपा(एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले प्रदेश सरकारहरुको नेतृत्वमा आलोपालो हुने बताउनुभएको छ ।

शुक्रवार समाजवादी प्रेस संगठन नेपाल धनुषाले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष नेपालले प्रदेश सरकारहरुको नेतृत्वमा दलहरुका बीचमा आलोपालो हुने बताउनुभएको हो । उहाँले प्रदेश सरकारहरु धमाधम परिवर्तन हुन थालेका भन्दै एकीकृत समाजवादी पनि प्रदेश सरकारमा सामेल हुने बताउनु भयो ।

उहाँले जनमत नै मिलेर सरकार बनाउने रहेको उल्लेख गर्दै पार्टीको संख्यात्मक कुरालाई ध्यानमा राखी गठबन्धनका दलहरुका बीचमा बाँडफाँट हुने बताउनु भयो । कुनै एक दलको बहुमत नरहेकाले सरकार निर्माण्मा अन्य पार्टीको भावनालाई पनि ध्यान दिनुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो-‘कसैकसैले के भन्छन् भने आलोपालो गर्नु हुँदैन । यो संसारमा कहीँ सम्भव छ ? यो कुरा उठाउने मान्छेले पनि मौका पाएको भए छोड्थ्यो ? अरुलाई बडो उपदेश दिने मान्छेहरु । जब जनताले नै भने कि तपाईहरु मिलेर गर भनिसकेपछि कुनै एउटा पार्टीको बहुमत नहुँदाखेरी गर्छन् के ? किनकी त्यो पार्टीसँग पनि कार्यकर्ता हुन्छन् । जनमत पनि हुन्छ । त्यसो हुनाले अरु पार्टीको भावनालाई पनि ध्यानमा राख्नुपर्छ । नीतिमा मिल्नुपर्छ । नीति र कार्यक्रम मिल्नुपर्‍यो । त्यसपछि पार्टीको सन्तुलनलाई पनि ध्यानमा राख्नुपर्‍यो । त्यसकारण हाम्रो पार्टी प्रदेश सरकारहरुमा सहभागि हुनेछ । कसरी हुन्छ ? कतिजना हुन्छ ? भन्ने कुराहरु बसेर छलफल भइसकेपछि टुंगो लाग्नेछ । एउटै पार्टीको बहुमत नभएको हुनाले अरु पार्टीको संख्यात्मक कुरालाई ध्यानमा राखेर अरुले पनि दाबी गर्ने स्थितिमा गठबन्धनका अरु घटकले पनि मौका पाउनेछन् । यसमा को-को सहभागि हुने हुन् अझै स्पष्ट छैन ।’

अध्यक्ष नेपालले समाजवादमा प्रतिवद्ध हुने पार्टीहरुका बीचमा समाजवादी मोर्चा बनाउने तयारी रहेको बताउनु भयो । उहाँले नेकपा(माओवादी केन्द्र), नेकपा(एकीकृत समाजवादी) र जसपा एकतावद्ध हुने कुरा पनि भइरहेको बताउनु भयो । उहाँले विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीलगायतका अन्य पार्टीहरुसँग पनि मोर्चा बनाउने विषयमा छलफल भइरहेको बताउनु भयो ।

उहाँले भन्नुभयो - ‘समाजवाद बाहेक नेपालको विकासको अर्को कुनै सम्भावना छैन । समाजवाद भनेको समानता र सामाजिक न्याय, विकास र समृद्धिको अर्को नाम हो । त्यसमा प्रतिवद्ध भएको पार्टीहरुको बीचमा हामी समाजवादी मोर्चा बनाउने सोच बनाइरहेका छौँ । यसको निम्ति नेकपा (एकीकृत समाजवादी), नेकपा (माओवादी केन्द्र) र जनता समाजवादी पार्टीलाई एकतावद्ध गर्नुको साथसाथै नेकपा विप्लव समूहसँग पनि कुरा भएको छ । अरु पार्टीहरुसँग पनि हामी कुरा गर्न गइरहेका छौँ । यो समाजवादी मोर्चा बनेको खण्डमा एकातर्फ समाजवादप्रतिको हाम्रो प्रतिवद्धतालाई र राज्यमा सुशासनको प्रत्याभुति गर्ने कुरालाई, जनताको पीर मर्कालाई सम्बोधन गर्ने कुरालाई त्यसले केन्द्रबिन्दुमा राख्नेछ । साझा विषयमा सहकार्य गर्न हामी सबैसँग हातेमालो गर्नेछौँ । विचार, सिद्धान्त, नीति मिलेका पार्टीहरुका बिचमा पार्टी एकताको पहल गर्नेछौँ ।’

उहाँले एकीकृत समाजवादी एमाले वा अन्य कुनै पार्टीहरु सँग विलय भने नहुने स्पष्ट पार्नुभयो । आफूहरु समानताको सिद्धान्तको आधारमा र वैचारिक एकरुपताको आधारमा जोसँग पनि हातेमालो गर्दै अघि बढ्ने उहाँको भनाई छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?