मुग्लिन-मलेखु सडक विस्तार सुरु

फाइल तस्बिर

बाबुराम श्रेष्ठ धादिङ, संवाददाता
Read Time = 4 mins

धादिङ । मुग्लिन-मलेखु सडकखण्डको मर्मत कार्य सुरु भएको छ । वर्षायाम सुरु भएपछि उक्त सडक खण्डमा पहिरो जाने लगायतका समस्या हुने भएकाले बिग्रिएका ठाउँहरूमा मर्मत कार्य सुरु भएको हो । नागढुंगा-मुग्लिन सडक आयोजनाअन्तर्गत मुग्लिन-मलेखु सडकखण्डको सडकको दायाँबायाँ पर्खाल लगाउने, फराकिलो पार्न सीमारेखा तयार पार्ने, सडक क्षेत्रमा परेका घर टहरा हटाउने जस्ता काम भएको छ ।

अहिले मलेखुबाट मुग्लिनतर्फ पनि डोजर लगाएर भित्तो काट्ने काम भइरहेको नागढुंगा-मुग्लिन सडक आयोजना (पश्चिम खण्ड) का प्रमुख किरण कार्कीले जानकारी दिनुभयो । संघीय राजधानी काठमाडौं जाने र बाहिरिने सवारी साधनलाई असर नपर्ने गरी अहिले भित्ता काट्ने काम भइरहेको कार्कीले बताउनुभयो । उक्त सडकखण्ड अब न्यूनतम नौदेखि ३० मिटरसम्म फराकिलो हुनेछ ।

साँघुरो र जंगल क्षेत्रमा भने नौ मिटर कायम गरिनेछ । यस्तै, बजार र बस्ती क्षेत्रमा चार लेन अर्थात् ३० मिटरसम्मको फराकिलो पार्ने गरी काम भइरहेको छ । चितवनतर्फ १७ किलोमिटर र धादिङतर्फ २२ किलोमिटर सडक विस्तार गर्ने काम भएको छ । यस्तै, नागढुंगादेखि मुग्लिनसम्मको ९५ किलोमिटर सडक मर्मत गरिने भए पनि पश्चिम क्षेत्रमा भने ३९ किलोमिटरको काम गरिनेछ । बाँकी काम धादिङ कार्यालयले हेर्ने गरी विभाजन गरिएको छ । यस क्षेत्रमा सगुन कन्स्ट्रक्सन र शर्मा लामा जेडआइसिजीले ठेक्का पाएको छ । पश्चिम क्षेत्रका लागि शर्मा जेडआइसिजी जेभीले सडक विस्तार गर्न ठेक्का पाएको छ । यो खण्डमा पुल निर्माणका लागि सोही कम्पनीसँग सम्झौता भएको छ ।

यस्तै, यात्रुहरूलाई यात्रा गर्न सहज होस् भनी गोमती, चरौँदी, खटौटी, हुग्दी, मौवा र बारबाङ खोलामा गरी ६ वटा पुल निर्माण हुने भएको छ । केही ठाउँहरूमा पुल निर्माणको काम सुरु भइसकेको छ भने केही ठाउँहरूमा निर्माण हुने प्रक्रियामा रहेको छ । मलेखु, शीतलबजार, बेनीघाट, विशालटार, माझिमटार, फिस्लिङ, कुरिनटार, लेवाटार, रमाइलोडाँडा र मुग्लिनमा भने आकाशे पुल निर्माण हुनेछ । यस क्षेत्रको ठेक्का सम्झौता भने चार अर्ब ८० करोड रुपैयाँको लागतमा निर्माण हुनेछ । मुग्लिन-नारायणगढ सडकखण्डमा पहाड काट्दा पहिरोको समस्या भोगेकाले यस क्षेत्रमा भने पहाडलाई भन्दा त्रिशूली नदीतर्फको भागमा पर्खाल लगाएर सडक फराकिलो बनाउने कामलाई प्राथमिकता दिइएको छ ।

राजधानी भित्रिने मुख्य सडक भएकाले ठेक्का सम्झौता भएको तीन वर्षभित्र सम्पन्न गर्ने गरी कामलाई तीव्रता दिइएको बताइएको छ । नागढुंगा-नौबिसे खण्ड र नौबिसे-मलेखु खण्डमा पनि सडक विस्तारको काम भइरहेको छ । यस क्षेत्रमा सडकको दायाँबायाँ पर्खाल लगाएर सडकको सीमा निर्धारण गरिएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?