…शिष्यात् इच्छेत् पराजयम् !

डा. नारायण चालिसे
Read Time = 16 mins

संस्कृतमा एउटा उक्ति छ ‘सर्वत्र विजयम् इच्छेत् शिष्यात्/पुत्रात् इच्छेत् पराजयम्’ मानवीय प्रवत्ति हो सबैलाई विजयकै चाहना हुन्छ । तर, कुनै ठाउँ यस्तो छ जहाँ पराजित हुँदा मानिस खुशी हुन्छ अर्थात् बाबु र गुरुलाई अरू सबैतिर आफैले जितौँ भन्ने हुन्छ अरे तर शिष्य र सन्ततिबाट भने सधैँ पराजित हुन मन लाग्छ अरे । पैँतीस वर्ष सेवा गरेर प्राध्यापक ध्रुवप्रसाद ज्ञवालीले भर्खरै अनिवार्य अवकाश लिनुभयो । उहाँले वाल्मीकि क्याम्पसबाट बिदालिँदा केही थान खादा र फूलका माला, तीन थान जति सम्मान-पत्र उहाँसँग साथमा थिए ।

उहाँले बिदाइको मन्तव्य दिने क्रममा आफूले चालीस वर्ष पहिला पढाएका र आजका सहकर्र्मी दुईजना विद्वान्लाई सम्बोधन गर्दै भन्नुभयो ‘भीमप्रसाद कँडेलजी र मुकुन्द लामिछानेजी आजको समयका सुयोग्य विद्वान्हरू हुनुहुन्छ । उहाँहरू कुनै समयमा मेरा शिष्य हुनुहुन्थ्यो । उहाँहरूले आजसम्म पनि मलाई गुरु भनेर सम्मानको व्यवहार गरिरहनु भएको छ । यदि मैले उहाँहरूलाई हिजो राम्ररी पढाएको हुँदिनथेँ भने सायद आज उहाँहरूलाई पनि मप्रति सम्मान गर्न मनले मान्दैनथ्यो । यसबाट मैले के बुझ्छु भने मैले उहाँहरूलाई राम्ररी पढाएको रहेछु ।

अर्थात् म सामान्यतया योग्य शिक्षक नै हुँ । ध्रुव सरले भने जस्तै भीमजी संस्कृत व्याकरणका र मुकुन्दजी संस्कृत साहित्यका आधिकारिक विद्वान्हरू हुनुहुन्छ । आफ्नो प्राज्ञिक अनुहार आफ्ना सुयोग्य, प्रिय शिष्यको प्राज्ञिक क्षमतामा हेर्न खोजिएको यो दृष्टान्त अनुकरणीय हो भन्ने लाग्छ । त्यसो भनिरहँदा उहाँ आफ्नो जीवनको प्राज्ञिक पुरुषार्थलाई सम्झिएर गौरवबोध गरिरहनु भएको थियो ।

अहङ्कार नगरी आफूलाई उपस्थित गराउन त्यति सजिलो कहाँ छ र ? आत्ममूल्याङ्कनको यो शिष्ट प्रक्रियामा उहाँले आज आफ्ना प्रिय शिष्यबाट पराजित नै हुन पाएकोमा गर्वबोध पनि गर्नुभयो साथै आफूले जीवनमा पेशागत योग्यता, निष्ठा र इमानदारी सुरक्षित राख्न सकेको कुराको दाबी पनि पेश गर्नुभयो । इमान्दार व्यक्तिले सेवाको जीवनभर अग्निपरीक्षा दिइरहन्छ र अवकाशको दिनमात्र आफू उत्तीर्ण हुन सकेकोमा सफल भएको ठान्छ । एकजना विशिष्ट श्रेणीको प्राध्यापकको जीवनभरिको कमाइ कति अनौठो छ ।

ध्रुवप्रसाद ज्ञवाली आफ्नो पेशाबाट जति सन्तुष्ट हुनुहुन्थ्यो त्यति नै शान्त, निश्पृह र निराकाङ्क्षी पनि देखिनुभएको थियो । साथै उहाँको अनुहारमा मित्रहरूसँगको नियमित भेटघाट छुट्ने कुराको नरमाइलोपनको झलक त थियो तर सेवाबाट अवकाश लिँदाको कुनै दुःख थिएन ।

उहाँ आफ्नो पेशाबाट जति सन्तुष्ट हुनुहुन्थ्यो त्यति नै शान्त, निश्पृह र निराकाङ्क्षी पनि देखिनुभएको थियो । साथै उहाँको अनुहारमा मित्रहरूसँगको नियमित भेटघाट छुट्ने कुराको नरमाइलोपनको झलक त थियो तर सेवाबाट अवकाश लिँदाको कुनै दुःख थिएन । कर्तव्यपरायणता अनि स्वच्छ छवि लिएर अवकाश लिन पाउनु हरेक जागिरेको निम्ति सन्तोषको कुरा हो । धेरै प्रकारका महत्वाकाङ्क्षा अनि तिनलाई पालनपोषण गर्दाका तिकडमहरू साथमा लिएर हिँडियो भने अवकाशप्राप्त जीवन पनि सायद रमाइलो हुँदैन होला । ध्रुव सरमा त्यो काँचो रहर पनि कहिल्यै देखिएन उत्ताउलो व्यवहार पनि पाइएन । सधैँ एकनासले चलेको उहाँको जीवन सरल, सुमधुर बोलीवचन र व्यवहार अनुकरणीय र अनुसरणीय रहेको छ ।

उहाँले आत्ममूल्याङ्कन गर्दै भन्नुभयो ‘यो संस्थामा काम गर्दा केही आफ्नो योग्यताका प्रशासनिक निकायहरूमा पनि बसियो । सक्दो योगदान पनि गरियो । एक–दुई ठाउँ थिए मेरो स्वभाव र योग्यतासँग मिल्ने ती ठाउँमा जान पाएको भए भन्ने सामान्य इच्छा त थियो तर त्यसैका लागि मरिहत्ते गर्ने मेरो स्वभाव थिएन र मलाई गुनासो पनि छैन । जे जति योगदान गर्ने हो सेवाको समयमै गर्ने हो अबको समय मेरो निजी जीवनको समय हो । विशेष परिस्थितिमा बाहेक भरिसक्के मलाई अब विश्वविद्यालयका कुनै काम नलगाउनुहोला ।’ हो यसरी सन्तुष्ट हुन सक्नुपर्छ जीवनसँग जोडिएका कर्म र व्यवहारमा ।

एकातिर ध्रुव सर त्रिसठ्ठी वर्षमा आफूले देशलाई दिनुपर्ने समय र त्यस समयमा आफूले देशलाई पुर्‍याएको योगदानबाट सन्तुष्ट भइरहँदा अर्कोतिर असी कटेका टेस्टेड, अनि डेटएक्स्पायर नेताहरूले आफूले अझै देशलाई केही गर्न बाँकी छ भनेर र्‍याल काढिरहेका निराशाजनक समाचारहरू सुनिहरन हामी बाध्य छौं । कुनै पनि कुराको आयु हुन्छ । आफ्नो प्रतिभा र क्षमता देखाउने एउटा अवसर आउँछ । कसैले कुनै पदमा बसेर त्यो अवसरलाई उपयोग गर्न पाउँछ कसैले पदको अवसर पाउँदैन । तर, यदि कसैमा कुनै प्र्रकारको विशेष क्षमता छ भने उसले कुनै न कुनै माध्यमले त्यसलाई बाहिर ल्याएकै हुन्छ यदि ऊभित्र प्रतिबद्धता छ भने ।

हामीलाई लाग्छ केही काम गर्न पदमा पुग्नैपर्छ । केही हदसम्म यो कुरा उचित पनि होला तर हामीले थाहा पाएका छौं संसारप्रसिद्ध धेरै दार्शनिकहरू, वैज्ञानिकहरू, अभियन्ताहरू र रानीतिज्ञहरू नै पनि सबैले पदको अवसर पाएर मात्र प्रसिद्ध भएका छैनन् । बरू त्यस्ता तथाकथित पदहरूमा रहेछन् भने तिनलाई त्यागेर प्रसिद्ध भएका छन् । पद त मानिसको भोकको दृष्टान्त हो । त्यसो त कोही न कोही त पदमा जानैपर्छ तर पद नपाएरै मैले मेरो प्रतिभा, क्षमता र विशिष्टतालाई प्रमाणित गर्न पाइन भन्नु पनि असर्मथता ढाक्ने अर्को बहानामात्रै हो । अनि पटक-पटक पदमा गएका व्यक्तिले म अझै पदमै गएर विशेष प्रकारको सेवा गर्छु भन्नु अनि राजनीतिक व्यक्तिले त्यसो भन्नु त सरासर बेइमानी हो त्योभन्दा अरू केही हुँदै होइन ।

मानिसलाई बाहिरको परिस्थिति र मानिसहरूको व्यवहारले भन्दा आफ्नै रहर र महत्वाकाङ्क्षाहरूले बढी दुःख दिन्छ । मानिसको परिचालक ऊभित्रको क्षमता हो कि ? ऊभित्रको लोभ हो ? यो छुट्याउन सजिलो छैन । कहिलेकाहीँ कुनै मानिसलाई सधैँ किनारमा राखिरहँदा ऊभित्रको क्षमता पलायन हुने डर हुन्छ तर सधैँ पदमै गएपछि मात्रै मानिसभित्रको क्षमता प्रस्फुटन हुने अन्यथा नहुने भन्ने जिकिर हास्यास्पद तर्कमात्रै हो । सार्वजनिक जीवन लिने र नलिने कुरा व्यक्तिको स्वेच्छा हो । कसैलाई शक्तिको अभ्यास गरिहन मन हुन्छ कसैलाई त्यस्तो इच्छा हुँदैन । कतिलाई लाग्छ ठूलो मानिस हुन सार्वजनिक जीवन बाँच्नैपर्छ ।

सरकारी सुविधा भोग्नै पर्छ । सरकारी साधन चढ्नै पर्छ । दुई-चार जनाले नमस्कार गर्नैपर्छ अन्यथा जीवन बर्बाद भयो भनेर छट्पटिनेहरूलाई देख्दा उदेक लाग्छ । ठूलो मानिस बन्ने रहरले मानिसले आफ्नो इज्जतको जीवन गुमाएका अनेकौं दृष्टान्तहरू छन् । मलाई पनि कहिलेकाहीँ परिवारबाट कुरा आउँछन् । तिमीसँगका व्यक्ति उपल्लो ओहदामा पुगे र प्रतिष्ठा कमाए । मान पनि कमाए दाम पनि कमाए । तिमी भने केही पनि हुन सकेनौँ । अवश्य म केही हुन नसकेकै हो तर म केही हुन नसकेर असफल भएको, कमजोर भएको वा ठूलो हुन नसकेर सानो भएको व्यक्ति होइन । म जहाँ र जसरी छु मेरो स्वतन्त्रता मेरा लागि प्रिय र पूर्ण हुन पाउनुपर्छ । म पनि मानिस हुँ रहर त हुन्छन् नै तर मसँग तदनुरूपको प्रयत्न छैन ।

ध्रुव सर सादगी जीवनका दृष्टान्त हुनुभयो । यद्यपि उहाँले तय गरेको यात्रा र उहाँले चुमेको उचाइ कम्ता लोभलाग्दो छैन । नेपालको सन्दर्भमा प्राज्ञिक क्षेत्रमा उहाँले पाएको सफलता असाधारण छ । विश्वविद्यालयको सेवामा उहाँ विशिष्ट श्रेणीको प्राध्यापक भएर उहाँले अवकाश लिनुभयो ।

आजको परिस्थितिलाई हेर्दा भनौँ मानिस रिझाउने अतिरिक्त योग्यता छैन । हो मसँगका व्यक्तितहरू, सहकर्मीहरू नै पनि उच्च ओहदामा पुगेका छन् । तर तिनीहरू त्यही योजनाले हिँडेका हुनाले त्यहाँ पुगेका हुन् । जसले जस्तो गति नाप्यो त्यसले त्यति यात्रा गर्ने न हो । दौडिनेहरू चार पाइला अगाडि पुग्लान् सुस्तरी हिँड्नेहरू चार कदम पछि रहलान् तर सबैको हिँडाइको एउटा टुङ्गो छ त्यसभन्दा अगाडि जाने सामथ्र्य कसैको छैन ।

ध्रुव सरको बिदाइ समारोहका प्रमुख अतिथि नेपाल संस्कृत विश्वविद्यालयका पूर्वउपकुलपति प्राध्यापक माधवराज गौतम हुनुहुन्थ्यो । नेसंविमा उहाँले पु¥याएको योगदान सुनौला अक्षरले लेखिनुपर्छ । आफ्नो समयका अत्यन्त क्षमतावान्, प्रतिभा सम्पन्न अनि लोकप्रिय उहाँ क्रमशः नेसंविका कुलसचिव, शिक्षाध्यक्ष र उपकुलपति हुनुभयो । विश्वविद्यालय सेवामा रहँदा उहाँको समय अत्यन्त लोभलाग्दो थियो । उहाँ आज जीवनको उत्तरार्धमा हुनुहुन्छ । त्यो दिन मलाई लाग्यो उहाँ धेरै थाकिसक्नुभएको छ ।

अब उहाँ जति निराकाङ्क्षी हुन सक्यो त्यति बाँकी जीवन सुखी रहन सक्नुहोला । उहाँको हिजोको त्यो वैभव देखेका हामी आज ती सबै कुरा उहाँमा छैन । यिनै धेरै कुराले भन्न मन लाग्छ वैभवको पनि निश्चित आयु हुँदो रहेछ । त्यसपछि उहाँले स्नेहपूर्वक भन्नुभयो अबको समय तपाईंहरूको हो । नेतृत्वमा जाँदा होस् वा अन्य कुनै समयमा होस् आफ्नो इमान, अडान, विवेक र नैतिकतालाई जोगाउनुहोला । आफ्नो अस्तित्व गुमाएर पाएको सफलताले कहिल्यै इज्जत दिँदैन । उहाँको लामो प्रशासनिक जीवनका अनुभवहरू निकै रोचक र ज्ञानवद्र्धक थिए ।

ध्रुव सर सादगी जीवनका दृष्टान्त हुनुभयो । यद्यपि उहाँले तय गरेको यात्रा र उहाँले चुमेको उचाइ कम्ता लोभलाग्दो छैन । नेपालको सन्दर्भमा प्राज्ञिक क्षेत्रमा उहाँले पाएको सफलता असाधारण छ । विश्वविद्यालयको सेवामा उहाँ विशिष्ट श्रेणीको प्राध्यापक भएर उहाँले अवकाश लिनुभयो । कुनै हाइफाइको पदमा पुगेर फुर्ती नलगाउँदैमा कोही सानो हुने कहाँ हुन्छ र ? र कसैलाई उहाँको सुधोपन देखेर प्राध्यापक पद नै कमसल जस्तो लाग्न सक्छ तर निष्कलङ्क प्राध्यापक भएर अवकाश लिनु गरिमाको कुरा हो ।

यति कुरा अवश्य हो प्राध्यापक जस्तो गरिमापूर्ण पदमा पुगेर ध्रुव सरले के कति प्राज्ञिक योगदान गर्न सक्नुभयो ? के कति ग्रन्थहरू लेख्नुभयो ? नव्यव्याकरण जस्तो विशिष्ट विषयको प्राध्यापक भएर उहाँले अवकाश लिइरहँदा भावी पुस्ताले पाएको प्राज्ञिक उपलब्धि के हो ? भन्ने प्रश्नका पनि आआफ्नै उत्तर हुनेछन् । शिक्षक हुन पढाउने योग्यता भए पुग्छ । पाठ्यक्रमले निर्धारित गरेको विषय राम्ररी पढाए पुग्छ । विद्यार्थीलाई पढाइमा चित्त बुझाए पुग्छ ।

अध्ययन अध्यापन सेवाका अनिवार्य विषय हुन् त्यसबाहेकका कुरा वैकल्पिक र तपसिलका कुरा हुन् । जीवन आफूले चाहेअनुरूप बाँच्न पाउने स्वतन्त्रता सबैलाई छ त्यो स्वतन्त्रताको उपयोग सायद ध्रुव सरले गर्नुभयो । उहाँको सेवानिवृत्त जीवन उहाँले चाहेजस्तै आनन्दमय बितोस् र हामीलाई पनि उहाँको जस्तै जीवनको अवसर प्राप्त होओस् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?