शिविरमा ७ सय ५० जनाको निःशुल्क स्वास्थ्य उपचार

हिमालय टाइम्स
Read Time = 4 mins

-सरोज निरौला
उदयपुर । सदरमुकाम गाईघाटस्थित जिल्ला अस्पतालमा आयोजना गरिएको निःशुल्क स्वास्थ्य शिविरमा सात सय बढि विरामीले सेवा लिएका छन् । विएण्डसी मेडिकल कलेज र पूर्वाञ्चल क्यान्सर अस्पताल झापाको प्राविधिक सहयोग तथा त्रियुगा नगरपालिका, जिल्ला अस्पताल र दाजुभाई समुह दोहाकतारको सहकार्यमा त्रियुगा उद्योग बाणिज्य संघ गाईघाटले आयोजना गरेको शिविरमा सात सय ५० जना विरामीले सेवा लिएका हुन् ।

शिविरमा क्यान्सर, महिला तथा स्त्रीरोग, भिडियो एक्सरे, ल्याव, इसिजी, नाक, कान, घाँटी, मुटु, फिजिसियन, न्युरो, हाडजोर्नी, छाला, दाँत सम्बन्धि समस्याको बिशेषज्ञ चिकित्सकहरुबाट सेवा प्रदान गरिएको त्रियुगा उद्योग बाणिज्य संघका अध्यक्ष रमेश रसाईलीले जानाकारी दिनुभयो । शिविरमा पाठेघर, आँखा, नाक, कान, घाँटी, पाठेघर, मुटुका विरामी देखापरेकाले अप्रेशन गर्न चिकित्सकले सुझाब दिएको उहाँले बताउनु भयो ।

शिविरमा आएका विरामीको अप्रेशन तथा अन्य औषधिउपचारका लागि अस्पतालले बीस प्रतिशत छुटको व्यवस्था गरेको अस्पतालका मार्केटिङ्ग मेनेजर खोम घिमिरेले जानकारी दिनुभयो । उहाँले भन्नु्भयो, ‘विरामीलाई उपचारका लागि भनेका छौ अवसर लिने नलिने उहाँहरुको हातमा छ ।’ उपचारमा आएका केहि विरामीको प्रारम्भिक अवश्था हेर्दा नै जटिल देखिएकाले थप उपचारका लागि सल्लाह दिएको न्युरोसर्जन डाक्टर दिनेशकुमार थापाले बताउनु भयो ।

जिल्लामा आयोजना गरिएको शिविर विशेषज्ञसहितको प्राविधिक जनशक्ति र सेवाग्राहीको हिसावले यो नै सबैभन्दा ठुलो हो । डाक्टर थापाको नेतृत्वमा आएको उक्त टिममा एक जना विदेशी चिकित्सकसहित ९ जना विशेषज्ञ गरी २१ जनाको प्राविधिक टिम रहेको संघका महासचिब दिनेश श्रेष्ठले बताउनु भयो ।

शिविरका विरामीलाई निःशुल्क औषधिसमेत उपलब्ध गराएको प्रथम उपाध्यक्ष नविन बस्नेतले बताउनु भयो । जिल्लाका आठ वटै स्थानीय तहलाई लक्षित गरि शिविरको आयोजना गरिएको उहाँले भन्नुभयो । बस्नेतले आगामी दिनमा पनि सहकार्य गरेर यस्ता शिविरहरु सञ्चालन गरिने जानकारी दिनुभयो ।

शिविरको उद्घाटन गर्दै जिल्ला समन्वय समितिका प्रमुख गौरबहादुर विकले आर्थिक अभावका कारण औषधि उपचार नगरी रोग लुकाएर बसेकालाई स्वास्थ्य सेवामा पहुँच पुर्याउन यस्ता शिविरले महत्वपूर्ण भुमिका निर्वाह गर्ने बताउनु भयो ।

त्रियुगा नगरपालिकाका मेयर बसन्तकुमार बस्नेतले संबिधानले व्यवस्था गरेको निःशुल्क स्वास्थ्य सेवालाई शिविरले सहयोग पुर्याएको बताउनु भयो । उहाँले त्रियुगा नगरपालिकाको हाताभित्र रहेको जिल्ला अस्पताल अव्वल बन्दै गएकाले निर्धक्क भएर विशेषज्ञ सेवा लिन आग्रह गर्नुभयो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?