बसाइँ सरे घरमुली : जीर्ण बने घरधुरी

ध्रुवसागर शर्मा म्याग्दी, संवाददाता
Read Time = 8 mins

म्याग्दी । हरियाली जंगलको पुछारमा समथर मैदान । ढुङ्गाको छानो भएका चिटिक्कका घर । पश्चिम तर्फ हिमाल र मन्दिरको प्रतिविम्म देखिने विशाल बराहा ताल ।उत्तरतर्फ फर्किदा दन्तलहरजस्तै देखिने सेता हिमाल । छङछङ गर्दै वगेका खोला । रमाइलो प्रकृति । तर,उदास उदास लाग्ने वस्ती ।

यो शब्दचित्र म्याग्दीको मालिका गाउँपालिका वडा नं ७ को विममा पर्ने सुन्दर वाइन्दाफाँटको वस्तीको हो ।

हेर्दै आकर्षक रैथाने सीप र प्रविधिको प्रयोग गरी बनाइएका आकर्षक ग्रामीण घरहरु रित्ता छन् । फराकिलो आँगनमा बाख्लो झारको साम्राज्य छ । पीढिं र कौशीहरु भत्किन थालेका छन् । घरको धुरीबलो मक्किन थालेको छ । केटाकेटीहरुको कोलाहल सुनिन छोडेको धेरै भयो । गाउँको सौन्दर्यलाई चटक्कै विर्सेर घरमुलीहरु बसाइँ सरेपछि अहिले जिल्लाका अरु गाउँहरु झै वाइन्दाफाँटको गाउँ पनि एक्लिएको छ । गाउँका घरधुरीहरु घरमुली फर्केर आउँछन् की भनेर कुरीरहेका जस्ता देखिन्छन् ।

गाउँमा ढुङ्गेघरहरु अब हराउँदै गएका छन्,गाउँका मान्छे हराए झैं । ढुङ्गाले छाएका घरहरु भत्काएर जस्ता पाता र कंक्रिणका घरहरु निर्माण गरिए पनि ती घरहरुमा वस्ने मानिसहरु भने गाउँबाट पातलिदै जान थालेका मालिका गाउँपालिका ७ का रामबहादुर पुनले बताउनुभयो ।

ग्रामीण क्षेत्रमा यातायातको पहुँच र रेमिट्यान्सबाट प्राप्त आम्दानीका कारण गाउँगाउँमा पक्की घर बनाउने लहर चलेको छ । कङ्क्रिटका पक्की भवन निर्माण हुनेक्रम बढ्दै गएपछि परम्परागत ढुङ्गे घर पातलिंदै जान थालेका छन् भने खरले छाएका घर प्रायः लोप नै भएका उहाँको भनाइरहेको छ ।

“डेढदशक अगाडिसम्म म्याग्दीका ग्रामीण क्षेत्रमा ढुङ्गा र खरले छाएर रातोमाटो र सेतो कमेरोलो पोतिएका घर बाक्लै देखिन्थे । ती घरहरुमा वस्ने मान्छेहरु पनि हुन्थे । तर,अहिले न परम्परागत घर बँचे न नयाँ वनाइएका घरमा मान्छे नै बसे” पुनले भन्नुभयो “गाउँमै नबस्ने भए पुख्र्यौली चिनोलाई नासेर किन बनाउनु नयाँ घर ?”

पर्यटकीय जिल्ला म्याग्दीमा विदेश र सहर बजारबाट जोहोकोही गाउँमा पुग्दा परम्परागत रैथाने प्रविधिका घरले मनै लोभ्याउने गर्थे । रैथाने सीप र स्रोतको प्रयोग गरी परम्परागत रूपबाट निर्माण गरिएका ती घरले धेरैलाई आकर्षित गर्थे ।

उतिबेला गाउँमा यातायातको पहुँच पुगिसकेको थिएन । जब सडक विस्तार भएर गाउँमा यातायातका साधन पुग्न थाले तब रड र सिमेन्टको प्रयोग गरी गाउँमा पक्की घर निर्माणको क्रम बढेको तर मान्छे गाउँमा वस्ने चलन घटेको यहाँका ज्येष्ठ नागरिकको भनाइ छ ।

सडकको पहुचका कारण ती पुराना परम्परागत घरहरु नासिदै गएको पाका पुस्ताको बुझाइ छ । अहिले गाउँमा धमाधम सिमेन्ट र कङ्क्रिटका घर ठडिंदै गएका छन् । सक्नेले पक्की पिल्लरवाला घर बनाएका छन् भने न्यून वर्गका नागरिकले खर र ढुङ्गाको छानो हटाएर जस्तापाताले घर छाउन थालेका छन् । यसले पुराना मौलिक घर विस्तारै विस्थापित हुने अवस्थामा पु¥याएको छ ।

चालु आर्थिक वर्षको चैत मसान्तसम्म म्याग्दी जिल्लाका एक नगरपालिका र पाँच गाउँपालिका गरी छ वटा स्थानीय तहबाट एक हजार ९१ जना बसाइँसराइ गरी काठमाण्डौं,पोखरा,चितवन,नवलपुर, बुटवल लगायतका ठाउँमा गएका छन् ।

स्थानीय तहका पञ्जीकरण शाखाका अनुसार चालु आर्थिक वर्षको वैशाख पहिलो साता सम्ममा बेनी नगरपालिकाबाट दुइसय ४२, रघुगंगा गाउँपालिकाबाट एक सय १४, मंगला गाउँपालिकाबाट एक सय ६०,मालिका गाउँपालिकाबाट एक सय २४,धवलागिरि गाउँपालिकाबाट तीनसय चार र अन्नपूर्ण गाउँपालिकाबाट एक सय ४७ गरी एक हजार ९१ जना वसाइँ सराइ गरी अन्यत्र गएका हुन् ।

मानिसहरु बसाइँ सरेर गए पछि गाउँका घरहरु उदाङ्एिका छन् । गाउँमा सडक आएपछि गाउँलेले सहरबजारकाले जस्तो सिकेर परम्परागत घरलाई भत्काएर नयाँ स्वरूपमा बनाउन थालेको बगरफाँटका बेदप्रसाद उपाध्यायले बताउनुभयो । “डेढ दशक अगाडिसम्म गाउँमा धेरैजसो घर ढुङ्गा र खरले छाएका थिए, गाडी आउने बाटो पनि थिएन, अहिले ती सबै घर लोप भइसके,” उहाँले भन्नुभयो ।

विदेशमा कमाएको पैसा म्याग्दीमा धेरैजसो अनुत्पादक क्षेत्रमा नै खर्च हुने गरेको बैंक तथा वित्तीय संस्थाको तथ्याङ्क छ । घर, घडेरी र मोजमस्तीमा नै धेरैजसो पैसा खर्च हुने गरेको पाइएको छ । यहाँका मान्छे सबै विदेशमा छन्, विदेशमा कमाउने यहाँ ठूला–ठूला घर बनाउने गरेका छन्, पहिलेको तुलनामा अहिले गाउँ निकै फरक भएको स्थानीयवासीको भनाइ छ ।

दिनदिनै सिमेन्टका घर ठडिरहेका छन्, एक–दुई वर्षमा यहाँ ढुङ्गाका घर पनि देख्न नपाइने स्थानीय बासिन्दाको अनुमान छ । सडक सञ्जालले यो ठाउँ जोडिएपछि पुराना घर विस्थापित भएको स्थानीयवासीले बताए । सहरी तथा भवन निर्माण आयोजना कार्यालय म्याग्दीका अनुसार मानिस सजक र सचेत हुँदै गएको हुँदा नयाँ–नयाँ प्रविधि प्रयोग गरेर घर तथा भवन निर्माण गर्न थालेका छन् ।

बैदेशिक रोजगारको कारण युवायुवतिहरु विदेश पलायन हुने क्रमसंगै गाउँका स्थानीयहरु सुविधा खोज्दै बजारतर्फ बसाइँसराई गर्ने प्रचलन छ । मालिका गाउँपालिकाका योजना अधिकृत सोमबहादुर केसीले बसाइँसराईले गाउँ रित्तिदै गएको बताउनुभयो ।

गाउहरुँ युवा र बालबालिका विहिन हुने अवस्थामा पुग्न थालेका छन भने घरहरु खाली र खेतवारी बाँझो रहने समस्या बढ्दै जानुको साथै संस्कृति र परम्परा समेत लोप हुने अवस्थामा पुगे पछि ग्रामीण भेगका पाका नागरिक चिन्तित हुन थालेका छन् ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?