पूर्व राजा ज्ञानेन्द्रतिर संकेत गर्दै प्रधानमन्त्री : ‘सबैभन्दा भ्रष्ट तत्वहरु भ्रष्टाचारको विरुद्ध बोलेको देख्दा अनौठो लाग्छ’

हिमालय टाइम्स
Read Time = 8 mins

काठमाडौं । प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले २०४८ सालयताका सबै भ्रष्टहरुलाई कारबाही गर्ने बताउनु भएको छ ।

प्रधानमन्त्री दाहालले पार्टीको चुनावी घोषणा पत्रमा उल्लेख भएअनुसार आयोग बनाएर छानवीन गरी ती भ्रष्टहरुलाई कारबाही गर्ने बताउनु भएको हो ।

अखिल नेपाल ट्रेड युनियन महासंघले सोमबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले छिट्टै आयोग गठनगरी भ्रष्टहरुलाई कारबाही गर्ने प्रक्रिया सुरु गरिहाल्ने पनि बताउनु भयो । अहिले सबैभन्दा बढि भ्रष्टहरु नै भ्रष्टाचारविरुद्ध बोलेको देख्दा आफूलाई अनौठो लागिरहेको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले उनीहरुलाई छानवीन गर्नका लागि तत्काल पहलकदमी लिने बताउनु भयो ।

उहाँले पूर्व राजा ज्ञानेन्द्र शाहप्रति संकेत गर्दै भ्रष्टाचारविरुद्ध कडा वक्तव्य दिएपछि इतिहासको फोहोरको डुंगुरमा फालिएकाहरु फेरि बाहिर निस्कने प्रयास गरेको भन्दै त्यस्ता प्रवृत्तिको विरुद्ध खडा हुन पनि पार्टीका, नेता, कार्यकर्तालाई निर्देशन दिनु भयो ।

प्रधानमन्त्री दाहालले भन्नु भयो, ‘अहिले कहिलेकाँही म देख्छु भने सबैभन्दा भ्रष्ट तत्वहरु भ्रष्टाचारको विरुद्ध बोलेको देख्दा अनौठो लाग्छ । सबभन्दा भ्रष्टहरु नै । त्यसकारण हामीले साँचो अर्थमा सुशासन । तपाईहरुले हेर्नु भएको छ–हाम्रो निर्वाचन घोषणा पत्रमा हामी एउटा आयोग बनाएर २०४८ सालयताका सबै भ्रष्टहरुको छानवीन सुरु गर्नेछौं भनेर भनेका छौं । र, म तपाईहरुलाई भन्न चाहन्छु–छिट्टै त्यो आयोग बनाउनेतिर मेरो पहलकदमी हुनेछ । र, प्रत्येक भ्रष्टहरुलाई कारबाही गर्ने प्रक्रिया अगाडि बढाउन जानेछ । तर, यो सरकारले र यो पार्टीले भ्रष्टचारका विरुद्ध पनि अलि कडा वक्तव्य दियो । र, कामको सुरुवात पनि सामाजिक न्याय, सुशासन र विकासलाई केन्द्रित गर्न थाल्यो भनेपछि तपाई हेर्नु भयो भने हिजो इतिहासको कडाकर्कटमा मिल्काइएका सामन्तका छाउराहरु बाहिर आएको देख्नु भएको छ । इतिहासले, आम नेपाली जनताले इतिहासको कुडाकर्कटमा, फोहोर फाल्ने ठाउँमा फालिसकेकाहरु पनि उठेर अझ पूर्वबाट रे, मेचीबाट रे । तपाईहरुले हिसाव गर्नु भएको छ नि । मैले त्यसको जवाफ के भने दिए–फागुन १ गते सार्वजनिक विदा दिएर दिए । हामीले त्यसमा गर्व गर्नु पर्दछ । र, त्यस्ता प्रवृत्तिका विरुद्ध हामी खडा हुनुपर्दछ ।’

प्रधानमन्त्री दाहालले सरकारले सुशासन, सामाजिक न्याय र समृद्धिमा केन्द्रित भएर काम गरिरहेको दावी समेत गर्नु भयो । उहाँले आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेट श्रमिकमुखि बनाउन आफूले विशेष ध्यान दिएको पनि बताउनु भयो । उत्पादन वृद्धि र रोजगारी सृष्टि हुने गरी सरकारले आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेट ल्याउने उल्लेख गर्दै उहाँले त्यसका लागि आफू लडिराखेको पनि बताउनु भयो । प्रधानमन्त्री दाहालले भन्नु भयो, ‘मैले पार्टी र नेतृत्वको हैसियतले, सरकारको प्रधानमन्त्रीको हैसियतले मैले आउने नीति, कार्यक्रम र बजेट श्रमिक जनसमूदायमुखि होस् भन्नेतिर मेरो ध्यान छ । मेरो पूरै ध्यान छ । उत्पादन वृद्धि र रोजगारी सृष्टिमा केन्द्रित होस भन्ने मेरो ध्यान छ । म त्यहाँ लडाईँमा छु भन्ने बुझ्नु होला । म लडिराखेको छु, लडछु ।’

प्रधानमन्त्री दाहालले बहिर्गमित लडाकुहरुलाई २ लाखका दरले राहत दिने निर्णय आफूले नगरेको पनि दोहो¥याउनु भयो । अघिल्लो सरकार र सर्वोच्च अदालतको फैसला अनुसार आफूले उनीहरुलाई राहत दिन लागेपनि स्याल हुँइया मच्याउन खोजिएको उहाँको भनाई थियो । प्रधानमन्त्री दाहालले यो परिवर्तन उल्टयाउने गरी स्यालहरु कराउन थालेको भन्दै त्यसको प्रतिरोध गर्न पनि सिंगो पार्टी पंक्तिलाई आह्वान गर्नु भयो ।

उहाँले भन्नु भयो, ‘हिजो युद्धमा त्याग र बलिदान गरेका सबै योद्धाहरुलाई सम्मानित गर्नु पर्छ । त्यसमाथि पनि मैले प्रधानमन्त्रीको रुपमा आफ्नै आविष्कारबाट गरेको निर्णय होइन । हिजो अर्कै सरकारले निर्णय गरेो एउटा परिस्थितिमा र देशको सर्वोच्च अदालतले ती बहिर्गमित लडाकुहरुलाई २ लाख दिनू भनेर फैसला गरेपछि मैले त्यही फैसला कार्यान्वयन गर्दा अहिले कस्तो स्याल हुँईया मच्चाउन खोजिएको छ । मजदुर साथीहरु, म तपाईहरुलाई विशेष रुपले अपिल गर्न चाहन्छु–तपाईहामी नजाग्ने हो भने, तपाईहामी नगर्जिने हो भने यो एउटा बडो नकारात्मक वातावरण बनाएर सम्पूर्ण महान शहीद र तिनका त्याग, सम्पूर्ण क्रान्तिकारीहरुका त्याग र बलिदानका कीर्तिमानहरुलाई अपमानित गर्ने र उल्टयाउने षडयन्त्र अझ अगाडि जान सक्दछ । त्यसकारण मैले यो परिस्थितिमा तपाईहरुलाई विशेष रुपले अपिल गर्न चाहन्छु–हामी नजाग्दा, हामी आन्दोलित नहुँदा, हामी नगर्जिदा मैले भने–स्यालहरु कराउन थालेका छन । र, स्यालहरुले रजाई गर्ने जस्तो गर्न थालेका छन् । त्यसलाई छुट दिन सकिदैन । मैले तपाईहरुलाई हिजो भूमिगत कालमा, जनयुद्ध अगाडि बढदै गर्दा या जनआन्दोलन अगाडि बढदै गर्दा भर्खरै शान्ति सम्झौंताबाट हामी फेरी संविधान सभा र संघीय लोकतान्त्रिक गणतन्त्रको नयाँ युगान्तकारी परिवर्तनलाई संस्थागत गर्दैगर्दा सुरुका दिनमा तपाई ट्रेड युनियनमा रहेका नेता, कार्यकर्ताहरु, तपाईहरुको उत्साह, तपाईहरुको एकता, तपाईहरुको पहलकदमीका कारण निकै ठूल्ठूला परिवर्तन सम्भव भएको हो ।’

प्रधानमन्त्री दाहालले संघीय लोकतान्त्रिक गणतन्त्र ल्याउन बलिदानपूर्ण संघर्ष गर्नेहरुमाथि अपमान गर्ने प्रयास भईरहेको उल्लेख गर्दै त्यसलाई सहन गरेर बस्न नहुने पनि पटकपटक दोहो¥याउनु भयो ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?