राष्ट्रपतिलाई गगन थापाको आग्रह : उपचार खर्च आफ्नै खल्तीबाट व्यर्होछु भन्नुहोस्

फाइल फोटो

हिमालय टाइम्स
Read Time = 5 mins

काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले राष्ट्रपति रामचन्द्र पौडेलले उपचार खर्च आफैँले व्यहोर्नुपर्ने बताउनुभएको छ ।

सोमवार नेपाल ट्रेड युनियन काँग्रेसले १३४ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा आयोजना गरेको श्रमिक सभामा सम्बोधन गर्दै महामन्त्री थापाले राष्ट्रपति पौडेल आफैँले आफ्नो उपचार खर्च व्यहोर्नुपर्ने बताउनुभएको हो ।

भारतबाट उपचार गरेर आईतवार स्वदेश फर्किनुभएका राष्ट्रपति पौडेलले उपचार खर्च राज्यकोषबाट नभइ आफ्नै खल्तीबाट व्यहोर्नुपर्ने उहाँले बताउनु भयो । उहाँले राष्ट्रपति पौडेललाई उपचार खर्च आफैँ व्यहोर्छु भनेर सार्वजनिक गर्न आग्रह समेत गर्नुभयो । महामन्त्री थापाले गणतन्त्रमा राज्यका उच्च पदस्थ व्यक्तिहरुले राज्यकोषबाट उपचार गर्ने र आम नागरिकले भने आफैँ उपचार गर्नुपर्ने विभेद हुनुनहुने बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘हामीले संसदबाट एउटा कानून बनायौँ । गणतन्त्र भनेको दुई खालको नागरिकहरु हुँदैन भन्यौँ । सबै समान हुन्छ भन्यौँ । त्यसैले गणतन्त्र नेपालमा हेर्दा सानो कुरा देखिन्छ । नेपालको राष्ट्रध्यक्ष, राष्ट्रपति, प्रधानमन्त्री वा ठूलो मान्छे भनौँ न अस्वस्थ भयो, बिरामी भयो भने उसको उपचार राज्यको कोषबाट, जनताले तिरेको करबाट बाहिर लगेर हामीले उपचार गर्ने । अनि उसको उपचार खर्च जनताले व्यहोर्नुपर्ने अथवा राज्यकोषले व्यहोर्नुपर्ने । तर नागरिक चाहीँ अस्पतालमा उपचार गर्दागर्दै उपचारको पैसा तिर्न नसकेर कोही हाम्फाल्नुपर्ने । अस्पतालमा गए बन्धक बन्नुपर्ने यो गलत । यो गर्न पाइँदैन । यो गर्न पाइँदैन भनेर संसदमा हामीले कानून बनाएका छौँ । त्यो कानूनलाई संशोधन गर्ने प्रश्तावक मध्येको एक म हुँ । म सम्माननीय राष्ट्रपतिलाई यहीँबाट अनुरोध गर्न चाहन्छु, सिंगो नेपाली नागरिकको तर्फबाट अनुरोध गर्न चाहान्छु, हाम्रो राष्ट्रपतिले मलाई के विश्वास छ भने यो कानूनको बारेमा उहाँलाई हेक्का छैन भन्ने मलाई लागेको छ । त्यसैले यो कानूनप्रति उहाँ सचेत रहेर यसरी उपचार गर्ने कुरा यहाँ गर्ने, बाहिर गर्ने यहाँका चिकित्सकहरुले भनिसकेपछि त्यो चिकित्सकिय कुरा हो । परिवारले गर्ने निर्णयको कुरा हो । तर त्यो उपचारको खर्च, मेरो उपचारको खर्च मैले मेरो खल्तीबाट । यो गणतन्त्र हो त्यसैले राष्ट्रपति बिरामी हुँदै गर्दापनि उपचारको खर्च राष्ट्रपतिले आफ्नो खल्तीबाट व्यहोर्नुपर्छ । म बेहोर्छु भनेर हाम्रो राष्ट्रपति बाहिर आइदिनुस् त । त्यसले राष्ट्रपतिको सम्मान कहाँ पु¥याउँछ ? त्यसले राष्ट्रपतिको विश्वास कहाँ पु¥याउँछ ?’

महामन्त्री थापाले काँग्रेसले विगतमा निर्वाचन अगाडी अन्य दलसँग गरेको गठबन्धनप्रति गल्ती महशुस गर्नुपर्ने बताउनु भयो । उहाँले आगामी दिनमा पार्टीले कुनैपनि दलसँग कहिल्यैपनि गठबन्धन गर्नु नहुने बताउनु भयो ।

उहाँले आगामी आर्थिक वर्षको बजेट बन्दै गरेको भन्दै बजेटमा श्रमिकहरुको न्युनतम ज्याला पुनरावलोकनको माग राख्न ट्रेड युनियनकर्मीहरुलाई आग्रह गर्नुभयो । त्यस्तै श्रमिक अस्पताल निर्माणको माग गर्दै आन्दोलनमा उत्रिन पनि उहाँले श्रमिकहरुलाई आह्वान गर्नुभयो ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?