भगौडा थुनुवा पक्राउ

हिमालय टाइम्स
Read Time = 2 mins

महोत्तरी । उपचारका क्रममा प्रहरीको आँखा छली भागेका थुनुवालाई करिब एक महिनापछि प्रहरीले फेला पारेको छ । महोत्तरी कारागारका थुनुवा कृष्णकुमार यादव गत चैत २४ गते बिरामी भई उपचारका लागि जनकपुर लगिएका बेला चिकित्सकको क्लिनिकबाटै भागेका थिए ।

सोमबार जलेश्वर नगरपालिका-३ स्थित भारतीय सीमावर्ती बस्ती मलिबारामा लुकीछिपी हिँडडुल गरिरहेका बेला यादवलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक प्रकाश मल्लले जानकारी दिनुभयो ।

जिल्लाकै लोहारपट्टी नगरपालिका-९ खुट्टापिपराढीका स्थायी बासिन्दा यादव महोत्तरी जिल्ला अदालतको आदेशमा पूर्पक्ष थुनाका क्रममा महोत्तरी कारागारका थिए । जनकपुरधाम उपमहानगरपालिका-७ का १६ वर्षीय अजय भन्ने अर्जुन साहलाई २०७९ साउन २३ गते अपहरण गरेर घाँटी थिची हत्या गरेको यादवमाथि अभियोग छ ।

यादवउपर अपहरण तथा शरीर बन्धक, कर्तव्य ज्यान, चोरी र आपराधिक षड्यन्त्र समेतको मुद्दा महोत्तरी जिल्ला अदालतमा विचाराधीन छ । यसै मुद्दामा अदालतले २०७९ भदौ २६ गते यादवलाई पुर्पक्ष थुनामा राख्न आदेश गरेपछि उनी कारागारमा थुनुवा रहँदै आएका हुन् ।

भगौडा यादव पक्राउ परेपछि उनीविरुद्ध कैदी/थुनुवा भागे/भगाएको थप कसुरमा कारागार ऐन, २०७९ बमोजिम कारबाही थालिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । यसका लागि सोमबार नै अदालतमा उपस्थित गराई म्याद लिई अनुसन्धान थालिएको प्रहरी उपरीक्षक मल्लले बताउनुभयो । रासस

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?