नेपाललाई ऐतिहासिक सफलता, च्याम्पियन बन्दै एसिया कपमा

भारत र पाकिस्तानसँग खेल्ने

हिमालय टाइम्स
Read Time = 16 mins

यज्ञ जोशी/हिटा
काठमाडौं । विश्वकप क्रिकेट लिग-२ देखिको सानदार लयलाई कायम राख्दै नेपाली क्रिकेट टोलीले मंगलबार एसिसी प्रिमियर कप क्रिकेटको उपाधि जितेको छ । फाइनलमा नेपालले युएईलाई सात विकेटले हराउँदै च्याम्पिन बनेको नेपाल आगामी सेप्टेम्बरमा पाकिस्तानले आयोजना गर्ने एसिया कपमा छनोट भएको छ ।

एक महिनाअघि भएको लिग-२ का १२ मध्ये ११ खेल जित्दै नेपालले सनसनी मच्चाएको थियो । त्यसबेला ओडिआई मान्यतालाई जोगाउनुका साथै नेपाल विश्वकप छनोटसमेत भएको थियो । त्यसको एक महिनापछि नै नेपालले प्रिमियर कपको उपाधि उचाल्दै एसिया कपमा स्थान बनाएको हो ।

उपाधि उचालेसँगै नेपाल एसिया कपको समूह ‘ए’ मा भारत र पाकिस्तानसँगै छ । विश्व क्रिकेटका महाशक्ति यी दुई देशहरूसँग नेपालले पहिलोपल्ट खेल्नेछ । ओडिआई वरीयतामा भारत तेस्रो र पाकिस्तान पाँचौँ स्थानमा छ । नेपाल १४औँ स्थानमा छ । ओडिआईमा सिनियर लेभलमा भारत र पाकिस्तानजस्ता टेष्ट राष्ट्रसँग नेपालले खेल्न लागेको पहिलोपल्ट हुनेछ ।

नेपालले एसिया कप खेल्न लागेको २१ वर्षपछि हो । नेपालले पहिलोपटक सन् २००२ मा एसिया कपमा स्थान बनाएको थियो । तर, त्यसबेला भारत र पाकिस्तानबीचको तनावका कारण प्रतियोगिता नै हुन सकेन । सोहीकारण नेपालले एसिया कप खेल्न पाएन । त्यसपछि भने नेपालले एसिया कपमा स्थान बनाएको यो नै पहिलोपल्ट हो ।

अघिल्लो दिन सोमबार वर्षाले खेल रोकिनुअघि युएईले २७.३ ओभरमा नौ विकेट गुमाई १०६ रन बनाएको थियो । मंगलबार त्यही स्कोरबाट सुरु गरिएको खेलमा युएईले ११ रन जोड्दै युएई ११७ रनमा अलआउट भएको थियो ।

११८ रनको लक्ष्य पछ्याउने क्रममा गुल्सन झालाई तेस्रो नम्बरमा ब्याटिङमा पठाउँदै प्रशिक्षक मोन्टी देसाईले खेलको जुवा नै नेपालका लागि जितको हतियार बन्यो । सुरुवाती तीन विकेट छिट्टै गुमाएको अवसथामा १७ वर्षीय गुल्सनले ६७ रनको नटआउट इनिङ्स खेल्दै नेपालका लागि विजयी स्कोर जुटाउनुभयो ।

गुलसनले करिअरको तेस्रो अर्धशतक प्रहार गरेपछि नेपालले ३०.३ ओभरमा तीन विकेट गुमाउँदै पूरा गरेको थियो । चौथो विकेटका लागि गुल्सनलाई भीम सार्कीले ९६ रनको साझेदारी गर्दैै खेल जिताउनुभएको थियो । भीमले ७२ बलमा चार चौकासहित ३६ रन बनाउनुभयो । खचाखच दर्शकले भरिएको मैदानमा नेपालको सुरुवात भने राम्रो रहेन । नेपालले दोस्रो ओभरको दोस्रो बलमै ओपनर कुशल भुर्तेललाई एक रनमा गुमाएको थियो । स्पिनर रोहन मुस्तफाले उहाँलाई एलबिडब्लुको धरापमा पार्नुभयो ।

सातौँ ओभरको पहिलो बलमा आयन खानले अर्का ओपनर आसिफ शेखलाई आठ रनमा एलबिडब्लु नै सिकार बनाउनुभयो । त्यसको अर्को ओभरमा मुस्तफाले कप्तान रोहित पौडेललाई एक रनमै बोल्ड आउट गरेपछि नेपाल २२-३ को अवस्थामा पुगेको थियो । त्यसपछि गुल्सन र भीमले नेपालका लागि विजयी इनिङ्स खेल्नुभयो ।

युएईका स्पिनर रोहन मुस्तफाले १० ओभरमा तीन मेडनसहित १३ रन खर्चेर दुई विकेट लिनुभयो । यस्तै, आयन खानले ९.३ ओभरमा एक मेडनसहित ३९ रन खर्चेर एक विकेट हात पार्नुभयो ।

त्यसअघि सोमबार टस हारेर पहिले ब्याटिङ गरेको युएईले २७ दशमलव तीन ओभरमा नौ विकेटका क्षतिमा १०६ रन बनाउँदा वर्षाका कारण खेल रोकिएको थियो । खेल रोकिनुअघि युएईका लागि आसिफ खानले सर्वाधिक ४६ रन बनाउनुभएको थियो । उहाँले ५४ बल खेल्दै एक छक्का र सात चौका प्रहार गर्नुभयो । त्यस्तै, आर्यन लाक्राले १३, मोहम्मद वासिमले ११ र बसिर हमिदले १० बनाउनुभएको थियो ।
नेपालको जितमा स्पिनर ललितनारायण राजवंशीले ७.१ ओभरमा दुई मेडनसहित १४ रन खर्चेर सर्वाधिक चार विकेट लिनुभयो । यस्तै, सन्दीप लामिछानेले १० ओभरमा दुई मेडनसहित ३४ रन खर्चेर २ विकेट हात पार्नुुभयो । करण केसीले सात ओभरमा एक मेडनसहित २६ रन खर्चेर दुई तथा सोमपाल कामी र गुलसन झाले सामान एक विकेट लिनुभयो ।

सन्दीप लामिछाने प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी
स्पिनर सन्दीप लामिछाने प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी चुनिनुभयो । सन्दीपले प्रतियोगिताभर पाँच खेलमा १३ विकेट लिनुभयो । ब्याटिङतर्फ सन्दीपले ४२ रन बनाउनुभयो । युएईका वृत्य अरविन्द प्रतियोगिता उत्कृष्ट ब्याटर चुनिनुभयो । वृत्यले छ खेलमा दुई शतक र एक अर्धशतकसहित कुल ४५४ रन बनाउनुभयो । उहाँले ४४ चौका र १८ छक्का प्रहार गर्नुुभयो । ओमानका तीव्र गतिका बलर बिलाल खान उत्कृष्ट बलर बन्नुभयो । ६ खेलमा उहाँले १७ विकेट लिनुभयो ।

राष्ट्रपतिको बधाई
राष्ट्रपति रामचन्द्र पौडेलले एसिया कपमा छनौट नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई बधाई दिनुभएको छ । मंगलबार एक सन्देश प्रकाशित गरी राष्ट्रपति पौडेलले खेलाडी, प्रशिक्षक तथा सम्बन्धित पदाधिकारीहरूलाई बधाई दिनुभएको हो । ‘खेलको क्रममा नेपाली खेलाडीहरूले देखाउनुभएको दक्षता, धैर्यता, लगनशीलता र अनुशासनको म मुक्त कण्ठले प्रशंसा गर्न चाहन्छु’ राष्ट्रपतिले भन्नुभएको छ, ‘भविष्यमा पनि यस्तै उत्कृष्ट प्रदर्शन गर्दै उहाँहरूले नेपाल र नेपालीको नाम राख्नुहुनेछ भन्ने विश्वास व्यक्त गर्दै आगामी प्रतियोगिताहरूको लागि पनि शुभकामना व्यक्त गर्न चाहन्छु ।’

प्रधानमन्त्री दाहालले विजेता क्रिकेट टोलीलाई पुरस्कृत गर्ने
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एसिसी प्रिमियर कप जित्न सफल भएकोमा नेपाली क्रिकेट टोलीलाई बधाई दिनुभएको छ । प्रधानमन्त्री दाहालले सामाजिक सञ्जालमा एक विज्ञप्ति जारी गर्दै देशको पहिचान र प्रतिष्ठा एवं नेपालीलाई ऊर्जा प्रदान गर्ने खेलाडीहरूको योगदानप्रति उच्च सम्मान गर्दै सरकारको तर्फबाट थप प्रोत्साहन र पुरस्कृत गर्ने प्रतिबद्धता जनाउनुभएको छ । नेपालले युइईलाई मंगलबार सात विकेटले जित हात पार्दै च्याम्पियन बनेको छ भने एसिया कपमा स्थान पक्का गरेको छ ।

खेलाडीलाई राज्यले हेरोस् : सभामुख
सभामुख देवराज घिमिरेले नेपाली क्रिकेट टोलीलाई बधाई दिनुभएको छ । एसिसी प्रिमियम कप क्रिकेटमा युएईलाई पराजित गर्दै फाइनल खेल जितेकोमा नेपाली टोलीलाई सभामुख घिमिरेले बधाई दिनुभएको हो । ‘नेपाल एसिसी प्रिमियम कप क्रिकेट जित्दै एसिया कपमा छनोट भएकोमा हार्दिक बधाई तथा शुभकामना,’ सभामुख घिमिरेले बधाई दिँदै भन्नुभएको छ, ‘अभूतपूर्व जितले नेपाल र नेपालीको शिर उचो बनाएको छ भने नेपाली क्रिकेटको व्यवसायीकरणमा थप सहयोग हुने विश्वास लिएको छु । खेलाडीलाई राज्यको तर्फबाट थप सम्मान र सहयोग आवश्यक रहेकोतर्फ ध्यानाकर्षण गराउँदछु ।’

गुलसन र आरिफलाई जनही दुई लाख दिने मधेश सरकारको घोषणा
मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले आइसिसी क्रिकेट विश्वकप लिग-२ मा युएईलाई पराजित गर्दै विश्वकप छनोट चरणमा स्थानमा पक्का गरेकोमा नेपाली टोलीलाई बधाई दिनुभएको छ । विश्वकप क्रिकेट लिग २ मा बिहीबार युएईमाथि ऐतिहासिक जित निकालेको नेपाली टिम, प्रशिक्षक तथा खेलाडीहरूलाई मुख्यमन्त्री यादवले बधाई दिनुभएको हो ।

मंगबारको खेलमा जितका लागि निर्णायक भूमिका निर्वाह गर्नुभएका खेलाडी गुलसन झा र आरिफ शेषलाई जनही दुई लाख राशि पुरस्कारस्वरूप प्रदान गर्ने मुख्यमन्त्री यादवले घोषणासमेत गर्नुभएको हो । खेलाडीहरू देशकै गहना रहेकाले उहाँहरूको मनोबल उच्च बनाउनका लागि मधेश सरकारले झा र शेषलाई पुरस्कृत गर्ने घोषणा गरेको मुख्यमन्त्री यादवले बताउनुभयो ।

भारत र पाकिस्तानसँग खेल्ने सपना पूरा हुने भयो : रोहित
नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेलले विश्व क्रिकेट जगतमा बलियो पकड बनाएका छिमेकी देशहरू भारत र पाकिस्तानसँग खेल्ने सपना पूरा भएको बताउनुभएको छ । एसिसी प्रिमियर कपको फाइनलमा मंगलबार यूएईलाई सात विकेटले हराएपछि उहाँले यस्तो बताउनुभएको हो । रोहितकै कप्तानीमा नेपाल एसिया कपमा छनोट भएको छ । ‘एसिसी प्रिमियर कप जितेर एसिया कपमा छनोट हुँदा खुसी लागेको छ । हामीले जुन हिसाबले खेल्यौँ, त्यहीअनुसार नतिजा आयो,’ उहाँले भन्नुभयो, ‘एसिया कप हाम्रा लागि ठूलो छ । सानैदेखि भारत–पाकिस्तानको खेल हेर्दै आयौँ । आज त्यही प्लेटफर्ममा पुगेर उनीहरूसँग खेल्दै छौँ ।’ उहाँले एसिया कप खेल्दा नेपाली टिमको एक्सपोजर बढेर विश्वको ध्यान तान्ने पनि बताउनुभयो ।

‘हाम्रा लागि एसिया कपको ठूलो महत्व छ । एसिया कप खेले हामीलाई सबैले चिन्छन् । यसले आगामी वर्षमा नेपाली क्रिकेट झनै राम्रो हुन्छ,’ उहाँले खेलपछि पत्रकारहरूसँग भन्नुभयो । आगामी सेप्टेम्बरमा पाकिस्तानमा हुने भनिएको एसिया कपमा नेपाल भारत र पाकिस्तानसँगै समूह ‘ए’ मा छ ।

भारत-पाक विवादले चिन्ता
एसिसी प्रिमियर कपको फाइनलमा युएईलाई हराएपछि नेपाल २१ वर्ष लामो प्रतीक्षापछि एसिया कप क्रिकेट प्रतियोगितामा पुगेको छ । मंगलबार भएको फाइनल भिडन्तमा युएईलाई सात विकेटले पराजित गरेपछि नेपालले २१ वर्ष लामो प्रतीक्षा टुंग्याएको हो । यसअघि नेपालले सन् २००२ मा एसिया कपमा यात्रा गरेको थियो । यसपटक पाकिस्तानले आयोजना गर्ने एसिया कप सेप्टेम्बरमा हुनेछ । दोस्रोपटक एसिया कपमा स्थान बनाउन सफल नेपालले विश्व क्रिकेटका बलिया टोली भारत र पाकिस्तानसँग खेल्नेछ । एसिया कपमा पाकिस्तान, भारत र नेपाल समूह ‘ए’ मा हुनेछन् । समूह ‘बी’ मा बंगलादेश, श्रीलंका र अफगानिस्तान छन् । त्यसबेला नेपाल सिंगापुरमा भएको एसिसी ट्रफीको फाइनलमा पुग्दै एसिया कपका लागि छनोट भएको थियो । तर, त्यसबेला नेपाल अभागी सावित भयो । त्यसबेला दुई छिमेकी मुलुक भारत र पाकिस्तानबीच कार्गिल युद्ध चलेको थियो । त्यहीकारण नेपालले एसिया कपमा पुगेर पनि खेल्न पाएन ।

त्यसबेला एसिसी ट्रफी फाइनल पुग्ने दुई टोली एसिया कपमा जान्थे । तर, उक्त फाइनलमा नेपाल युएईसँग ६ विकेटले पराजित भएको थियो । सन् २००२ यता नेपालले एसिया कप यात्रा तय गर्न सकेको थिएन । यस पटक पनि भारतले पाकिस्तानमा हुने प्रतियोगितामा भाग नलिने अडान लिइरहेको छ । पाकिस्तानमा भारत खेल्न नजाने भएमा एसिया कपम संकटमा पर्ने अवस्था आएको छ ।

यदि भारतले पाकिस्तान जान नमाने एसिसीले आयोजनास्थल नै परिवर्तन गर्नुपर्ने हुन सक्छ । सन् २००२ मा जस्तै नेपाल छनोट हुँदै गर्दा एसिया कपलाई लिएर भारत र पाकिस्तानबीच विवाद चलिरहेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?