स्वच्छ र निष्पक्ष सञ्चार लोकतन्त्रको आधार स्तम्भ : देउवा

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जटिल परिस्थितिमा पनि संयमित रहेर नेपाली प्रेसले निर्वाह गरिरहेको भूमिका सराहनीय रहेको बताउनुभएको छ ।

विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा सम्पूर्ण पत्रकार तथा मिडियाकर्मीमा शुभकामना दिँदै देउवाले प्रतिकूल परिस्थितिमा पनि नेपाली ‍प्रेसले खेलेको भूमिकाप्रति पार्टीका तर्फबाट उच्च कदर र सराहना गर्नुभएको हो ।

सभापति देउवाले प्रजातन्त्रको स्थापनासँगै देशमा पत्रकारिताको विकासक्रम प्रारम्भ भएको र स्वच्छ, स्वस्थ तथा निष्पक्ष सञ्चार जगत् नै लोकतन्त्रका आधारस्तम्भ भएको बताउनुभयो ।

सभापति देउवाले कांग्रेस मर्यादित, जिम्मेवार र स्वतन्त्र व्यावसायिक पत्रिकारिताको प्रवर्द्धन, विचार तथा अभिव्यक्तिको स्वतन्त्रता, सञ्चारमाध्यममा सञ्चारकर्मीको पेसागत एवं व्यावसायिक विकास र प्रेस स्वतन्त्रताको पक्षमा सधैँ लड्दै आएको बताउनुभएको छ ।

‘लोकतान्त्रिक व्यवस्थामै स्वतन्त्र प्रेस सम्भव हुन्छ भन्ने विश्वास राख्ने सञ्चारकर्मीले विभिन्न कालखण्डमा जो जसले सहादत दिनुभयो ती सबैलाई आजको मितिमा विशेष श्रद्धा साथ स्मरण गर्न चाहन्छु,’ उहाँले विज्ञप्तिमार्फत भन्नुभएको छ ।

सभापति देउवाले नेपाली प्रेसलाई स्वतन्त्र, मर्यादित र व्यावसायिक बनाउन नेपाली मिडिया र पत्रकारले चाल्ने हरेक कदममा ऐक्यबद्धता प्रकट गर्दै दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहेका सबै नेपाली सञ्चारकर्मी एवं सञ्चारमाध्यमलाई बधाई र शुभकामना व्यक्त गर्नुभएको छ ।

मे महिनाको ३ तारिख अर्थात आज संसारभरि विश्व प्रेस स्वतन्त्रता दिवस मनाइँदै छ। पत्रकार जगतले आफ्नो हकहितका निमित्त संगठित रूपमा दृढ साहस र संकल्पका साथ संघर्ष गरेर आफ्नो अधिकार प्राप्त गरेको एक ऐतिहासिक दिन हो।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?