सोसिडाडसँग हार्‍यो रियल म्याड्रिड

Read Time = 3 mins

लण्डन । स्पेनिस ला लिगामा रियल म्याड्रिड रियल सोसिडाडसँग २-० ले स्तब्ध भएको छ । सोसिडाडको जितमा ताकेफुसा कुवो र एन्डर ब्यारेनेटक्सियाले एक/एक गोल गर्नुभयो । रियाले एरिना स्पेनमा मंगलबार राती भएको खेलको ४७औँ मिनेटमा कुवोले गोल गर्दै सोसिडाडलाई १-० को अग्रता दिलाउनुभयो । ६१औँ मिनेटमा रियल १० खेलाडीमा समेटिन पुग्यो । ९ मिनेटको अन्तरमा दोहोरो पहेँलो कार्डसहित रातो कार्ड खाँदै डिफेण्डर ड्यानी कार्भाजल मैदानबाट बाहिरिनुभएको थियो ।

त्यसपछि ८५औँ मिनेटमा परिवर्तित खेलाडी एण्डर ब्यारेनेटक्सियाले गोल गर्दै रियललाई २-० ले स्तब्ध पार्नुभयो । यस हारले रियल म्याड्रिडको स्पेनिस ला लिगाको उपाधि पुनः जित्ने सम्भावना पातलिएको छ । यो हारले कार्लो एन्सेलोटीको टोली बार्सिलोनासँग १४ अंकले पछि परेको छ ।

अब ला लिगामा पाँच खेलमात्र बाँकी छ । रियलको ३३ खेलबाट ६८ अंक छ । शीर्षस्थानको बार्सिलोनाको ३३ खेलबाट ८२ अंक छ । रियललाई हराएको रियल सोसिडाड ३३ खेलबाट ६१ अंक जोडेर चौथो स्थानमा यथावत् छ । मंगलबार राती नै बार्सिलोनाले १० खेलाडीमा समेटिएको ओसासुनालाई १-० ले पराजित गर्‍यो । बार्सिलोनाका लागि जोर्डी अल्बाले निर्णायक गोल गर्नुभएको थियो ।

स्पोटिफाइ क्याम्प नोउमा मंगलबार राती भएको खेलको २७औँ मिनेटमा नै पाहुना टोली ओसासुना १० खेलाडीमा समेटिन पुगेको थियो । पेड्रीमाथि अनावश्यक फउल गरेपछि जर्ज हरराण्डो सिधै रातो कार्ड खाँदै मैदानबाट बाहिरिनुभएको थियो ।

८५औँ मिनेटमा जोर्डी अल्वाले गोल गर्दै बार्सिलोनालाई १-० ले निर्णायक गोल गर्नुभयो । त्यसपछि थप गोल निस्कन नसक्दा बार्सिलोना विजयी हुन सफल भयो । यस जितसँगै बार्सिलोना ला लिगाको उपाधि नजिक पुगेको छ । अब अर्काे खेलमा स्पान्योललाई हराउन सके बार्सिलोना २०१८-१९ को सिजनपछि ला लिगाको च्याम्पियन बन्नेछ ।

शीर्षस्थानमा रहेको बार्सिलोनाको ३३ खेलबाट ८२ अंक पुगेको छ । बार्सिलोना दोस्रो स्थानको रियल म्याड्रिडभन्दा १४ अंकले अघि छ । पराजित ओसासुना ३३ खेलबाट ४४ अंक जोडेर नवौँ स्थानमा छ । एजेन्सी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?