शहीद स्मारक ‘ए’ डिभिजन लिग : संकटालाई हरायो मच्छिन्द्रले, एपिएफ क्लब र एनआरटी बराबरीमा

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । शहीद स्मारक ‘ए’ डिभिजन लिगमा मच्छिन्द्र फुटबल क्लबले संकटा क्लबलाई तीन-एक गोल अन्तरले पराजित गरेको छ । मच्छिन्द्रको जितमा देवेन्द्र तामाङ, विमल घर्ती मगर र ओलावाले आफिजले एक-एक गोल गर्नुभयो । संकटाका जुनियर एन्कुंगेले एक गोल फर्काउनुभयो ।

खेलको चौथो मिनेटमा देवेन्द्र तामाङले गोल गर्दै मच्छिन्द्रलाई अघि बढाउनुभयो । उक्त गोलसँगै पहिलो हाफमा मच्छिन्द्रले अग्रता लिएको थियो । दोस्रो हाफको ६९ औँ मिनेटमा मच्छिन्द्रले अग्रता दोब्बर बनायो । सौरभ लिम्बूको पासमा ओलावाले आफिजले वन भर्सेस वनको स्थितिमा गोल गर्नुभएको थियो ।

त्यसको दुई मिनेटमै आफिजले गोल थप्नुभए पनि अफसाइड भएका कारण त्यसले मान्यता पाएन । ७८औँ मिनेटमा संकटाका लागि जुनियर एन्कुंगेले हेडरमार्फत् एक गोल फर्काउनुभयो । ८९औँ मिनेटमा विमलले गोल गर्दै मच्छिन्द्रको जित पक्का गर्नुभयो ।

यस जितसँगै मच्छिन्द्र २१ अंक जोडेर पाँचौँ स्थानमा उक्लिएको छ । मच्छिन्द्रले १४ खेलमा पाँच जित, ६ बराबरी र तीन हारको नतिजा निकालेको छ । यता, संकटा छैटौँ हारसँगै ११औँ स्थानमा छ । संकटाको चार जित र चार बराबरीबाट १६ अंक छ ।

यस्तै, बिहीबार नै भएको अर्को खेलमा एपिएफ क्लब र न्युरोड टिम एनआरटीले बराबरी खेल्दै अंक बाँडेका छन् । एन्फा कम्प्लेक्समा बिहीबार एपिएफ र एनआरटीले एक–एक गोलको बराबरी खेल्दै अंक बाँडेका हुन् । खेलमा सुरुवाती अग्रता भने एनआरटीले बनाएको थियो । खेलको ५७औँ मिनेटमा लालनुनजामाले गोल गर्दै एनआरटीलाई अग्रता दिलाउनुभएको थियो ।

खेलको इन्जुरी समयमा एडमा डोम्बियाले गोल गर्दै एपिएफलाई हारबाट जोगाउनुभयो । यस बराबरीसँगै एपिएफले १४ खेलबाट १९ अंक जोडेको छ । एपिएफ सातौँ स्थानमा रहेको छ । एनआरटीले १४ खेलबाट १७ अंक जोडेको छ । एनआरटी नवौँ स्थानमा रहेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?