अख्तियारद्वारा घुससहित प्रहरीका लेखापाल पक्राउ

दुई लाख घुस लिन महोत्तरीदेखि काठमाडौंमा

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल प्रहरीका नायव निरीक्षक (सई)लाई ५० हजार नगद तथा डेढ लाख रुपैयाँको चेकसहित काठमाडौंको नयाँ बानेश्वरबाट पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीमा लेखापालका रूपमा कार्यरत सई विनोद विष्टलाई शुक्रबार दिउँसो अख्तियारले घुससहित पक्राउ गरेको हो । अख्तियार स्रोतका अनुसार उनी घुस रकम बुझ्नकै लागि महोत्तरीबाट काठमाडौं आएका थिए । उनले ५० हजार नगद सेवाग्राहीबाट लिइसकेको र डेढ लाखको चेक बुझेको अवस्थामा प्रक्राउ परेका हुन् ।

भवन निर्माणको म्याद थप तथा भुक्तानी प्रक्रियामा सहजीकरण गरेको भन्दै सेवाग्राहीसँग घुस लिन उनी महोत्तरीबाट काठमाडौं आएको अख्तियारको भनाइ छ । सई विष्टमाथि थप अनुसन्धान भइरहेको अख्तियारका प्रवक्ता भोला दाहालले जनाउनुभयो ।

अख्तियारद्वारा जारी गरिएको विज्ञप्तिमा भनिएको छ, ‘जिल्ला प्रहरी कार्यालय, जलेश्वर महोत्तरीका लेखापाल प्र.ना.नि. विनोद बिष्टले भवन निर्माणको म्याद थप तथा भुक्तानी प्रक्रियामा सहजीकरण गरिदिने भनी सेवाग्राहीसँग घुस/रिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालबाट खटिई गएको टोलीले निज प्र.ना.नि. बिनोद बिष्टलाई सेवाग्राहीबाट नगद रु. ५०,०००।- (पचास हजार रुपैयाँ) र रु. १,५०,०००।- (एक लाख पचास हजार रुपैयाँ) को चेक गरी जम्मा रु.२,००,०००।- (दुई लाख रुपैयाँ) घुस/रिसवत लिइसकेको अवस्थामा उक्त रकम र चेकसहित काठमाडौं महानगरपालिका वडा नं. १०, नयाँ बानेश्वरबाट आज मिति २०८०/०१/२२ गते नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको छ ।’

जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायव उपरीक्षक दिलिपकुमार गिरीले विनोद विष्ट कार्यालयको लेखापाल रहेको पुष्टि गर्दै पक्राउ परेकोबारे आधिकारिक जानकारी भने नआएको बताउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?