एकै परिवारका तीन खेलाडीलाई स्वर्ण

हिमालय टाइम्स
Read Time = 4 mins

काठमाडौं । अठारौँ राष्ट्रिय जुडो प्रतियोगिताको पहिलो दिन बुधबार एकै परिवारका तीन खेलाडीले स्वर्ण जितेका छन् । दाइ इन्द्रबहादुर श्रेष्ठका साथै उहाँका बहिनीहरू निशा र देवकीले स्वर्ण जित्नुभएको हो । नेपाल जुडो संघद्वारा आयोजित प्रतियोगिताको पुरुष ६६ केजीमुनि नेपाल प्रहरी क्लबका इन्द्रले लुम्बिनी प्रदेशका मनिष आलेलाई फाइनलमा पराजित गर्नुभयो । फाइनल जित्न इन्द्रलाई मात्र १६ सेकेण्ड समय लाग्यो । चार मिनेटको पूरा खेलमा इन्द्रले इप्पोनका आधारमा प्रतिद्वन्द्वी मनिषलाई १६ सेकेण्डमै हराउनुभएको थियो । नेपाल आर्मीका किरण भट्टराई तथा बागमती प्रदेशका प्रवीण पाण्डे तेस्रो हुनुभयो ।

नयाँबजारस्थित बहुउद्देश्यीय मार्सल आर्ट्स केन्द्रमा भएको महिला ४८ केजीमुनि फाइनलमा बागमतीकी निशाले एपिएफ क्लबकी रत्ना तामाङलाई हराउनुभयो । लुम्बिनीकी प्रतीक्षा केसी तथा कर्णाली प्रदेशकी सकुन सुनुवार तेस्रो बन्नुभयो । ५२ केजीमुनिको स्वर्ण भिडन्तमा बागमतीकी देवकीले आर्मीकी रोशना डंगोललाई पाखा लगाउनुभयो । कर्णालीकी अनिता बुढा तथा प्रहरीकी प्रतिभा पुलामी मगर तेस्रो स्थानमा रहनुभयो । इन्द्र, निशा र देवकी बन्दी सहायता नियोग (पाम) का उत्पादन हुनुहुन्छ ।

महिला ५७ केजीमुनि आर्मीकी सीमाकुमारी चिडीले फाइनलमा एपिएफकी सुनिता थिङलाई पन्छ्याउँदै स्वर्ण चुम्नुभयो । बागमतीकी अञ्जु पाण्डे तथा कर्णालीकी पेमा याङ्गी शेर्पाले कांस्य हात पार्नुभयो । ६३ केजीमुनि प्रहरीकी दिलकुमारी छन्त्यालले बाजी मार्नुभयो । दिलकुमारीले फाइनलमा आर्मीकी लीला अधिकारीको चुनौती पन्छाउनुभयो । कर्णालीकी बन्दना कुलुङ तथा लुम्बिनीकी निर्मल कुँवर तेस्रो हुनुभयो ।

पुरुष ६० केजीमुनि कर्णालीका प्रवीणकुमार दियालीले शीर्ष स्थान कब्जा गर्नुभयो । उहाँले फाइनलमा लुम्बिनीका विकास विकलाई पाखा लगाउनुभयो । लुम्बिनीकै काशिराम महत तथा आर्मीका दिपक रास्कोटीले तेस्रो स्थानमा चित्त बुझाउनुभयो । ७३ केजीमुनि एपिएफका प्रमोद मण्डलले फाइनलमा बागमतीका सुनिल नगरकोटीमाथि जित रच्नुभयोे । लुम्बिनीका आयुश साहवत तथा बागमतीका राजु शर्मा तेस्रो हुनुभयो ।

पुरुष/महिलामा समान सात-सात गरी १४ स्पर्धा समावेश प्रतियोगिताको पहिलो दिन सात स्वर्णको छिनोफानो भएको छ । विजेतालाई सदस्य-सचिव घिसिङ, राखेपका सदस्य अञ्जन धमलालगायतले पुरस्कृत गर्नुभयो ।

यसै प्रतियोगिताबाट चीनको हाङझावमा हुने १९औँ एसियाली खेलकुदका लागि खेलाडीको प्रारम्भिक छनोट गरिने जुडो संघका अध्यक्ष दीपकहर्ष बज्राचार्यले जनाउनुभएको छ । उहाँका अनुसार प्रत्येक तौलसमूहबाट चार खेलाडी प्रारम्भिक चरणमा छनोट हुनेछन् । प्रतियोगितामा सात प्रदेश र तीन विभागीय टोलीका ६४ पुरुष र ५२ महिला गरी १ सय १६ खेलाडी सहभागी छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?