गाउँपालिकाका तीन कर्मचारीविरुद्ध पाँच लाख भ्रष्टाचार आरोपमा मुद्दा

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जुम्लाको तिला गाउँपालिकाका तीन जना कर्मचारीविरुद्ध भ्रष्टाचारसम्बन्धी मुद्दा दायर गरेको छ । तिला गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत हरिश्चन्द्र नेपाली सार्कीसहित इञ्जिनियर जनक रोकाय र सवइञ्जिनियर प्रेमबहादुर बस्नेतविरुद्ध अख्तियारले आइतबार भ्रष्टाचार मुद्दा दायर गरेको प्रवक्ता भोला दाहालले जानकारी दिनुभयो ।

उहाँका अनुसार नाग्मा पार्क उद्यान निर्माणमा कम काम गर्दा प्राविधिकसँग मिलि कार्य सम्पादन मूल्यांकन पूरा भएको देखाई उपभोक्ता समिति र प्राविधिकहरू मिलि बिल भरपाई बनाई अनुगमन गर्न लगाई सरकारी रकमको चरम दुरुपयोग गरेको पाइएको छ । सो सम्बन्धी उजुरी उपर अनुसन्धान हुँदा कर्मचारीहरूले आव २०७५/०७६ को तिला गाउँपालिका-१ स्थित नाग्मा पार्क उद्यान निर्माण योजनामा स्वीकृत गरेको लागत अनुमान बमोजिम कार्य नभएको, स्थलगत गई नाप जाँचगरी कम काम भए गरेको कार्यलाई बढी गरेको भनी प्राविधिक मूल्यांकनसहितको नापी किताव तयारगरी कार्य सम्पन्न प्रतिवेदनसमेत दिई भुक्तानीको लागि सिफारिस गरेकोमा सोही बमोजिम भुक्तानीको टिप्पणी र आदेश भई पाँच लाख ४५ हजार ४१९ रुपैयाँ उपभोक्ता समितिलाई भुक्तानी दिएको अख्तियारले जनाएको छ ।

अख्तियारले हरिश्चन्द्र नेपाली सार्की, जनक रोकाय र प्रेमबहादुर बस्नेतलाई भ्रष्टाचार गरेको रकम बराबर बिगो कायमगरी सोही बिगो बमोजिम जरिबाना मागदाबी लिई विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको प्रवक्ता दाहालले जानकारी दिनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?