गठबन्धन नामको राजनीतिक सिन्डिकेटको विपक्षमा

Read Time = 16 mins

✍️ शम्भु कोइराला
नमागिएको सल्लाह :
प्रधानमन्त्री तथा नेपाली कांग्रेस पार्टीका सभापतिले एउटा कार्यक्रममा गठबन्धनको औचित्यको पुष्टि गर्नका लागि भन्नुभयो-कुनै एक पार्टीको बहुमत नआउने भएकाले गठबन्धन गर्नुपरेको हो । यो भनाइ गठबन्धनको इशारामा जनताले उनीहरूको पक्षमा नै मतदान गर्नुपर्छ भन्ने भनाइ आपत्तिजनक त छँदैछ जनताको विवेकलाई बन्धक बनाएर बाध्यात्मक रूपमा पत्रुको रूपमा परिणत भएका नेतालाई नै पुनः नेतृत्वमा स्थापित गराउन मतदाताले उनीहरूको पक्षमा मतदान गर्छन् र पुनः हामी नै हालिमुहाली गर्छौं भन्ने असफल सिद्ध भइसकेका नेताहरूको सोचले नेपाली जनताको भविष्यलाई नै अन्यौलग्रस्त बनाइदिएको छ ।

प्रधानमन्त्री देउवालाइ पार्टी संगठन, पार्टीभित्र चामात्कारिक नेतृत्व विकास, दूरदृष्टियुक्त सोचसहित जनतामा जाने जस्ता विषयमा विश्वास नै छैन । विसं २०७४ को चुनावको समीक्षासम्म नगरी एमाले माओवादी मिलापका कारण कांग्रेस पराजित भएको भन्ने सतही निष्कर्ष निकालेर आफ्नो अकर्मण्यता, पदलोलुपता र कछुवापथलाई ढाकछोप गर्ने काम गर्नुभयो ।

उहाँलाई त्यसबेलादेखि अहिलेसम्म लागेको छैन कि उहाँजस्तो कुर्सी बचाउने कलाबाहेक परिणाममुखी राजनीतिक परिचालनको कुनै ढंग नभएको नेतृत्व बाहिरिनासाथ कांग्रेसभित्र नै नेतृत्व विकासका सकारात्मक परिणामहरू दृष्टिगोचर हुन सुरु गर्थे र मुलुकले अपेक्षा गरेको नयाँ सोच भएको नेतृत्वको निर्माण हुनेथियो ।

गठबन्धन कुनै दीर्घकालीन सकारात्मक लक्ष प्राप्तिका लागि नभएर सत्ता प्राप्तिका लागि भएको कुरामा ठूला पार्टीका नेताको विमति देखिँदैन । उग्रवामपन्थी गतिविधिबाट सत्ता निकट आएको माओवादीको कुनै समयको मुख्य दुश्मन नेपाली कांग्रेस पार्टी र यसका नेता कार्यकर्ता थिए ।

उहाँकै एउटै विश्वास छ गठबन्धन गर्ने राजनीतिक सिन्डिकेट कायम गरिराख्ने । छैटौं, सातौंपटक प्रधानमन्त्री बन्ने, राज्यका स्रोतसाधन पत्नी र पुत्रमार्फत दोहन गर्दैजाने, त्यसरी दोहन गरेको साधनसोत पुनः अर्को चुनावमा खर्च गर्ने र राज्य र पार्टीसत्तालाई कब्जा गरिराख्ने । यस्तो कुचक्रले देश त जर्जर बन्ने नै भयो । देशभित्र केही सम्भावनाको आशा गरिरहेका, आफ्नै परिवारसँग बसेर स्वदेशमा सिर्जित रोजगारीका अवसरबाट लाभान्वित बन्ने अपेक्षामा रहेको अर्को पुस्ताको भविष्य पनि अहिलेको परिदृश्यमा रहेका देउवा, ओली जस्ता असफल र अकर्मण्य नेताहरूले बर्बाद बनाइदिने सम्भावना बढेर जानेभयो । आगामी मंसिर ४ मा हुने चुनावबाट यिनै नेताको अपवित्र राजनीतिक सिन्डिकेटलाई वैधता दिनेतर्फ परिस्थिति अगाडि बढ्नु गम्भीर चिन्ताको विषय बनेको छ ।

किन गठबन्धन ?
गठबन्धन कुनै दीर्घकालीन सकारात्मक लक्ष प्राप्तिका लागि नभएर सत्ता प्राप्तिका लागि भएको कुरामा ठूला पार्टीका नेताको विमति देखिँदैन । उग्रवामपन्थी गतिविधिबाट सत्ता निकट आएको माओवादीको कुनै समयको मुख्य दुश्मन नेपाली कांग्रेस पार्टी र यसका नेता कार्यकर्ता थिए । नेपाली कांग्रेसका कार्यकर्ता खासगरी ग्रामीण कार्यकर्तामा माओवादीप्रति घृणाभाव थियो । नहोस् पनि कसरी उनीहरूको थातथलोबाटै उठिवास बनाएर बेहाल बनाइएको थियो । जीवन मरे बराबर थियो ।

हरेक मिनटको बचाइ बोझपूर्ण भएको थियो । सत्ताको रापका कारण कांग्रेस नेतृत्व पंक्तिमा यसको तुष कम होला तर ती सर्वसाधारण कार्यकर्ता जसले आफ्नो राजनीतिक आस्था बोकेर आफ्नो थातथलोमा बस्दा परिवार, आफन्तलगायत सबैथोक गुमाए उनीहरूले यति चाँडै त्यो पीडा भुलेर माओवादीलाई मत देलान् अथवा माओवादीका लागि मत माग्दै हिँड्लान्, यो सजिलो काम छैन ।

मागेर थोरै भरिएको भाँडो भर्न सजिलो छैन । अहिलेको चुनावमा धेरै स्थानमा कांग्रेस समर्थकका मत माओवादी, एकीकृत समाजवादीमा स्थानान्तरण हुनुपर्ने अवस्था छ, धेरै स्थानको स्थानीय चुनावको मत हेर्दा कांग्रेस मतदाताको ठूलो हिस्साले गठबन्धनका सहयात्री दलको पक्षमा मतदान हुनुपर्ने अवस्था छ तर परिस्थिति त्यति सहज छैन । यसको लाभ कांग्रेस पार्टीलाई भने हुनसक्छ किनकि कांग्रेसको भाँडोमा थौरै थपथाप भयो भने पनि अरूको भन्दा चाँडै भाँडो भरिने अवस्था छ ।
यस्तो परिस्थिति निर्माण हुनुमा गठबन्धनको आधारस्तम्भ नीतिभन्दा संकीर्ण स्वार्थ हुनु हो । अर्को गाइजात्रे समीकरण एमाले र जनता समाजवादी पार्टीको बीचमा बनेको छ, जुन पार्टीमा सैद्धान्तिक र नीतिगत रूपमा चुनावी गठबन्धन हुनुपर्ने आधार नै छैन । यस सत्यलाई बढी सिट जित्नका लागि गठबन्धन गरेको भन्ने शीर्ष नेताहरूको भनाइले नै पुष्टि गरिसकेको छ ।

नेपाली बाबुआमाका छोराछोरीले नेपाली नागरिकता प्रमाणपत्र नपाएर वृत्तिविकासका सम्पूर्ण अवसर बन्द भएका पाँच लाखभन्दा बढी युवाको कारुणिक चित्कार नसुनेर नागरिकता विधेयक रोक्ने एमालेकी मतियार राष्ट्रपति विद्याको पक्षपोषित एमाले पार्टीसँग राजनीतिक गठबन्धन बनाउँन पुग्नु जनता समाजवादी पार्टीको अहिलेसम्मकै असंगत र अवसरवादी व्यवहार हो भन्ने विषय अहिले तराइइ मधेसमा चर्चामा रहेको छ । जसपाको यो आत्मघाती कदमले मधेसमा एमालेलाई पुग्ने राजनीतिक क्षतिको छिर्काले जसपा मुस्किलले राष्ट्रिय पार्टी बन्यो भने आश्चर्य नमान्दा हुन्छ ।

अर्को असंगत समीकरण एमाले र राजा फर्काउने पार्टी राप्रपा र पार्टी चुनावमा पूर्वराजाले हराइदिए भन्दै रुवावासी गर्दै राप्रपा नेपाल नामक पार्टीलाई पुनर्जीवन दिएका कमल थापाबीच बनेको छ । ओलीको एमालेलाई केही भ्रममा रहेका कार्यकर्ताले वामपन्थी भनेता पनि राजावादी र हिन्दूवादी पार्टी र यसका नेताहरूसँग आत्मीयता बढेको कारण ओलीको एमाले अहिलेको नेपालको सबैभन्दा ठूलो दक्षिणपन्थी पार्टी हो भन्दा फरक पर्दैन । ओलीमा राजनीतिक स्वार्थका लागि मोदी रिझाउन बढेको नक्कली मन्दिरप्रेमको कारण पनि राजावादीहरू ओलीका प्रिय बनेका हुनसक्छन् ।

राप्रपा सत्तामा रहँदा आयाराम गयाराम शैलीको कारण तत्कालीन नेताले डुंगा काट्ने मुसाको उपमा पाएका कमल थापासँगको संगत ओलीका लागि बेडा पार लगाउन सघाउने किसिमको होला कि डुबाउने होला भन्ने थाहा पाउन केही समय कुर्नुपर्ला तर एउटा कुरा ठोकुवा गरेर भन्न सकिन्छ जयपराजय जे भए तापनि यो गठबन्धनबाट कमल थापाको थापा पाइनको समाप्ति चाहिँ निश्चित भएको छ ।

गठबन्धनबाट जनताले के पाउने ?
संगीन प्रश्न छ गठबन्धनबाट जनताले के पाउने ? जनताले सत्ताधारी समीकरणका वर्तमान नेता शेरबहादुर देउवाको नेतृत्व खोजेको हो अथवा पटकपटक राष्ट्रपति विद्याको मिलिभगतमा संविधान उल्लंघन गर्ने र संविधानलाई कागजको खोष्टोमा परिणत गर्ने राजनीतिका सबै मोर्चामा असफल तर क्षुद्र गफ हाँक्न सिपालु केपी ओलीजस्ता नेता खोजेको हो ? सत्य के हो भने नेपाली जनताको चाहनाका पात्र यी दुवै नेता होइनन् । तर, नेपाल र नेपालीको दुर्भाग्यको कारण दुवै असफल नेताहरूले प्राविधिक रूपमा पार्टी र राज्यसत्ता कब्जा गरेका छन् । राजनीतिक सिन्डिकेटको कारण यी दुवै असफल पात्रको छातामुनिको पार्टीलाई मतदान गर्न बाध्यता सिर्जना गरिरहेका छन् ।

तर, एउटा तथ्यबाट प्रमाणित कुरा के हो भने केपी ओली र राष्ट्रपति विद्याको समीकरण जनताले दुःखले आर्जेको संघीय लोकतान्त्रिक गणतन्त्रलाई समाप्त पार्न लागेको छ । उत्तर दक्षिणका छिमेकी पनि राजनीतिक स्थिरताको नाममा आफ्नो स्वार्थ हावी गराउँन एमाले जत्तिको जनाधार भएको पार्टीको आत्मकेन्द्रित र दुस्साहसी नेतालाई अगाडि देखाएर मनमौजी शासन सञ्चालन गराउँन उद्यत रहेको विषय ओलीका मध्यरातका अपारदर्शी र आपत्तिजनक भेटघाटले प्रमाणित गरिसकेका छन् ।

राष्ट्रपति विद्याका लागि त संविधान मान्नुपर्ने विषय नै रहेन । सरकारले पठाएका विधेयक प्रमाणित नगरेर संविधानलाई खेलौना बनाइसकेकी छिन् । यी दुई व्यक्तिलाई समयमै नियन्त्रण नगर्ने हो भने यो संविधान र राष्ट्रको मौलिकता नौ समाप्त हुन बेर लाग्दैन । नेपाली जनतालाई दुई खराबमध्ये एक छान्नुपर्ने बाध्यात्मक अवस्था आइपरेको छ । यस समयमा जनताले उच्चस्तरको विवेकको प्रयोग गर्नुपर्ने अवस्था आएको छ ।

अब जनताले के गर्ने ?
जनताले प्रयोग गर्ने विवेक भनेको पार्टी होइन व्यक्ति हेरेर मतदान गर्ने । जुनसुकै पार्टीको होस् असल पात्रलाइ मतदान गर्ने । जनताले दुइटै समीकरणमा रहेका देउवा र ओलीका विवेक प्रयोग नगर्ने अन्धभक्तलाई पराजित गराउँनै पर्छ । भोलिको नेपालको परिवर्तन रोक्ने भनेका यी चरणदास कार्यकर्ता हुन् । जसरी कांग्रेस सभापतिको चुनावमा प्रकाशमान सिंहले नेता गणेशमान सिंहको समेत प्रतिष्ठा धूमिल हुने गरी आफ्नो अडानविपरीत अकर्मण्य नेतालाई विजयी बनाउँन मद्धत गरे त्यसले समग्र नेपालको राजनीतिक र आर्थिक सामाजिक विकासलाई दशकौंं पछाडि धकेलिदियो ।

यस पालि जनताले दण्डित गर्ने प्रमुखपात्रमध्ये एक प्रकाशमान पनि हुन् । अडानविपरीतका यस्ता स्वार्थीहरूलाई पहिचान गरेर पराजित गर्न सकिएन भने नेपाली जनताको अर्को पुस्ताले पनि दुःख पाउने निश्चित छ । कांग्रेसभन्दा चरणदासको बिगबिगी एमालेभित्र छ । ओलीका लागि नेता घनश्याम भुसाल र भीम रावल परचक्री भएका छन् भने राजनीतिका मुसा कमल थापाहरू उनका प्रियपात्र बनेका छन् । जीवनलाई जोखिममा राखेर पार्टी निर्माणगर्नेभन्दा बिहानै बाल्कोट निवास पुगेर तन्के सलामी गर्नेहरू काठमाडांै जस्तो राजधानी शहरको केन्द्रका आधिकारिक उम्मेदवार बनेका छन् ।

जसरी कांग्रेस सभापतिको चुनावमा प्रकाशमान सिंहले नेता गणेशमान सिंहको समेत प्रतिष्ठा धूमिल हुनेगरी आफ्नो अडानविपरीत अकर्मण्य नेतालाई विजयी बनाउन मद्धत गरे त्यसले समग्र नेपालको राजनीतिक र आर्थिक सामाजिक विकासलाई दशकौंं पछाडि धकेलिदियो ।

ओलीको एमालेभित्र देखिएको अनर्थलाई जनताले समयमा नै दण्डित नगर्ने हो भने ओलीको बुल्डोजरले धेरै परिश्रमी नेता कार्यकर्तालाई धुलिसात् गराउनेमा सन्देह छैन । सिद्धान्तहीन गठबन्धनबाट पूर्णतया उम्कन सक्ने अवस्था त छैन । तथापि सिद्धान्तहीन गठबन्धनको पछि नलागी जुनसुकै पार्टीका भए पनि संसदमा पुगेर विवेक प्रयोग गर्ने प्रतिनिधि छनौट गर्न सकियो भने जनतामा निहित सार्वभौमिकताप्रति केही न्याय हुनेछ । अहिलेको अवस्थामा जनताले विवेक प्रयोग नगर्ने हो र सिद्धान्तहीन समीकरणको विपक्षमा मत जाहेर नगर्ने हो भने देउवा, ओली जस्ता नेताले जनतालाई यान्त्रिक चाकर ठान्नेछन् ।

जनतालाई अझ हेप्नेछन् । यिनका वरिपरि परिक्रमा गर्ने जुनियर महत् र गोकुलहरूको अत्याचार र बिगबिगीमा अझ बढोत्तरी हुनेछ । यस बेलामा जनताको उपल्लो स्तरको विवेकको खाँचो छ-त्यस्तो विवेक जसले अकर्मण्य नेता र झोले उम्मेदवारलाई ठाउँका ठाउँ बढारिदिन सकोस् । यही नै भोलिको समुन्नत नेपाल निर्माण गर्न उज्यालो बिहानीको संकेत हुनेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?