भित्र मतगणना, बाहिर जाग्राम

Read Time = 5 mins

शुभाकर विश्वकर्मा/हिटा
नेपालगञ्ज । बाँकेको कोहलपुर-२ का हिरालाल परियार आइतबार राति १२ बजे मतगणना स्थलमा भेटिनुभयो । पहिलोपटक मताधिकार प्रयोग गर्नुभएका उहाँ कसले जित्छ भनेर सुन्न मतगणना स्थलमा पुग्नुभएको थियो । गाउँकै साथीहरूसँग आउनुभएका उहाँले रातभर मतगणना स्थलमै बस्ने बताउनुभयो । ‘१० बजे घरबाट खाना खाएर आएको हो । अहिलेसम्म यहीँ छौँ । एकपटक मतपरिणाम सुनायो । अब फेरि सुनाउने बेला भएको छ,’ परियारले भन्नुभयो । यसपटक उहाँ निर्वाचन प्रचार-प्रसारमा पनि निकै दिन खटिनुभएको थियो । उहाँले आफ्नो पार्टीको उम्मेदवारलाई जिताउन लागिपरेको बताउनुभयो । आफूले मत दिएका उम्मेदवारले जितेमा आफूहरूले निःशुल्क शिक्षा पाउने उहाँले आशा व्यक्त गर्नुभयो । परियार प्लस टु अध्ययन गर्दै आउनुभएको छ ।

यस्तै, कोहलपुर-२ कै सुदास शाही पनि कोहलपुर नगर कार्यपालिकाको कार्यालयमा भइरहेको मतगणना स्थलमा भेटिनुभयो । आफू मतपरिणाम सुन्न आएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, ‘मेरो वडाको मतगणना भइरहेको छ । कसले जित्छ भनेर सुन्न आएको हो । अब अन्तिम रिजल्ट कहिलेसम्म आउने हो । रातभरि यतै बसाइ हुन्छ आज ।’ उहाँले वडामा राम्रो मान्छे आउने आशा लागेको पनि बताउनुभयो । विभिन्न पार्टीबाट उम्मेदवार बनेका सबै व्यक्ति राम्रा भए पनि तीमध्ये पनि असल व्यक्ति आएमा वडाको विकास हुने शाहीको भनाइ थियो । अबको पाँच वर्षमा आफ्नो वडामा डुबान र बाटोघाटोको समस्या समाधान हुनेमा उहाँको आशा छ ।

मतगणना स्थलमै भेटिनुभएका कोहलपुर-११ का धर्मलाल आचार्यले आफू घरमा एक्लै भएको र साथीले बोलाएकाले आएको बताउनुभयो । यसपटक कोहलपुरमा कस्तो व्यक्ति आउँछ भन्ने आफू प्रतीक्षामा रहेको समेत उहाँले बताउनुभयो । जनताले हाम्रोलाई भन्दा राम्रोलाई छनोट गर्ने आशा व्यक्त गर्दै उहाँले जनतालाई सुविधा दिने व्यक्तिलाई अनुमोदन गर्नुपर्ने धारणा राख्नुभयो ।

परिवार, शाही र आचार्य मात्रै होइन कोहलपुरको मतगणना स्थलमा पार्टीका समर्थक र कार्यकर्ताहरूको बाक्लै भिड लाग्ने गरेको छ । शनिबारबाट सुरु भएको मतगणना स्थलमा दिउँसो पनि उत्तिकै समर्थकहरूको भिड हुन्छ । त्यस्तै अनुपातमा रातको समयमा पनि उनीहरूको खुल्ला ठाउँमा पाल ओछ्याएर, ढुंगाका रासमाथि बसेर होस् मोटरसाइकलमाथि सुतेर भए पनि मत परिणामको व्यग्र प्रतीक्षामा हुन्छन् ।

आइतबार राति १२ बजे मतगणना स्थलमा पुग्दा सयौँ संख्यामा मानिसहरूको उपस्थिति थियो । वृद्धवृद्धादेखि युवायुवतीसम्म कोहलपुरको मतगणना स्थलमा मानिसहरू जम्मा भएको देखिन्छ । मतगणना स्थल र बाहिर रहेका नेता कार्यकर्ताहरूको सुरक्षाको लागि बाक्लो संख्यामा म्यादी प्रहरी खटाइएको छ । कोहलपुरमा अहिलेसम्म तीनवटा वडाको मतगणना सकिएको छ । वडा नम्बर १ मा माओवादी केन्द्र र वडा नम्बर १५ र २ मा नेपाली कांग्रेसले जित हासिल गरेका छन् । कोहलपुरका निर्वाचन अधिकृत तीर्थराज भट्टले कोहलपुरमा जेष्ठ ५ गतेसम्म अन्तिम नतिजा आउने बताउनुभएको छ । तर, यही अवस्थामा मतगणना हुने हो भने कोहलपुमा अझै अन्तिम मत परिणाम आउन १५ दिनभन्दा बढी लाग्ने देखिन्छ । यता, जिल्लाभर अहिलेसम्म तीन दर्जन वडामा वडाको परिणाम आएको छ । अहिलेसम्म नेपाली कांग्रेस अग्रस्थानमा रहेको छ । भने दोस्रोमा नेकपा एमाले र माओवादी केन्द्र तेस्रो स्थानमा छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?