गलैंचा, गार्मेन्ट र फलामजन्यको निर्यात बढ्यो

Read Time = 9 mins

काठमाडौं । चालु आर्थिक वर्ष २०७९/०८० को नौ महिना अर्थात् साउनदेखि चैतसम्म गलैंचा, फलामजन्य उत्पादन र तयारी पोशाकको निर्यातमा उच्च वृद्धि भएको छ । सो अवधिमा गलैंचा निर्यात २३.४ प्रतिशतले वृद्धि भई आठ अर्ब ४८ करोड पुगेको छ भने फलाम तथा फलामजन्य उत्पादन निर्यातमा तीन सय एक प्रतिशतले वृद्धि भई सात अर्ब ८४ करोड पुगेको छ । त्यस्तै, तयारी पोशाक निर्यात पनि १७.६ प्रतिशतले वृद्धि भई पाँच अर्ब ५६ करोड पुगेको छ । व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रले सार्वजनिक गरेको आर्थिक वर्ष २०७९/०८० को नौ महिनाको तथ्यांकअनुसार पामतेल निर्यातमा भने ५२.५ प्रतिशतले ह्रास आई १७ अर्ब ३० करोडमा झरेको छ । भटमास तेलको निर्यात पनि ८०.५ प्रतिशतले ह्रास आई आठ अर्ब ४३ करोडमा सीमित भएको छ भने पोलिष्टर यार्न(धागो) निर्यातमा ६.२ प्रतिशतले ह्रास आई आठ अर्ब ९० करोडमा झरेको छ ।

त्यस्तै, जुट तथा जुट उत्पादन निर्यात पनि ८.३ प्रतिशतले ह्रास आई पाँच अर्ब ८८ करोडमा सीमित भएको छ भने अर्को प्रमुख निर्यातजन्य वस्तु ऊनी फेल्टको निर्यातमा सामान्य ह्रास आई तीन अर्ब ६२ करोडमा सीमित भएको छ । समीक्षा अवधिमा जुस निकासीमा १३.३ प्रतिशतले वृद्धि भई चार अर्ब ५८ करोड पुगेको छ ।

नौ महिनामा गलैंचा निर्यात २३.४ प्रतिशतले वृद्धि भई आठ अर्ब ४८ करोड पुगेको छ भने फलामजन्य उत्पादन निर्यात तीन सय एक प्रतिशतले वृद्धि भई सात अर्ब ८४ करोड र तयारी पोशाक निर्यात १७.६ प्रतिशतले वृद्धि भई पाँच अर्ब ५६ करोड पुगेको छ ।

सो अवधिमा नेपालको कुल वैदेशिक व्यापार अघिल्लो वर्षको सोही अवधिको तुलनामा १८.९ प्रतिशतले ह्रास आई १३ खर्ब १९ अर्ब ७९ करोडमा झरेको छ । कुल व्यापारमा निकासी तथा पैठारीको योगदान क्रमशः ९.० प्रतिशत र ९१.० प्रतिशत रहेको छ । नेपालको कुल निकासीमा २६.३ प्रतिशतले ह्रास आई एक खर्ब ११ अर्ब २८ करोड तथा कुल पैठारीमा १८.१ प्रतिशतले ह्रास आई १२ खर्ब एक अर्ब ५१ करोडमा झरेको छ । गत आर्थिक वर्षको नौ महिना अवधिमा निकासी पैठारी व्यापारको अनुपात १ः९.१ रहेकोमा चालु आर्थिक वर्षमा २०७९/०८० को सोही अवधिमा सो अनुपात १ः१०.२ रहेको छ ।

सो अवधिमा नेपालबाट निकासी भएका प्रमुख वस्तुमा पामतेल, भटमासको तेल, पोलिष्टर तथा अन्य धागो, ऊनी गलैंचा, फलाम तथा फलामका उत्पादन, अलैंची, जुट तथा जुटका सामान, तयारी पोशाक, जुस, ऊनी फेल्ट उत्पादन, चिया, पस्मिना शल, कुकुर-बिरालाका आहारा, कपडा, चाउचाउ, जडीबुटी, रोजिन एण्ड रेजिन एसिड, जुत्ताचप्पल र नेपाली हातेकागज प्रमुखरूपमा रहेका छन् । कृषिजन्य वस्तुको निर्यातमा अग्रणी स्थान हासिल गरिरहेको उत्पादन अलैंचीको निर्यातमा समीक्षा अवधिमा ६५.० प्रतिशतले वृद्धि भई छ अर्ब ३६ करोड पुगेको छ । कृषिजन्य वस्तुको निर्यातमा अग्रणी स्थान हासिल गरिरहेको अर्को उत्पादन चिया निर्यात पनि समीक्षा अवधिमा २६.० प्रतिशतले वृद्धि भई दुई अर्ब ९८ करोड पुगेको छ ।

पामतेल तथा भटमासको तेलमा ५३ अर्ब ९६ करोड बराबरको निकासी मूल्यमा ह्रास आएकाले कुल निर्यातमा ह्रासको अवस्था देखिएको केन्द्रले जनाएको छ । तथापि प्रशोधित खाद्य तेल अर्थात् भटमास तेल, पामतेल, सूर्यमुखी तेलको निर्यात नेपालको कुल निर्यातमा २२ प्रतिशतको हिस्सा ओगट्दै प्रमुख निर्यातजन्य वस्तुका रूपमा कायमै रहेको छ । सो अवधिमा उल्लेखित वस्तुको कुल निर्यात २५ अर्ब ७३ करोड रहेको छ । प्रशोधित खाद्य तेलको निर्यातमध्ये पामतेल, भटमास तेल तथा सूर्यमुखी तेल निर्यातको हिस्सा नेपालको कुल निर्यातमा क्रमशः १४.६ प्रतिशत, ७.१ र ०.२ प्रतिशत रहेको छ । नेपालको निर्यातमा प्रमुख स्थान ओगट्ने भारततर्फको निर्यातमा समीक्षा अवधिमा ३५.१ प्रतिशतले ह्रास आई ८२ अर्ब ९९ करोडमा झरेको छ । नेपालको कुल निकासीमा अघिल्लो आर्थिक वर्षको सोही अवधिमा भारततर्फको हिस्सा ७९.६५ प्रतिशत रहेकोमा चालु आर्थिक वर्षको सोही अवधिमा सो हिस्सा ७०.१६ प्रतिशतमा झरेको छ । नेपालको निर्यात व्यापारमा महŒवपूर्ण रहेका अन्य मुलुकमा अमेरिका, जर्मनी, युके, टर्की, क्यानडा, फ्रान्स, अष्ट्रेलिया, जापान, इटाली, नेदरल्याण्ड्स, डेनमार्क र चीन प्रमुखरूपमा रहेका छन् । आयाततर्फ २०७९/०८० को प्रथम नौ महिनाको अवधिमा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा पेट्रोलियम पदार्थको आयातमा ५.८ प्रतिशतले वृद्धि भई दुई खर्ब ३० अर्ब ७२ करोड पुगेको छ । समीक्षा अवधिमा फलाम तथा स्टिल र तिनका उत्पादनको आयातमा १७.० प्रतिशतले ह्रास आई एक खर्ब २० अर्ब ५५ करोड, मेसिनरी तथा पार्ट्समा ३३.० प्रतिशतले ह्रास आई ७५ अर्ब ३१ अर्बमा झरेको छ भने सुनको आयातमा ११.० प्रतिशतले वृद्धि भई ३७ अर्ब ३१ अर्ब पुगेको छ । इलेक्ट्रिक र इलेक्ट्रोनिक सामग्रीमा ११.० प्रतिशतले ह्रास आई ४६ अर्ब नौ करोडमा सीमित रहेको छ भने यातायातका साधन र तिनका पार्टपुर्जाको आयातमा ६३.४ प्रतिशतले ह्रास आई ३६ अर्ब ४४ करोडमा झरेको छ । कच्चा भटमास तेल आयातमा ३४.२ प्रतिशतले ह्रास आई ३० अर्बमा झरेको छ भने खाद्यान्न आयातमा २९.४ प्रतिशतले ह्रास आई ४३ अर्ब ५३ करोडमा झरेको छ ।

औषधि आयातमा ४०.५ प्रतिशतले ह्रास आई ३५ खर्ब १९ करोड र दूरसञ्चारका सामग्री आयातमा ३९.० प्रतिशतले ह्रास आई २७ खर्ब ५८ करोडमा झरेको छ । त्यस्तै, रासायनिक मल आयातमा ११८.८ प्रतिशतले वृद्धि भई २० अर्ब १९ करोड पुगेको छ । पाम तेलको आयातमा ३१.२ प्रतिशतले ह्रास आई २२ अर्ब चार करोडमा झरेको छ । चालु आर्थिक वर्ष २०७९÷८० प्रथम नौ महिनामा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा समग्र पैठारीमा ह्रास आउँदा व्यापार घाटामा सुधार भएको छ । व्यापार घाटामा २६.१ प्रतिशतले ह्रास आई कुल व्यापार घाटा १० खर्ब ८३ अर्ब २३ करोडमा झरेको हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?